चिकित्सा रसायनशास्त्री सम्मेलन पोखरामा

समाधान संवाददाता २०७५ फागुन १४ गते ७:४०

समाधान संवाददाता

नेपाली चिकित्सा रसायन शास्त्र संघको तेस्रो वार्षिक सम्मेलन पोखरामा हुने भएको छ । फागुन १८ र १९ गते हुने अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा देश र विदेश गरी झन्डै ३ सयभन्दा बढी सम्बन्धित अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थी सहभागी हुनेछन् ।

चिकित्सा रसायन शास्त्रको प्रवद्र्धन गर्दै त्यसको उच्चतम अभ्यासमार्फत जनस्वास्थ्य सम्बन्धी समस्या निदानमा अभिप्रेरित गर्ने सम्मेलनको लक्ष्य रहेको आयोजक समितिका सचिव एवं मनिपाल शिक्षण अस्पताल जीव रसायन शास्त्र विभागका प्राडा. दयाराम पोखरेलले जानकारी दिए । ‘अनुसन्धानकर्ताले अध्ययनसहित पत्ता लगाएका चिकित्सा रसायन शास्त्र सम्बन्धी नयाँ ज्ञान, प्रविधि र सीपहरु र तिनको समुचित प्रयोगबाट कसरी मानवस्वास्थ्यमा देखिएका समस्याहरुको निदान गर्न सकिन्छ भन्ने बारे विभिन्न कोणबाट छलफल हुनेछ,’ उनले भने, ‘भारत, थाइल्यान्ड, मलेसिया र नेपालकै गरी ६ जना आमन्त्रित विशिष्ट प्राध्यापक र अनुसन्धानकर्ताहरुले समेत सम्मेलनमा आ–आफ्ना धारणा राख्नुहुनेछ ।’

Advertisement

सम्मेलनमा नेपाल र भारतका प्राध्यापक, अनुसन्धानकर्ता, प्रशिक्षार्थी गरी ३२ जनाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्राडा. दयाराम पोखरेलले जानकारी दिए । सुक्ष्म जैविक संक्रमण, वंशानुगत कारण र कोषिका भित्र हुने असामान्य गतिविधिले मानव शरीरका तरल पदार्थहरु जस्तै रगत, पिसाब, र्‍याल इत्यादिमा उत्पन्न हुने रासायनिक परिवर्तनको कारण पत्ता लगाई उपचार विधिमा सहज बनाउने आधुनिक स्वास्थ्य उपचार पद्धतिको महत्वपूर्ण भाग हो ।

समयअनुसार मानिसहरुमा देखिने अनेकौं लक्षणको समयमै निदान खोज्न रसायन शास्त्रका अनुसन्धानकर्ताहरुले नया नया अन्वेषण गरिरहेका हुन्छन् । चिकित्सा रसायन शास्त्रको क्षेत्रमा कार्यरत वैज्ञानिक एवं प्राध्यापकहरुको खोज, अन्वेषणलाई व्यवस्थित गर्न एवं उनीहरुको व्यावसायिक हक हित समेत सरक्षण र सुनिश्चित गर्न सन् २०१४ मा चिकित्सा रसायन शास्त्र संघको स्थापना भएको प्राडा. पोखरेलले जनाए ।

Advertisement

राजर्षी जनक विश्वविद्यालय जनकपुरका उपकुलपति प्रा. भरत झा संघको अध्यक्ष छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सहयोग गर्न समेत सम्मेलन पोखरामा आयोजना गरिएको आयोजक समितिले जनाएको छ । २ दिनसम्म चल्ने सम्मेलन फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालमा हुँदै छ ।

तपाईको प्रतिक्रिया