पोखराका गुफा र शैक्षिक विकास

समाधान संवाददाता २०७५ फागुन १४ गते ८:३८

शिशिर उजाड पौडेल

Advertisement

नेपालकै पर्यटकीय राजधानी पोखरा, गण्डकी प्रदेशको केन्द्रमात्र नभई स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रमुख विचरणयोग्य स्थल पनि हो । सडक र हवाई मार्गबाट मात्र पनि पोखरामा वर्षेनी लाखौ पर्यटक भित्रिने गर्छन् । पर्यटकको आगमन सँगसँगै यहाँको पर्यटन व्यवसाय पनि फस्टाउँदै गएको छ भने दिनप्रतिदिन लगानी पनि बढ्दै गएको छ ।

ठूलाठूला होटल खुल्नुले यहाँको लगानीलाई मात्र केन्द्रित गरेको छैन, धेरै जनालाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ । लगानी र रोजगारीकै कारण पछिल्लो समय पोखरासहित आसपासका क्षेत्रमा पर्यटन व्यवसायको सम्भावना बढेर गएको जानकारहरु बताउँछन् । झन् सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारीसँगै र प्रदेश सरकारले पनि पर्यटन विकासलाई प्राथामिकतामा राखेसँगै यस क्षेत्रमा थप उत्साह बढ्नु स्वभाविक हो । पोखराको सुन्दरता, प्राकृतिक र सांस्कृतिक दुवै रुपमा उत्तिकै छ । यहाँका केही क्षेत्र धार्मिक पर्यटनको रुपमा समेत विकास हुँदै गएको छ भने यहाँका ताल, गुफा, छहरा, दृश्याअवलोकन युक्त डाडाँकाडाले समेत प्राकृतिक पर्यटनको सम्भावना बढेर गएको हो ।

Advertisement

प्राकृतिक गुफाको रुपमा महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफाको नाम अग्रपंक्तिमा आउँछ । यिनीहरुको चर्चा स्वदेशविदेशमा समेत हुने गर्छ । यो बाहेक चर्चामा नआएका क्रेजी गुफा, कुमारी गुफा, क्रिस्टल गुफा, गौतम बुद्ध गुफा र सीता गुफा सम्भावना र विकासको खोजीमा छन् । महेन्द्र गुफा, चमेरे गुफासहित अन्य गुफा रहेको बाटुलेचौर क्षेत्रलाई केभ सिटीको रुपमा विकास गराउन स्थानियबासीले पहलसमेत थालेका छन् । महेन्द्र र चमेरे गुफामा मात्रै वार्षिक लाखौ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । जसका कारण त्यहाँको पर्यटन विकास मात्र नभई आर्थिक विकासमा समेत ठूलो टेवा पुगेको छ ।

पर्यटकबाट उठाईएको प्रवेश शुल्कले त्यस क्षेत्रको मात्र नभई विभिन्न जिल्लाबाट त्यहाँ आएर बसोबास गर्ने दलित, गरिब र जनजाति परिवारका बालबालिकाले सहज रुपमा शिक्षा प्राप्त गरेका छन् ।

Advertisement

सरकारको शैक्षिक पहुँच पर्याप्त नभइरहेको बेला पर्यटकले तिरेको सेवा शुल्कले शैक्षिक विकासमा समेत उल्लेख्य भूमिका खेलेको छ । गुफा क्षेत्रको विकास सँगसँगै उक्त शुल्कले स्थानीय विन्ध्यवासिनी माविको शैक्षिक गुणस्तर बढाउन साथै हजारभन्दा बढी गरिब, जनजाति र दलित समुदायका बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकार प्राप्त गरेका छन् । गुणस्तरीय शिक्षाकै कारण विन्ध्यवासिनी मावि कास्कीका सरकारी विद्यालय मध्ये उत्कृष्ट बन्न सफल भएको छ । यो उत्कृष्टताले बाटुलेचौरवासीको इतिहासलाई थप गर्विलो बनाएको छ । यस्तो उदाहरण विन्ध्यवासिनी मात्र नभई डेविज फलबाट प्राप्त आम्दानीले छोरेपाटन माविले पनि शैक्षिक विकास गरेको छ, त्यस्तै गुप्तेश्वर गुफाबाट प्राप्त केही आम्दानीले क्याम्पस सञ्चालन भएको छ ।

महेन्द्र र चमेरे गुफाको आम्दानीले शैक्षिक विकास त छदैछ त्यो बाहेक त्यस आसपासको क्षेत्रमा सडक, नाला, चौतारी निर्माण लगायतका विकास निर्माणका काममा समेत भूमिका खेलेको छ ।

शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको महेन्द्र, चमेरे गुफामा थप विकासको सम्भावना पनि उत्तिकै छ । सम्भावना अथाह भएर पनि गुफाको विकासमा राज्यस्तरबाट पहल नहुँदा चुनौती देखिएको छ । तर पछिल्लो समयमा भने गुफा विकासमा केन्द्र, प्रदेश र स्थानीय सरकारको केही चासो भने पुगेको छ । जसका कारण उपभोक्ता समिति निमार्ण गरेर पर्यटन विकासका लागि पूर्वधारको खोजी कार्य सुरु भएको छ । शिक्षामा राज्यले गर्नुपर्ने दायित्व पोखराका यी गुफा क्षेत्रले गरिरहेको अवस्थामा भइहेका गुफाको विकास र अन्य गुफाको उत्खनन, विकास र संरक्षण गर्नुपर्ने दायित्व वर्तमान अवस्थामा देखिएको छ ।
आसपासको क्षेत्रलाई समेत पर्यटकीय पूर्वाधार निर्माणमा सघाउन सकेमात्र पनि देशको पर्यटन विकासले थप गति नलेला भन्न सकिंदैन । यसका लागि पनि पर्यटन वर्ष सार्थक बन्न सकोस् ।

तपाईको प्रतिक्रिया