शाेकले सर्‍यो सिटी रेवान महोत्सव

समाधान संवाददाता २०७५ फागुन १७ गते १२:१६

समाधान संवाददाता
पोखरा

पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराद्वारा आयोजित ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ २ दिनपछि सरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा महोत्सव २ दिनपछि सारिएको आयोजक सिटी रेवान अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

फागुन १७ देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने भनिएको सातौं संस्करणको महोत्सव फागुन १९ देखि सुरु हुनेछ । महोतसव २७ गतेसम्म चल्नेछ ।

Advertisement

महोत्सवमा राखिने सम्पूर्ण स्टल बुकिङ भइसकेको सिटी रेवानका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा १ सय ३० वटा स्टल रहने छन् । १० वटा खाना तथा खाजासहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टल रहनेछन् । मेला अवधिमा महाशिवरात्रि परेकाले शिवलिंगको प्रतिमा पनि तयार पारिएको छ । शिवरात्रिका अवसरमा शिवलिंगका पूजा गर्ने व्यवस्था मिलाइएको तिमिल्सिनाले बताए ।

अन्य मेला तथा महोत्सवभन्दा भिन्न तरिकाले महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको तिमिल्सिनाले बताए । यस पटक क्यान कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधि मेलासमेत सँगै आयोजना भएकाले सबै प्रकारका दर्शकका लागि महोत्सव उपयुक्त हुने तिमिल्सिनाको विश्वास छ ।

Advertisement

राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसहित खानाका विभिन्न परिकारको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा गरिने महासचिव जीवन दाहालले बताए ।

विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण बन्ने सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने सांस्कृतिक उपसमिति सदस्य तुलसा जिसीले जानकारी दिइन् । द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ३० हजार, २० हजार १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । सातौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिवललाई गोर्खा बु्रवरीले मुख्य प्रायोजन गरेको छ ।

तपाईको प्रतिक्रिया