होमस्टेको औपचारिक उद्घाटन हुनु अगावै पर्यटनको अगमन

कृष्ण न्यौपाने
औपचारिक शुभारम्भ नहुँदै तनहुँको भिमाद ९ पाथर्दीस्थित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घरबाससम्बन्धी तालिम लिएर बसेका स्थानीय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेपछि दंग छन् । फागुनभित्रै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको घरबासमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउन थालेको पाथर्दी घरबास व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।
‘औपचारिक उद्घाटनको तयारीमा छौ,’ उनले भने, ‘तर यति बेला देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउन थालिसक्नुभएको छ ।’ सञ्चारमाध्यमबाट प्रचारप्रसार भएपछि झापादेखिका आन्तरिक पर्यटक केही दिनअघि मात्रै आएर घरबासमा रात बिताएको आलेले जानकारी दिए । उनका अनुसार झापाका विभिन्न ५ वटा सहकारीका सदस्यले १ रात घरबासमा बिताएका थिए ।
त्यस्तै धादिङ, स्याङ्जा र तनहुँकै विभिन्न ठाउँबाट समेत पर्यटक घरबासमा आउने गरेका छन् । आलेका अनुसार विदेशीको १ टोलीसमेत यहाँ बास बसिसकेको छ । त्रिभुवन विश्वविद्यालयबाट वन विज्ञान अध्ययनरत विद्यार्थीको टोली १ हप्ताका लागि यहाँ आउने तयारी गरेको आलेले जानकारी दिए । उनले भने, ‘यस ठाउँमा अध्ययनका लागि टोली आउने निश्चित भएको छ ।’
यहाँका १० घरमा घरबासको व्यवस्था छ । घरबासमा आउने पर्यटकलाई स्वागत, सत्कारदेखि खानाको परिकार बनाउने लगायतका तालिम स्थानीयले लिइसकेका छन् । केही दिनअघि मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत खाद्य स्वच्छतासम्बन्धी तालिम पनि दिएको छ । यस ठाउँमा एकै दिनमा ३० जनासम्मले बास बस्न सक्ने क्षमता छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना खुवाउने गरिएको छ ।
अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिडो, लोकल कुखुरा, निउरो लगायतका खानेकुरा दिइन्छ । १ छाक सादा खाना र १ छाक मासु खाना र बास बसेको १ हजार २ सय रुपैयाँ लिइने उनले बताए । पर्यटकलाई रातको समयमा स्थानीयले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने गरेका छन् ।
भिमाद ९ का वडाध्यक्ष इमान थापाले वडालाई पर्यटन र कृषिबाट समृद्ध बनाउने गरी योजना बनाइएको जानकारी दिए । यस ठाउँमा रहेका सिद्ध गुफा, चुलिडाँडा, इन्द्र झरना लगायतलाई एउटै रुटमा जोड्दै पर्यटन पूर्वाधारको लागि अध्ययन समेत गरिएको छ । त्रिभुवन विश्वविद्यालयका वन्यजन्तुविद् डा हरि शर्मा र वनस्पति एवं जडिबुटी विज्ञ डा. रिपु कुँवरको नेतृत्वमा यहाँ अध्ययन गरिएको थियो ।
सोही ठाउँमा रहेको इन्द्र झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि समेत तालिमको आयोजना गर्न लागिएको छ । घरबास व्यवस्थापन समितिका अध्यक्ष आलेका अनुसार नेपालभरिका प्रशिक्षक बोलाएर यहाँ तालिम गर्ने तयारी छ ।









जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया