हिउँ पन्छाएर खाद्यान्न लैजाने बाटो

समाधान संवाददाता २०७५ फागुन १४ गते ७:५७

सुन्दरकुमार थकाली

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ३ घिलिङ गाउँमा तत्काल खाद्यान्न संकट टार्न सडकमा थुप्रिएको ३ फिट हिउँ आइतबार डोजर र स्थानीयको सहयोगमा पन्छ्याई मालबाहक सवारी ओहोरदोहोर गर्ने ट्याक खोलिएको छ ।

गाउँपालिकाको स्वीकृतिमा वडाध्यक्ष सम्देनधावा गुरुङसहित घिलिङ्बासीले कालिगण्डकी नदीको घिलिङ खोलादेखि घिलिङ गाउँसम्मको हिउँ पन्छाएका हुन् । करिब १० किलोमिटर सडकको हिउँ पन्छ्याइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । हिउँदयाम अघि जोहो गरिएको रासनपानी सकिएको र हिउँदपछि जोहो गरिने नयाँ रासनपानी भिœउन डोजर लगाई हिउँ सफा गर्नुपरेको सुनाए । उनले अब हिउँ नपरे साताभित्रै रासन आपूर्ति हुने बताए ।

Advertisement

उपल्लो मुस्ताङमा यो सिजन ७ पटक लगातार हिउँ परिसकेको छ । लगातार परेको हिउँले उपल्लो मुस्ताङको र सडकमा बाक्लो हिउँ जमेको थियो । गाउँलेले मात्रै हिउँ सफा गर्न मुस्किल पर्ने भएकाले डोजर भाडामा लिएर हिउँ हटाइएको उनले बताए । सोही वडाको स्याङ्वोचे हुँदै सफा गर्ने भनिएको हिउँ समर भियनामा ५ फिट बाक्लो रहेकाले विकल्प रोज्नु परेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

हिउँदको जाडो छल्न बेसी झरेका मुस्ताङी बिस्तारै गाउँ फर्कदै छ्न । गाउँ पुगेका उनीहरुलाई खाद्यान्नको समस्या पर्ने देखिएको छ । गाउँ उक्लदै गरेका उपल्लो मुस्ताङ्बासीलाई सडकको हिउँले सास्ती दिएको वडा सदस्य पासाङ गुरुङले बताए । लोमान्थाङबासीले पनि खाद्यान्न ढुवानी गर्नका लागि शुक्रबार सडकमा जमेको हिउँ पन्छयाएको प्रदेससभा सदस्य इन्द्रधारा बिष्टले बताए । उनले थप हिउँ नपरे कालिगण्डकी खोलाको बाटो हुँदै मालबाहक ट्रकले खाद्यान्न ढुवानी गर्न सक्ने अवस्था रहेको बताए ।

Advertisement

उपल्लो मुस्ताङमा हिउँदयाम सडक बन्द हुँदा स्थानीयका साथसाथै सरकारी कार्यालय तथा सुरक्षाकर्मीलाई असहज भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । उपल्लो मुस्ताङमा मंसिरदेखि सार्वजनिक सवारी बन्द छ । वारागुङ गाउँपालिकाको छुसाङ, चैले, समर र स्यावोचे गाउँको बस्ती हुँदै सार्वजनिक सवारी उपल्लो मुस्ताङ पुग्थे । मालबाहक ट्रक भने कालीगण्डकी तिरैतिर उपल्लो मुस्ताङ पुग्ने गरेको उपल्लो मुस्ताङ जिप व्यवसाय समिति अध्यक्ष देव गुरुङ बताउँछन् । उनले सिजन सुरु भए पनि सडकमा बाक्लो हिउँ जमेकाले वैशाखबाट मात्र जिप चल्ने जनाए ।

तपाईको प्रतिक्रिया