कुनै पनि अपराधजन्य काम नगर्ने कागज गरेर छुटे पोविविका विद्यार्थी

समाधान संवाददाता २०७५ फागुन १४ गते ७:३६

समाधान संवाददाता

तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी रिहा भएका छन् । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ परेकोमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक अपराध मुद्दा लगाएको थियो ।

पक्राउ परेका १३ जनालाई रिहा गरेर बाँकीलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो । अब आइन्दा तोडफोड, आगजनी वा कुनै पनि अपराधजन्य काम नगर्ने कागज गरेर सोमबार विद्यार्थी थुना मुक्त भएको कास्कीका सिडिओ चक्रबहादुर बुढाले जानकारी दिए ।

Advertisement

परीक्षाफलमा लापरबाही गरिएको भन्दै पोविविको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, स्कुल अफ इन्जिनियरिङको भवन र स्ववियु कार्यालय लगायतमा तोडफोड गरेको आरोप विद्यार्थीमाथि थियो । सार्वजनिक अपराध मुद्दा लागेका प्रदीप भट्ट, विनायक तिमल्सिना, सिपी ओझा, विनोद गिरी, विक्रम गैरे, आशीष केसी, बबिस मगर, गणेश रिमाल र लेखनाथ न्यौपाने जिल्ला प्रशासन कार्यालयमा कागज गरेर रिहा भए ।

सार्वजनिक अपराध मुद्दा लगाइएपछि विश्वविद्यालयमा अरु केही विद्यार्थीले आमरण अनसन थालेका थिए । विद्यार्थी रिहा भए पनि विद्यार्थीले अनसन भने तोडेका छैनन् । ‘उपकुलपतिले वार्ताको पहल नै गर्नुभएको छैन । हाम्रो माग परीक्षाफल पुनःमूल्यांकन गर्नुपर्छ भन्ने पनि हो,’ अनसनरत ईश्वरलाल कर्णले भने, ‘प्रशासन पक्ष हाम्रो मागतर्फ गम्भीर नबनेकाले अनसन तोडेका छैनौं ।’

Advertisement

कास्कीका सिडिओ बुढा, पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा, विभिन्न राजनीतिक दलका नेता, तिनका भातृ संगठन र विद्यार्थीबीच आइतबार साँझ छलफलसमेत भएको थियो । छलफलले विश्वविद्यालयमा भएको घटनाप्रति दुख व्यक्त गरेको थियो । विद्यार्थीको मागलाई विश्वविद्यालयले सम्बोधन गरेर अनसन तोडाउने सहमति आइतबार साँझको सर्वपक्षीय सहमति थियो । विद्यार्थी रिहा भए पनि विद्यार्थीले अनसन भने तोडेका छैनन् ।

विश्वविद्यालयमा तोडफोडबाट लगभग १५ लाख बराबरको क्षति भएको पोखरा विश्वद्यालयले जनाएको छ । विद्यार्थीले कापी परीक्षणमा लापरबाही भएको दाबी गर्दै फेरि परीक्षा लिनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया