गण्डकी प्रदेशले माग्यो ९० जना स्वयंसेवक, कुन पदमा कति ?

समाधान संवाददाता २०७५ फागुन १५ गते ८:२६

समाधान संवाददाता

गण्डकी प्रदेश सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ६ विषयगत क्षेत्रमा ९० जना स्वयंसेवकका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले सूचना सार्वजनिक गर्दै स्वास्थ्य, इन्जिनिरयरिङ, कृषि, पशु-भेटेनरी, वन-वातावरण, कम्प्युटरमा गरी ९० जनाको संख्यामा दरखास्त आह्वान गरेको हो ।

प्रदेशमा अभाव जनशक्तिको परिपूर्तिका लागि मन्त्रालयको प्रस्तावमा गएको माघ २० गतेको मन्त्रिपरिषद बैठकको निर्णयले ११ वटै जिल्लाका लागि कुल १ सय ३६ जना स्वयंसेवकका लागि दरबन्दी स्वीकृत गरेको थियो । मन्त्रालयले पहिलो चरणमा स्वास्थ्यतर्फ ३५ जना, इन्जिनियरिङ, कृषि, पशु-भेटेनगरीतर्फ १५-१५ जना, वनवातावरण र कम्प्युटरमा ५-५ जनाका दरले ९० पदका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

Advertisement

प्रदेश स्वयंसेवक परिचालन कार्यविधि २०७५ अनुसार प्रदेशका ११ वटै जिल्लाबाट १८ वर्ष पुगेका नागरिकले आवदेन दिन सक्नेछन् । विषयगत क्षेत्रमा दरखास्त दिन उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ । सार्वजनिक लाभको पदमा बसेको र फौजदारी अभियोगमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भएको व्यक्तिले उम्मेदवारी दिन पाउने छैनन् ।

दरखास्तका लागि मन्त्रालयको वेभसाइटमा रहेको फारम भरी १५ दिन भित्रमा प्रशासन तथा योजना शाखामा पेस गर्न सूचना जारी गरेको छ । स्वयंसेवा गरेबापत जिल्लाको वर्गीकरण अनुसार स्वयंसेवकले जीवन निर्वाह भत्ता पाउनेछन् । प्रदेशमा ११ वटा जिल्लालाई सुगम र दुर्गमको आधारमा वर्गीकरण गरिएको छ ।

Advertisement

स्नातकोत्तर उर्तीण स्वयंसेवकले मुस्ताङमा स्वयंसेवा गरेबापत २१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सोही योग्यता हासिल गरेको स्वयंसेवकले कास्कीमा १९ हजार २ सय प्राप्त गर्नेछन् ।

छनोटमा परेका उम्मेदवारलाई समितिको निर्णयानुसार सरकारी वा स्थानीय तहको सम्बन्धित विषयगत क्षेत्रमा खटाइनेछ । स्वयंसेवकको करार अवधि २ वर्षको हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया