मगर दिवस र केही अन्यौल
रुद्रसन्देश मगर
नेपालमा बसोबास गर्ने जातजाति मध्ये तेस्रो स्थानमा र आदिवासी जनजाति मध्ये सबभन्दा बढी जनसंख्यामा रहेको जाति मगर हो । राष्ट्रिय जनगणना ०६८ को तथ्यांकअनुुुसार मगर जातिको जनसंख्या १८ लाख ८७ हजार ७ सय ३३ छ । तत्कालीन समयमा लांघाली परिवारको नामबाट अनौपचारिक रुपमा संगठित संस्था रहेकोमा विसं ०३९ साल फागुन १५ गते विधिवत रुपमा नेपाल मगर संघको घोषण भएको थियो । नेपाल मगर संघ, केन्द्रीय समिति र त्यस मातहतका अन्य समितिहरु मगर जातिको हक, हित र उत्थानका लागि आ–आफ्नो स्थानमा क्रियाशिल छन् । नेपाल मगर संघको स्थापना भएको महत्वपूर्ण दिन फागुन १५ गतेलाई हरेक वर्ष झैं यस वर्ष पनि मगर दिवसका रुपमा मनाइंदैछ । यस सन्दर्भमा मगर समुदाय र मगर संघ भित्र देखिएका केही कमी–कमजोरी जसले संघलाई कमजोर बनाएको छ, ती कुरालाई यहाँ उजागर गर्ने प्रयत्न गरेको छु ।
संघ भित्रको राजनीति
मगर संघ स्वतन्त्र सामाजिक संस्थाको रुपमा स्थापना भएता पनि त्यस भित्र राजनीतिक पार्टी निकट फरक विचार भएका सदस्यबीच गुटबन्दी भएको देखिन्छ । संघको अधिवेशन स्थल वरिपरि विभिन्न पार्टी निकट थुप्रै झुन्डहरु आफ्ना पक्षका उम्मेदवारको उम्मेदवारी दिन र उसलाई मतदान गर्नका लागि वकालत गरिरहेका हुन्छन् । संघको नयाँ नेतृत्व चयनका सन्दर्भलाई हेर्दा यस्तो लाग्छ, त्यहाँ कुनै जातीय वा सामाजिक संस्थाको अधिवेशन नभइ कुनै पार्टीको अधिवेशन हुँदैछ ? कुन–कुन पदमा कुन–कुन पार्टीका व्यक्ति चुन्ने भनेर राजनीतिक दौडधुप भएको देखिन्छ । जसले गर्दा संघलाई कमजोर बनाएको छ ।
राजनीतिक पार्टीको जातीय भातृ संगठन
विसं ०५१-०५२ सालदेखि सुरु भएको सशस्त्र जनयुद्धका बेला तत्कालीन नेकपा (माओवादी) ले आफ्नो लक्ष्य हांसिल गर्नका लागि उत्पीडित आदवासी, जनजाति, अल्पसंख्यक र दलित समुदायलाई आफ्नो अभियानमा अग्रसर गर्न विभिन्न जातप्य भातृ संस्था तथा मोर्चाहरु गठन ग¥यो । त्यस्तै अन्य पार्टी जस्तैः नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा मसाल लगायतका पार्टीले पनि आफ्नो पार्टी निकट जातीय भातृ संगठन निर्माण गरेको देखिन्छ । त्यस पश्चात् मगर सिंगो मगर संघको मुद्दालाई भन्दा आफ्ना पार्टीका मुद्दालाई काँध हालेर हिँड्न थाले ।
यसैको फलस्वरुप राजनीतिक पार्टीले आदिवासी, जनजाति तथा दलितलाई आफ्नो पार्टीको हतियार बनाएको प्रष्ट बुझ्न सकिन्छ । सोही अनुरुप मगर समुदायलाई पनि पार्टीका जातीय भातृ संगठनका माध्यमबाट विभाजित गर्ने प्रयास भइ रहेको छ । जबकी, आदिवासी, जनजाति, अल्पसंख्यक र दलित बाहेकका अन्य जातीय संस्था जस्तैः ब्राम्हण समाज, क्षेत्री समाज, दशनामी समाज र ठकुरी समाज आदि संस्थामा भने भिन्न पार्टीका जातीय भातृ संस्थाको उपस्थिति देखिंदैन । मगर संघका पदाधिकारी विभिन्न पार्टीमा आवद्ध रहे पनि उनीहरुले आफ्नो पार्टीमा कहिल्यै पनि उच्च पद र ओहदा पाएको देखिंदैन ।
फरक धार्मिक आस्था
प्रकृति पूजक मगर जातिमा हिन्दू धर्मको प्रभाव पर्दै गएपछि अधिकांश मगर हिन्दू धर्मका अनुयायी भए । परापूर्व कालमा रुख, ढुंगा, खोलानाला तथा हावालाई आफ्नो देवता मानेर पूजा गर्ने मगर जाति पछि मूर्ति पूजा गर्ने र मन्दिर जाने थाले । अर्थात् प्रकृति पूजक मगर समुदाय माथि हिन्दू धर्मको प्रभाव बढ्यो । यतिबेला मगर कोही प्रकृति पूजक, कोही बौद्ध धर्म, कोही हिन्दू त कोही क्रिस्चियन धर्ममा आस्था राख्छन् ।
