महाशिवरात्रिमा सत्याकृत ब्यान्डकाे ‘रक भजन’

समाधान संवाददाता २०७५ फागुन १४ गते ८:३३
dav

समाधान संवादाता

संगीतमार्फत समाजलाई सत्यपथमा डोर्‍याउन सकिन्छ भन्ने अठोटका साथ गीतसंगीतको साधन गरिरहेको सत्याकृत ब्यान्डले पोखरामा महाशिवरात्रिमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याकृत फाउन्डेसनका अध्यक्ष विजय गौतमले फागुन २० गते महाशिवरात्रिका दिन पोखराको हल्लनचोकमा ब्यान्डले सांगीतिक कार्यक्रम गर्ने जानकारी दिए ।

‘गत वर्षजस्तै वैदिक भजनकीर्तनसहितको सांगीतिक कार्यक्रम आयोजन गर्दै छौं,’ उनले भने, ‘ब्यान्ड स्थापना समयदेखि नै मौलिक परम्परा, संस्कृति तथा वैदिक मूल्य, मान्यतालाई संरक्षण गर्दै समाजमा शान्ति, सद्भाव कायम राख्ने उद्देश्यसहित यस वर्ष पनि शिवरात्रिका दिन सांगीतिक प्रस्तुति राख्दै छौं ।’

रक संगीत सुन्नासाथ नशा र मदिरा बुझ्ने हालको परिप्रेक्ष्यमा सुसभ्य शब्दसहितको भजनलाई फ्युजन गरी बनाइएको ‘रक भजन’ प्रस्तुत गरिने उनले सुनाए । आध्यात्मिक सचेतना र धार्मिक सम्पूर्णता फाउन्डेसनको जग हो । त्यस्ता विकृत पक्षलाई नास्नका लागि वैदिक संस्कृति मार्फत सिर्जित संगीत रचनालाई समाजका निम्ति पस्कन ब्यान्डको अभियान हो,’ उनले थपे ।

सकारात्मक भावसहितका शब्द संयोजन गरी पूर्वेली तथा पश्चिमेली शैलीका लय, सुर र वाद्यवादनको सम्मिश्रित प्रतीत सत्याकृत ब्यान्डले उजागर गर्दै आइरहेको अध्यक्ष गौतमको भनाइ थियो । नेपाल बाहिर अस्टे«लिया, दुबई, दार्जिलिङसहितका स्थानमा ब्यान्डले आफ्नो सांगीतिक यात्रा गरिसकेको छ । नेपालभित्र मुख्य सहर लगायत खाडीचौर, चरिकोट समेतका स्थानमा आफूलाई परिचित गराउन सफल भएको छ ।

Advertisement

महाशिवरात्रिका दिन साँझ हुने कार्यक्रम उद्घाटन गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गर्ने छन् ।

तपाईको प्रतिक्रिया