स्ववियु निर्वाचन लोकतन्त्रको जग हाे

समाधान संवाददाता २०७५ फागुन १५ गते ८:३४

सन्तोष न्यौपाने

विद्यार्थी आन्दोलन भन्नासाथ हामी चक्काजाम, तालाबन्दी, आगजनी र नाराबाजी बुझ्छौ तर आन्दोलन आफैंमा १ उत्तम शब्द हो । यसले कुनै पनि फरक काम भन्ने अर्थ दिन्छ, जुन कामले बहुआयामिक फाइदाजनक र जनभावना समेट्ने खालको कामको लागि सामूहिक वा व्यक्तिगत संघर्ष गरियोस् । परिवर्तित सन्दर्भमा विद्यार्थी आन्दोलनको स्वरुप पनि वैज्ञानिक तवरले विकास हुनुपर्नेछ । स्थापनाकालदेखि आजसम्म अधिकार प्राप्तिका हरेक आन्दोलनमा हाम्रो भूमिका अपरिहार्य थियो तर अब हामी समृद्धिको दिशामा अगाडि बढिरहँदा हामीले विकल्प दिन सक्नुपर्नेछ । विकासका मोडेलहरु प्रस्तुत गर्न सक्नुपर्ने छ । समय र परिस्थितिमा आमूल परिवर्तन भएको सन्दर्भ छ, हाम्रो पौराणिक समाज वैज्ञानिक समाजमा विकास भइरहेको छ । सूचना र सञ्चारका विभिन्न माध्यमहरुको विकास र विस्तार तीव्र गतिमा भइरहेको छ । आज कुनै मागको लागि सडकमा हजारौं जनता आन्दोलित हुनुपर्ने जरुरत छैन, आवश्यकता अनुरुपको केही शब्द लेख्ने वा बोल्ने मात्र हो भने पनि त्यसले ठूलो प्रभाव राख्छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लोकतन्त्रको अभिन्न आवश्यक अंग हो । जसले विद्यार्थी जीवनमै लोकतन्त्रको अभ्यास गराइ विद्यार्थी र सिंगो समाजलाई दिशानिर्देश गर्छ । लोकतन्त्र नै नयाँ युगको उपलब्धि हो, यसको प्रयोग र विकास हाम्रो पुस्ताको जिम्मेवारी हो । १ पुस्ताले राजतन्त्र ल्याए, अर्को पुस्ताले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र ल्याए । हामी लोकतन्त्रको प्रयोग र विकास गर्नुपर्ने पुस्तामा छौ ।

Advertisement

सोही विद्यार्थीको संघर्षको परिणामस्वरुप विसं २०२२ देखि नै विद्यार्थीको साझा, वैधानिक एवं स्वतन्त्र संस्था स्ववियु पञ्चायतको निर्दलिय कालरात्रीमा समेत निर्वाचन गराएर प्रतिबन्धित भूमिगत पार्टीको प्रवक्ता वा मुखपत्र बनेर जागरणको दियो बाल्न सफल रहे । प्रजातान्त्रिक वा कम्युनिजम जुनसुकै विचार भए पनि निर्वाचनप्रति सबै प्रतिबद्ध थिए । पञ्चायतले निर्दल भन्यो दलहरू भूमिगत थिए । विद्यार्थीले नै स्वतन्त्रताको आवाज निकाले र निरन्तर स्ववियुको रक्षा गरे । यो साधारण र कसैले नजिकको सम्झिएर दिएको उपहार थिएन र महाराजले बुझ्दै नबुझेको वा झुक्याएर भएको प्राप्ति पनि होइन । यसका लागि हाम्रो पुस्ताले ठूलो संघर्ष र बलिदान गरेका छन् । विसं ०३६ सम्मै पञ्चायतको विरुद्ध कोही बोल्न सक्ने अवस्था थिएन । विद्यार्थी नेताले प्रतिबन्ध छल्दै आन्तरिक तरिकाले पार्टीको काम सञ्चालन गर्ने गर्थे र बहुदलीय व्यवस्थाका लागि लुकिछिपी प्रचार गर्थे । प्रतिबन्धको कारणले खुलेर काम गर्न नपाएकाले बहुदल ल्याउन नेपाली जनताले थप १० वर्ष प्रतीक्षा गर्नुपर्‍यो ।
विसं ०४८ मा बहुदल ल्याउन पनि सबैभन्दा महत्वपूर्ण योगदान विद्यार्थी आन्दोलनकै रह्यो ।

