सेना र नागरिकलाई तयार रहन पाक सरकारको निर्देशन

मंगलबार दिउँसो भएको पाकिस्तानी सुरक्षा परिषद्को बैठकपछि संवाददातासँग कुरा गर्दै विदेश मन्त्री साह मोहम्मद कुरेशीले बालाकोटमा कथित आतंकवादी शिविर नष्ट भएको र सैयौं मानिस मारिएको भारतीय दाबीलाई पाकिस्तानले खारेज गर्ने बताए।
‘भारत सरकारले आफ्नो घरेलु आवश्यकता पुरा गर्न यस्तो गरेको हो। किनकी त्यहाँ चुनाव हुँदैछ,’ कुरेशीले भने, ‘आफ्नो उद्देश्य पुरा गर्न एक पटक फेरि भारतले मनगढन्ते र आधारहीन दाबी गरेको छ।’
उनले भारतको यो गैरजिम्मेवारपूर्ण कदमको आफ्नो खुसीअनुसार उचित ठाउँमा पाकिस्तानले बदला लिने बताए।
‘प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग र आम पाकिस्तानी नागरिकलाई जस्तोसुकै अवस्थाको सामनाका लागि तयार हुनु भन्नुभएको छ,’ कुरेशीले भने,‘यो पाकिस्तानविरूद्धको आक्रमण हो। पाकिस्तान यसको जवाफ दिन्छ।’
पाकिस्तानले घटनाको वास्तविकता रिपोर्टिङ स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई घटनास्थलमा लैजाने पनि उनले जानकारी दिए। रोयटर्स र बिबिसीले प्रत्यक्षीदर्शीलाई उद्धृत गर्दै बमवारीमा एक जना घाइते भएको जनाएका छन्।
यसअघि भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए।
तपाईको प्रतिक्रिया