आहारारा गोल्डकप: डफिन्ससँग नेपाल पुलिस स्तब्ध

समाधान संवाददाता २०७५ फागुन १५ गते ९:०९

समाधान संवाददाता

पोखरामा जारी आहारारा गोल्डकपमा विदेशी टिम डफिन्स क्लब क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा डफिन्सले नेपाल पुलिस क्लबलाई २–१ को अन्तरले पराजित गरेको हो ।

सोमबार बुटवलमा सकिएको तिलोत्तमा कपमा समेत डफिन्ससँग नेपाल पुलिस पराजित भएको थियो । पुलिस क्लबका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा डफिन्ससँग बदला लिन नपाएको हो । खेलमा पहिलो गोल ३७ औं मिनेटमा डफिन्सका आहान्डा इसा एलोहले कर्नरबाट प्रहार गरेको बललाई बिकबिक एन्ड्री थेरीले गोलपोस्टमा चुमाए । खेलको पहिलो हापमा अधिकांश समय डफिन्स पुलिसमाथि हाबी भएको थियो ।

Advertisement

खेलको ७२ औं मिनेटमा पुलिसका भरत शाहले प्रहार गरेको बल पोलमा लाग्दै बाहिरिएको थियो । निर्धारित समयमा ४ मिनेट थपिएको थियो । उक्त समयको सदुपयोग गर्दै सुमन लामाले कर्नरबाट दिएको पासलाई सुमन सुवेदीले हेडिङमार्फत बल पोस्टमा छिराए । २ सुमनले सहकार्य गर्दै खेललाई बराबरीमा ल्याए ।

निर्धारित समय बराबरीमा टुंगिएपछि २० मिनेट थप गरिएको थियो । अतिरिक्त समयको ५ मिनेटमै डफिन्सका डेम्बा ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाए । अतिरिक्त समयमा २ पक्षबीच मनमुटाव हुँदा पुलिसका हरि कठायतले रेड कार्ड पाए र खेलबाट बाहिरिए । १० खेलाडीमा सीमित पुलिसले अर्को गोल फर्काउन नसक्दा डफिन्ससँग हार व्यहोरेको छ ।

Advertisement

खेलपश्चात डफिन्सका टिम क्याप्टेन जोसेफ मार्सेल ङामाले तिलोत्तमा लगत्तै फेरि सहारामा प्रहरीसँगै भिड्नुपर्दा अत्यन्तै गाह्रो भएको प्रतिक्रिया दिए । उनले भने, ‘दुवै समूह थाकेका थियौं । आजको खेल अत्यन्तै गाह्रो भयो ।’ उनले नेपाली टिममध्ये एपीएफ अत्यन्तै राम्रो खेल्ने बताए ।

नेपाल पुलिस क्लबका अनन्तराज थापाले लगातारको खेलले हार्नुपरेको बताए । ‘हामी हिजोमात्रै तिलोत्तमामा डफिन्ससँग भिड्यौं । खेलाडी कमजोर भइसकेका छन्,’ उनले भने, ‘तर पनि अन्तिम समयसम्म राम्रो खेलका थियौं ।’ उनले पटकपटक पाएको अवसरलाई पनि सदुपयोग गर्न नसक्नु दूर्भाग्य भएको बताए ।

अाजबाट हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफ र थ्रीस्टार फुटबल क्लब भिड्नेछन् ।

तपाईको प्रतिक्रिया