बाबा आउने बाटो नियालिरहेका रवीन्द्रका छोरा

समाधान संवाददाता २०७५ फागुन १७ गते ७:५१

अमृत सुवेदी

मालेपाटनको जनप्रियमार्ग । घर नम्बर २३ । स्तब्ध आफन्त र शुभचिन्तक । पर्यटनमन्त्री रवीन्द्र अधिकारीका बुबा इन्द्र र आमा लक्ष्मी अधिकारी बिहीबार काठमाडौंबाट फर्किएपछि घरमा समवेदना दिन जाने–आउने क्रम जारी थियो ।

एउटा कोठामा विक्षिप्त भएर पल्टिरहेका थिए, बुबा इन्द्र र अर्को कुठामा सुक्कसुक्क गर्दै मन थामिरहेकी थिइन् आमा लक्ष्मी । रवीन्द्रका कान्छा छोरा स्वराज सुँकसुकाइरहेकी हजुरआको गाला चुम्छन् । थमथम्याउँछन् र बाहिर बरञ्डामा निस्कन्छन् र बाटोतिर बिच्छ्याउँछन्, आँखा ।

Advertisement

बाबु गुमाएका ती अवोध बालक बाटोदेखि घरका आँगनमा जम्मा भएका मान्छेहरुमा आँखा डुलाउँछन् । उनको मनले सोच्दो हो, ‘पक्कै बुबा पनि त्यही बाटो भएर फर्किँदै हुनुहुन्छ ।’ फेरि दगुर्दै हजुरआमाको स्पर्शमा पुग्छन् र रसाइरहेका आँखा पुछिदिन्छन् । शुक्रबार रवीन्द्रको शव पोखरा ल्याइने भएपछि बुबाआमा, कान्छा छोरा स्वराज र रवीन्द्रका भाइ दीपेन्द्र अघिल्लो दिन बिहीबारै पोखरा आइपुगेपछिको दृश्यले सबैलाई विक्षिप्त बनाउँथ्यो ।

श्रीमती विद्या र जेठा छोरा विराज शुक्रबारमात्रै पोखरा आउने छन् । लोकप्रिय र आशा गरेका नेता रवीन्द्रको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गएपछि उनको परिवारजनसँगै सिंगो पोखरा र नेपाललै विक्षिप्त छ । विकासप्रेमी नेता अधिकारीबाट कस्केलीले धेरै आशा गरेका थिए । तर, दुर्घटनाले आशाको दियो निभाइदिएको अझै पनि धेरै पत्याउन सकेका छैनन् ।

Advertisement

जनता, पार्टीका कार्यकर्तादेखि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसमेतले भरोसा गरेका नेता थिए, रवीन्द्र । बिहीबार साँझ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा प्रदेशका सबै मन्त्री रवीन्द्रको परिवारजनलाई समवेदना दिन पुगे । रवीन्द्रका बुबाआमालाई भेटे । मुख्यमन्त्रीसँगै अर्थमन्त्री किरण गुरुङले बुबाआमा हात समाउँदै सान्त्वना दिए । आफन्तलाई ढाडस दिए ।

रवीन्द्रका बुबासँगै बसेका आफन्त र शुभचिन्तकसँग मुख्यमन्त्रीले मृत्युलाई टार्न नसकिने भन्दै स्वीकारेर सम्हालिनुको विकल्प नभएको बताए । रसियन लेखक वार एन्ड पिसका लेखक टोल्स टोयको भनाइ सापटी लिँदै मुख्यमन्त्रीले भने, ‘३ वटा कुराको कहिल्यै भर हुँदैन । कहिले मृत्यु हुन्छ थाहा हुँदैन, मान्छे कसरी मर्छ र कहाँ मर्छ भन्ने पनि थाहा हुँदैन ।’

मुख्यमन्त्री गुरुङले खराब मौसम र हिमपातसमेत परेका बेला हेलिकप्टर उडाउनु जोखिमयुक्त भएकोसमेत बताए । ‘खराब मौसम, हावाहुरी र हिमपातसमेत भइरहेका बेला हेलिकप्टर उडाउँदा अनब्यालेन्स हुन्छ । त्यस्तो बेला उडाउनु आफैमा चुनौतीपूर्ण थियो,’ मुख्यमन्त्री गुरुङले भने, ‘कम्युनिस्टहरु भाग्यमा विश्वास गर्दैनन् । तर, कहाँ कतिबेला के हुन्छ भन्ने कुरा थाहा नहुने रहेछ ।’

मुख्यमन्त्री गुरुङले रवीन्द्रका बुबासँगै बसेका आफन्त र शुभचिन्तकसँग आफ्नो हेलिकप्टर अनुभवसमेत सुनाए । मनाङबाट प्रधानमन्त्रीसँगै हेलिकप्टरमा फर्किँदा हावाहुरी चल्दा आफूभन्दा अगाडिको हेलिकप्टर हावाका कारण ढलपल ढलपल हुँदै उडेको थियो र पछि माथि लगेपछि अनि आफूहरु पनि उसैगरी उडेपछि बल्ल ठिक हुँदै गएको मुख्यमन्त्रीले सुनाए । ‘त्यतिबेला हावाहुरी र हिउँसमेत फुसफुस परिरहेको थियो,’ मुख्यमन्त्रीले आफन्तसँग अनुभव साट्दै भने, ‘उडानमा हिउँ पर्न थालेपछि खतरा हुन्छ भन्छन् ।’

तपाईको प्रतिक्रिया