बहुदल आएपछि विद्यार्थी रचनात्मक क्रियाशीलता, अधिकार प्राप्तिको आन्दोलनमा कहिले राजासँग, कहिले दलाल, कहिले भ्रष्टाचारीसँग संघर्ष गरे र निरन्तर सफल हुँदै गए । विद्यार्थी नेता राष्ट्रको मुख्य मुख्य जिम्मेवारीमा पुगेर त्यहाँ पनि निरन्तर संघर्ष चलाउन सफल भए । ०६२÷६३ सालमा राजतन्त्रको अन्त्य गर्न पहिलो आवाज विद्यार्थी नै बने । नेपालका मुख्य राजनीतिक दल नै संवैधानिक राजतन्त्र वा कुनकुन अधिकारसहितको राजा भन्ने बहस चलिरहेको बेला युवा विद्यार्थी सडकमा नांगो छाती लिएर सामन्त राजतन्त्र विरुद्धको आवाज बुलन्द गरिसकेका थिए । त्यसकै परिणामस्वरुप राजनीतिक दलले राजतन्त्र नै फाल्ने निर्णय गरे । राष्ट्रियता, लोकतन्त्र, सुशासन, जनजीविका र सरोकारसँगै शैक्षिक रुपान्तरणमा समेत विद्यार्थी आन्दोलन केन्द्रित रहिआएको छ । हालसालैका उपलब्धिलाई हेर्ने हो भने स्वरोजगार र आत्मनिर्भर हुन सरकारले दिने शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कदमलाई लिन सकिन्छ ।

Advertisement

यो इतिहास हुँदाहँुदै पनि आजका युवा निराशको चपेटामा परी, यहाँ केही गर्न सकिंदैन भन्दै विदेशिने संस्कार नै बसेको छ । अहिलेका युवा स्पष्ट भन्छन्, मलाई राजनीति आउंदैन, वा राजनीति आवश्यक छैन । राजनीति भनेको भाषण गर्ने, नेताको पछि दौडिने, कुनै पदमा बस्ने वा राका–जुलुस र बन्द गर्ने भन्ने अर्थ लगायो भने युवाले राजनीति नगर्दा, नबुझदा पनि केही फरकपर्ने थिएन तर राजनीति भनेको उल्लेखित काम मात्र नभएर हरेक कुरा राजनीति हो । बोल्नु, हिँड्नु, खानु, विचार राख्नु, सरकार मन पराउनु, मन नपराउनु, फेस्बुकमा स्टाटस हाल्नु हरेक काम राजनीतिकै उपज हुन् ।

मान्छे राजनीतिक प्राणी हो र जन्मिनुभन्दा पहिले नै भ्रण अवस्थामा रहँदा आमाले आइरन चक्की खान्छिन् । त्यो आइरन चक्कीसमेत सरकारले वितरण गरेको हुन्छ । तसर्थ राजनीतिबाट कोही अछुतो रहने–बन्ने कुरा नै आउँदैन । मुख्य त राज्यलाई नागरिकले बिहानको उठाइसँगै प्रयोग हुने हरेक सामग्रीमा कर तिरेको हुन्छ र उसले पनि राज्यबाट सेवा–सुविधाको अपेक्षा गरिरहेको हुन्छ । जब ती अपेक्षाहरु पूरा हुने आधार देख्दैन अनि निराश भएर भन्न सुरु गर्छन्, मलाई राजनीति मन पर्दैन । ती निराश गाउँगाउँमा बस्तीबस्तीमा दुखी, शोषित, अशिक्षित, पिछडिएका, बालबालिका, अपांग, अशायलाई सहारा दिने र ती निराशको जीवनमा आशा जगाउने काम नेताले गर्नुपर्छ ।

स्ववियु निर्वाचनले विद्यार्थीको मन जितेर मात्र नेतृत्वमा पुग्न सकिन्छ न कि नेताको आसपास दौडधुप गर्दैमा नेता भइन्छ । नेताको नाता परेर, आर्थिक प्रलोभन, भोट किन् बेच, धम्काएर वा कुनै स्वार्थ देखाएर नेता हुने परम्परागत समस्याको पनि हदसम्म हल हुने अपेक्षा गर्न सकिन्छ । विद्यार्थीको अभिमत जितेर अगाडि बढ्न सिकाउँछ भने लोकतन्त्रका आधारभूत पक्ष जस्तै जनतामा निहीत शक्ति, बहुमतको निर्णय, अल्पमतको सम्मान, कानुनी सर्वोच्चता, व्यक्तिगत स्वतन्त्रता, सामूहिक निर्णय, समावेशीकरण, विचार वा फरक मतको अधिकार आदि विशेष तरिकाहरु अभ्यास गराउनेछ । तसर्थ निर्वाचनले समग्र राजनीतिलाई नै दीर्घकालीन सुधार गर्छ ।

हिजोआजका केही निराशाले विक्षिप्त मानसिकता बोकेका र आफूलाई मात्र राम्रो देख्ने र अरु सबैलाई गलत देख्ने (सिजोफेर्निया) रोगीहरु अध्ययन बिना नै विश्लेषण गर्नेहरुले विद्यार्थी राजनीति र स्ववियु आवश्यक छैन र विश्वविद्यालयमा राजनीति गर्नु हँुदैन भन्ने अति उदेकलाग्दो बहस गर्छन् । यस बहसको कुनै तुक त छैन र पनि मेरो विचारमा ३ मुख्य कारण छन् ।
पहिलो, विद्यार्थी आन्दोलनको नजिकैबाट जानकारी नभएका र विद्यार्थी आन्दोलनको इतिहास अध्यन नगरेका पर्छन् । कुनै गम्भीरतापूर्वक नभइ हचुवाको भरमा केही हुनेवाला छैन भन्दै भविष्य अन्धकार देख्छन् । यिनैको मनमा आशा जगाउने विद्यार्थी आन्दोलनको जिम्मेवारी हो ।

दोस्रो, सक्रिय राजनीतिमा आउन खोज्ने तर नसकेका, कुनै कालखण्डमा आन्दोलनमा सहभागी तर विभिन्न कमजोरीका कारण स्थापित हुन नसकेका र विद्यार्थी आन्दोलनको भविष्यको कार्यदिशा नबुझेकाहरु पर्छन् । निराशा र आत्मकेन्द्रित सोचले गालेर राजनीति नै आवश्यकता छैन र उत्पादनहिन मान्ने गर्छन् ।
तेस्रो, विद्यार्थी राजनीतिबाट स्थापित ४० कटेका युवा नेता पर्छन् । उनीहरु राजनीतिको मुख्य धारमै पुग्नका निम्ति दिनरात मेहनत गर्छन् र उनीहरुलाई आफ्नो इसारामा घुम्ने युवा विद्यार्थी चाहिएको छ । अबका केही वर्ष आफंै युवा नेता हुन जोड भएकाले आलोचनात्मक विवेक भएको विद्यार्थी माथिल्लो तहमा नआउँदा नै काइदा हुने छ ।

अन्धभक्तको खोजीमा राजनीतिक नेताहरू आलोचना र सुझाव चाहंदैनन् । नेताहरुले स्पष्ट बुझेका छन्, अबका युवा विद्यार्थी नेता प्राविधिक, चलाख, हरेक हिसाबले चल्न सक्ने, वर्तमान परिस्थितिको आंकलन र सोहिअनुरुप ढल्न सक्ने नेतृत्व आउनेछ र सो नै उनीहरुको विस्थापित गर्ने शक्ति बन्नेछ ।

समृद्ध नेपालको सपना बुनिरहेका, गाउँगाउँमा विकास कुरेर बसेका, अभावका चपेटाले पिल्सिएका, विदेशको खाडीमा ज्यान सुकाएर बोर्डिङको चर्को शुक्ल तिर्नुपरेका अनि देशको अनेक क्षेत्रको विकासको प्रतीक्षा गरिरहेका जनताले भने देशको हरेक क्षेत्रमा प्रतिस्पर्धात्मक नेतृत्व र आलोचनात्मक चेत बोकेको नयाँ वैज्ञानिक नेतृत्वको आवश्यक महसुस गरेका छन् । निजी स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थका निम्ति राजनीतिमा लागेका र मूलधार बाहिरबाट विश्लेषण गरिरहेका खोजकर्ताले समेत युवा विद्यार्थीको राजनीतिक सक्रियता आवश्यकता महसुस गरेका छन् । देश संघीयतामा गएपछि ३ तहका नेतृत्वकर्ता सामान्य राजनीतिक ज्ञान, आवश्यक कानुन, प्रविधिको प्रयोग र विकास, राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक चासो र सरोकारसँगै यो पुस्ताको आवश्यकता बोध भएको नेतृत्व चाहन्छन् ।

तसर्थ यो स्ववियु निर्वाचन लोकतन्त्रको जग हो । यो जग बसाएर भोलि अनेक क्षेत्रको नेतृत्व जन्माउन निर्वाचनको हदै महत्व छ । सरासर हेर्दा २ वर्ष क्याम्पसको विद्यार्थी नेतृत्व हो जस्तो लाग्छ तर दुरदृष्टिले हेर्दा यो देशको जग निर्माण गर्ने जिम्मेवारी हो । नेताको आसपास लागेर, नाता पर्ने, थर वा भूगोल मिलेर, आर्थिक प्रलोभन देखाएर, बल, झुट, छलकपट गरेर नेतृत्व गर्ने परिपाटीको अन्त्य गरेर जनभावना बुझ्ने र जनविश्वासको मतले नेतृत्व गर्ने हुनाले यस्तो नेतृत्वले मात्र राष्ट्रको हितका निम्ति काम गर्न सक्छ । तसर्थ समयमै स्ववियु निर्वाचन गराई समाजवादका यात्रीलाई सोहिअनुरुपको नेतृत्व दिनेतर्फ सबै लाग्नु पर्छ ।
न्यौपाने अनेरास्ववियु पिएन क्याम्पसका विद्यार्थी नेता हुन् ।

तपाईको प्रतिक्रिया