कुरीकुरी प्रहरी

समाधान संवाददाता २०७५ फागुन १५ गते ८:३५

१७ वर्षे सन्देश रम्तेलले आफू नेपाल सरकारको सहसचिव हुँ भन्दै प्रहरीलाई छक्याए । त्यो पनि १ हैन २ हैन अनेकौ ठाउँमा । तनहुँ प्रहरीले त उनलाई राजमार्गमा स्कर्टिङसहितको सुरक्षा नै प्रदान गर्‍यो । तनहुँ प्रहरीको बुद्धि भुटेपछि उनी हौसिए । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले पनि तनहुँकै सिको गर्दै रम्तेलको सुरक्षामा चासो दियो । २० वर्ष पनि उमेर नकटेको युवाले प्रहरी मात्र हैन जनप्रतिनिधिलाई समेत छक्याउन सफल भए । पोखरा महानगरपालिकाकी उपमेयरको तोकमा उनले १० लिटर इन्धनको कुपन नै हात पारे । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयमा समेत सरकारी नम्बर प्लेटको गाडीसहित प्रवेश गरी सहसचिवकै हैसियतमा बातचित गर्न उनले भ्याए ।

झापाका रम्तेल कस्तो पारिवारिक पृष्ठभूमिका हुन्, अध्ययन कति छ त्यो त अनुसन्धानकै क्रममा छ । तर सन्देशले जुन तरिकाले सुरक्षा निकाय र सरकारी कार्यालयका अधिकारीलाई गुमराहमा पार्न सफल भए यसले उनी हाइप्रोफाइलकै संगतका व्यक्ति हुन भन्ने अनुमान गर्न सकिन्छ । उनले जीवन जीउन ठगीलाई नै अवलम्बन गरे । आखिर किन रोजे त उनले यस्तो बाटो ? यो अनुसन्धानपछि खुल्ने नै छ । यति सानो उमेरको व्यक्तिले भनेकै आधारमा पत्याइदिने हाम्रो प्रहरी प्रशासनको क्षमतामाथिको ठूलो प्रश्न चिह्न हो यो । प्रहरी प्रशासनले कुनै व्यक्तिलाई सुरक्षा प्रदान गर्नु अघि कुनै आधार चाहिँदैन ? जो पायो त्यहीले फोन गरेको आधारमा स्कर्टिङमा गाडी खटाउने कतिसम्मको कमजोरी गर्न सकेको ? यसबाटै प्रस्ट हुन्छ कि नेपालको सुरक्षा निकाय कति जिम्मेवार छ भन्ने । गोप्य सूचना लिनका लागि नेपाल प्रहरीले ठाउँठाउँमा घुमुवा डुलाएको हुन्छ । ती घुमुवा प्रहरी जिम्मेवारी वहन गर्न भन्दा पनि बार्गेनिङमै बढी समय बिताउँछन् । अनि हाकिमलाई जुन घुमुवाले ठूलो रकम बुझाउन सक्छ उसैलाई प्रोत्साहन गरिन्छ । अनि यस्तै सूचना प्रणालीको फाइदा लुट्छन् सन्देश रम्तेलहरु ।

नेपाल सरकारको सहसचिवस्तरमा पुगेको व्यक्तिको उमेर हेरेरै पनि हाम्रा सरकारी अधिकारीले अनुमान पनि लगाउन सक्नुपर्छ नि । अनि सहयोग माग्न आउनेबित्तिकै सही गरेर कुपन प्रदान गर्न निर्वाचित जनप्रतिनिधिलाई कति हतार भएको होला । हो उनले पोखरा महानगरबाट ठूलो परिणामको सहयोग लिएका होइनन् । तर महानगरले हावाकै भरमा इन्धन बाँड्छ भन्ने तथ्यलाई त यसले जबरजस्त पुष्टि गरिदियो नि । नेपाल प्रहरीको चुस्त अनुसन्धान र सूचना प्रणाली बनाएर जिम्मेवार ढंगले काम नगरेसम्म सन्देश रम्तेलहरुले प्रहरीलाई यसरी नै प्रयोग गरिरहनेछन् । संगठनको शाख जोगाउन पनि अब चुस्त रुपमा काम गर्नुको विकल्प छैन । केबल चर्चामा आउने एकाध घटनाका बारेमा जानकारी गराउने उद्देश्यले आफू नजिकका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेर मात्र प्रहरीको दायित्व पूरा हुँदैन । यस्ता कमजोरी दोहोरिरहने हो भने नागरिकले नेपाल प्रहरीलाई कुरीकुरी गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया