महिला क्रिकेटरले चिनलाई त हराए, तर विश्वकपमा पुग्न कठिन

समाधान संवाददाता २०७५ फागुन १३ गते १८:२२

एजेन्सी

आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ । अहिलेसम्म खेलेका पाँच मध्ये चार खेल जितेको नेपालको रनरेट कम भएका कारण अघिल्लो चरणको यात्रा भने कठिन भएको छ ।

सोमबार भएको खेलमा नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन बनायो । यो हारसंगै चिनको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको छ । नेपालको भने झिनो आशा कायमै छ ।

Advertisement

सोमबारको खेलमा चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । त्यस्तै, कविता कुँवरले एक विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । नेपालले सुरुवातमा काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् ।

Advertisement

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

पाँच खेलमध्ये चार खेलमा जीत, एक खेलमा हार ब्यहोरेको नेपालको ८ अंक छ । तर थाइल्यान्ड पाँच खेलमा शतप्रतिशत जीतसहित १० अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ ।

पाँचमध्ये चार खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक नै बनाएको युएई नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।

एशिया क्षेत्र छनोटबाट ग्लोबल छनोटमा जम्मा एक टीममात्र पुग्नेछ । नेपालले अन्तिम खेलमा कुवेतलाई भारी अन्तरले पराजित गरे पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना न्युन छ । किनभने नेपाल शीर्ष स्थानमा पुग्न आफ्नो खेल जितेर मात्र नभई थाइल्यान्ड र युएईको नतिजा पनि आफू अनुकुल आवश्यक पर्छ । थाइल्याण्डले हारेर यूएईले आफ्नो खेल जिते पनि नेपालको सम्भावना रहँदैन । यी तीन टीममा अंक र नेट रनरेटका आधारमा थाइल्यान्ड सबैभन्दा सहज अवस्थामा छ । थाइल्यान्डको नेट रनरेट ३.४४९, यूएईको १.८४३ र नेपालको ०.३४५ रहेको छ ।

तपाईको प्रतिक्रिया