यसरी मगर समुदायमा धार्मिक विचलन अत्यन्त जल्दोबल्दो रुपमा देखिन थालेको छ । यी माथि उल्लेखित कारणहरुले गर्दा एउटै मगर गाउँमा पनि मर्दा–पर्दा गाउँलेहरुको उपस्थितिलाई फरक–फरक ढंगले बुझ्ने र व्याख्या गर्ने गरिएको छ ।
मगरका थर अनुसारको जातीय संस्था
नेपाल मगर संघ भित्र मगरका थरको आधारमा पनि विभाजनका रेखाहरु कोरिंदैछन् । पहिला सिंगो मगर संघ भित्र अटाएको पुन मगर समुदाय, पुन मगर समाज गठन गरेर आफ्नो पृथक पहिचान स्थापनार्थ क्रियाशील देखिन्छ । यसले पनि सिंगो मगर संघलाई कमजोर बनाउँछ । अर्थात् नेतृत्व तहसम्म अत्यन्त गहन रुपमा छलफल र बहस हुनुपर्ने समयको तड्कारो आवश्यकता महसुस भएको छ ।
चाडपर्व मनाउने र नमनाउने मगर समुदाय
नेपाल मगर संघका पूर्व अध्यक्ष स्व. गोरेबहादुर खपांगी मगरको कार्यकालमा नेपाल मगर संघ केसको निर्णय अनुसार दसैं परित्याग गर्ने निर्णय भएपछि दसैं मनाउने र नमनाउने मगरबीच थुप्रै विमतिहरु देखिएका छन् । अहिले कतै मगर दसैं मनाउँछन् भने कतै दसैं परित्याग तथा वहिष्कार गर्ने क्रम जारी देखिन्छ । मगर समुदायलाई गोलबन्द गर्नका लागि यस विषयमा विज्ञ मगरबीच पर्याप्त छलफलको आवश्यकता छ ।
संस्कार तथा कर्मकाण्ड गर्ने सम्बन्धमा बनेका धार
नेपाल मगर संघ, केसको निर्णयअनुसार मगर समुदायमा गरिने जन्म, विवाह, मृत्यु लगायतका अन्य संस्कार गर्नका लागि अरुको मुख ताक्न नपरोस् भनी आफ्नै समुदायमा कर्मकाण्ड तथा संस्कार गर्ने मानवीय स्रोत उत्पादन गरी आफंै कर्मकाण्ड तथा संस्कारहरु गर्ने क्रम भयो । र क्रमश हिन्दू धार्मिक विधि अनुसार गरिने संस्कार तथा कर्मकाण्डलाई परित्याग गर्दै गएको देखियो । पछि यसमा पनि प्रकृति पूजक विधि र बौद्ध धर्म विधि गरी २ वटा धारका संस्कार तथा कर्म काण्डीय धारको विकास भइरहेको छ । जसले गर्दा मगर समुदायमा अन्यौलको अवस्था देखिन्छ । यसर्थ, फरक–फरक अस्त्विमा रहेका नेपाल भुषाल संघ र मगर बौद्ध सेवा समाजबीच कर्मकाण्ड विधिमा एकरुपता कायम गर्नका लागि छलफल हुनु आवश्यक छ ।
मगर (ढुट) भाषाको लेखन विधिमा देखिएको अन्यौल
नेपालमा बोलिने मगर भाषालाई ढुट, खाम र काइके गरी ३ प्रकारमा विभाजन गरिएको छ । ती मध्ये ढुट भाषामा लेखिएका मगर साहित्यिक दस्ताबेजहरु मुख्य गरी २ वटा लेखनशैली अनुसार लेख्ने गरिएको छ । जस्तैः मगर भाषाविद् लोकबहादुर थापामगरका अनुसार १ प्रकारको लेखनशैलीको विकास भएको छ भने शोधकर्ता विष्णु सिंजाली मगरले विकास गरेको शैली अर्को प्रकारको छ । मगर भाषाविद् लोकबहादुर थापामगरका अनुसार आधा अक्षर लेख्नुको सट्टा सग्लो अक्षर लेखेर ( ् ) हलन्त दिने, ‘ह’ स्वर मिस्सिएर उच्चारण हुने शब्द लेख्दा सग्लो अक्षर लेखी तल पट्टी ( Þ) थोप्लो दिने जस्ता व्याकरणीय नियमहरु छन् । जस्तैः ‘ग्वा’, ‘मेÞ’, लेख्नुपर्नेछ । भने शोधकर्ता विष्णु सिंजाली मगरका अनुसार आधा अक्षर लेख्नुपर्ने स्थानमा आधा अक्षर नै लेख्ने र ‘ह’ स्वर मिस्सिएर उच्चारण हुने शब्द लेख्दा आधा अक्षर लेखेर ह नै लेख्ने जस्तैः ‘ग्वा’, ‘म्हे’, लेख्नुपर्नेछ । जसले गर्दा मगर (ढुट) भाषामा कलम चलाउने मगर भाषी साहित्यकार तथा लेखकबीच पनि फरकपन र अन्यौलताको अवस्था देखिन्छ ।
आज संसार भरी छरिएर रहेका मगरहरु आ–आफ्नो पायकपर्ने स्थानहरुमा ऐतिहासिक दिन मगर दिवस मनाउनका लागि भेला भइरहेका छन् । आजको यो शुभ दिनमा नेपाल मगर संघको विभिन्न नेतृत्वमा रहेका व्यक्तिले माथि उल्लेखित विभिन्न फरक अवस्थाका विषयमा पर्याप्त छलफल र बहस गर्दै अन्यौलतालाई चिर्दै अगाडि बढ्दै मगर समुदायलाई एकताबद्ध र गोलबन्द गरी एउटै थलो उभ्याउनु आवश्यक छ ।
[email protected]
तपाईको प्रतिक्रिया