प्रेरणा पुञ्ज रवीन्द्र
देशकै लोकप्रिय युवा नेता तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले हेलिकोप्टर दुर्घटनामा बुधबार ताप्लेजुङमा ज्यान गुमाए । यता देशले एउटा होनहार युवा नेता गुमायो । पोखराले आफ्नो अभिभावक गुमायो । पर्यटन, कला, साहित्य क्षेत्रले प्रेरणाको पुञ्ज गुमायो ।
कास्कीको भरतपोखरीमा २०२६ साल वैशाख २२ गते जन्मिएका रवीन्द्र विद्यालय शिक्षा लिँदालिँदै राजनीतिमा आकर्षित थिए । रवीन्द्र सधैं निर्भीकता, साहस, सत्यनिष्ठा र इमानको दरो खम्बा बने । जसै उनले राजनीतिक खुड्किलो पार गर्दै नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको बागडोर सम्हाले दसकौंदेखिको बेथिति र विकृति उधिनेर कारबाही प्रक्रियामा ल्याउँदै थिए, उनैमाथि पनि प्रहार सुरु भइहाल्यो । तर उनी आफ्नो लक्ष्यमा अबिचलित रफ्तारमा थिए ।
५० को दसकअघि नै पृथ्वीनारायण क्याम्पसमा कमाएको ख्यातिलाई २०५३ सालमा त्रिभुवन विश्वविद्यालय स्ववियु सभापति हुँदा पुनपुष्टि गरे । अनेरास्ववियुवको अध्यक्ष भएर सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छुटको व्यवस्था गराउन सफल भएका थिए । गायक प्रवीण गुरुङको हत्यामा संलग्न तत्कालीन शाहज्यादा पारस शाहको राजकीय पदच्यूत र कारबाही माग गर्ने आँट राजसंस्थाको जगजगीकै बेला गरेर रवीन्द्रले वाहवाही बटुलेका थिए ।
मन्त्री भएको छोटो समयमै त्रिभुवन विमास्थल सुधारे । अर्काे अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध एयरपोर्ट भैरहवाको निर्माणलाई गति दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई तीब्र पारे । नेपाली र विदेशी हवाई यात्रुको बिमा सुविधामा रहेको आकाश जमिनको फरकलाई समान बताएर स्वदेशीलाई राहत दिए । बन्द थुप्रै एयरपोर्टहरु चालु गराए । त्यसै प्रसंगमा तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणमै गएर फर्किंदा उनीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङ दुर्घटनामा पर्यो ।
राजनीतिक आग्रहपूर्वाग्रहभन्दा माथि उठ्न सक्ने क्षमता रवीन्द्रको खास खासियत थियो । गृहनगर पोखरालाई जीवन्त सहर बनाउन उनले यहाँको विकास निर्माणलाई मात्रै जोड दिएनन् । कला, साहित्यको श्रीवृद्धिका लागि सधैं हौसलाको तेल भरे । पर्यटनसँगै संस्कृति मन्त्रालयको समेत जिम्मेवारी हुने हुँदा उनले त्यस क्षेत्रका लागि पनि योगदान गर्न भ्याएका थिए । कोरा राजनीतिकमात्रै नभई विशाल शैक्षिक, सामाजिक, आर्थिक र कलाचेत उनको विशेषता थियो ।
पोखराबाट उन्नति प्रगति गर्दै आफ्नो सहरसँगै देशैको निम्ति अझै धेरै योगदान गर्नसक्ने विश्वास गरिएका नेता रवीन्द्र अधिकारीको अकल्पनीय निधनले पोखरा र सिंगो देशलाई समेत अपुरणीय क्षति पुगेको छ । आशाको प्रेरणा पुञ्ज निभेको छ । पोखरेलीका प्रिय नेता र देशको कर्मठ राजनीतिज्ञ रवीन्द्र अधिकारीलाई कोटीकोटी श्रद्धाञ्जली ।
तपाईको प्रतिक्रिया