हवाई सुरक्षा र मापदण्ड

समाधान संवाददाता २०७५ फागुन १७ गते १२:३०

दुर्घटना आकस्मिक नै हुन्छ । १५ फागुन २०७५ मा नेपाली आकाशमै यस्तै दुर्घटना भयो । नेपालीका प्रिय नेता मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाले ज्यान गुमाए । रवीन्द्र आफै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियनले नेपाली आकाशलाई हवाई उडानका लागि सुरक्षित कम भएको भन्दै प्रश्न उठाएपछि उनै रवीन्द्रले यसमा सुधारको प्रयास थालेका थिए ।

नेपाली आकाशमा हुने हवाई दुर्घटनाको बिमा रकम पनि उनकै पालामा बढाइएको थियो । भौगोलिक विकटता भएका पहाडी जिल्लामा आकस्मिक उपचारकै लागि पनि हवाई सुविधा पुग्नुपर्छ भनेर उनी प्रयासमै जुटे । मृत्युवरण गरेकै दिन पनि उनी तेह्रथुममा विमानस्थल निर्माण प्रक्रियाकै लागि अनुगमनमा पुगेका थिए । पाथिभाराबाट फर्कर्दै गर्दा १ थान हेलिकोप्टर दुर्घटना भयो, मन्त्रीसहित ७ जनाले ज्यान गुमाए । २÷४ दिनमा यो घटना ओझेलमा पर्दै जाला । सोचनीय पक्ष के हो भने यो घटनाले नेपाली आकाशमा हवाई सुरक्षासम्बन्धी अर्को अहम् प्रश्न छाडेको छ ।

यो हेलिकोप्टर दुर्घटनापछि धेरै प्रश्न पनि उठेका छन् । षढ्यन्त्रवश भएको भनेर त कल्पनै गर्न सकिँदैन । तर पहाडी उडानमा जाने हेलिकोप्टरको क्षमता, मौसम अनि चालकको मनस्थिति लगायत धेरै विषयले माने राख्छ । अनि यस्ता उडानका सामान्य मापदण्ड पनि होलान नि ?

Advertisement

ताप्लेजुङबाटै निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले दुर्घटनालगत्तै फेसबुकमा लेखेका छन्, ‘भिआइपी उडानमा पाइलट सहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’ यसबाट उब्जेको आशंका हो के पाइलट जसरी भए पनि भिआइपीलाई उडाउनै पर्छ भन्ने मानसिक दबाबको पो थिए कि त ।

ताप्लेजुङमा बुधबार भएको दुर्घटनासँगै नेपाली आकाशमा ३२ हेलिकोप्टर दुर्घटना भएका छन् । प्राधिकरणका अनुसार पहिलोपटक २७ डिसेम्बर १९७९ मा लाङटाङमा भएको दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । नेपालमा अहिलेसम्म हेलिकोप्टर दुर्घटनामा ६५ जनाले ज्यान गुमाएका छन् । भूपरिवेष्टित भौगोलिक संरचनाका कारण अन्तरराष्ट्रिय पर्यटक, कामदार र स्वदेशभित्रको आवागमन सहज पार्न हवाई सेवा अत्यावश्यक बन्दै गएको छ । आइपुग्दा हवाई सेवा नेपालको अत्यावश्यक यातायात सेवाका रूपमा स्थापित भइसकेको छ । संख्यात्मक रूपमा स्वदेशीविदेशी हवाई सेवाप्रदायक कम्पनी बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ ।

Advertisement

यी हवाई दुर्घटनाको प्रकृति हेर्दा मुख्य कारण मानवीय कमजोरी रहेको देखिन्छ । यसमा सेवाप्रदायक निकाय गम्भीर हुनुपर्छ । पाइलटमाथि घरायसी, व्यावहारिक तथा कार्यालयबाट पर्ने विभिन्न खाले तनाव पनि दुर्घटनाको कारण हुन सक्छ । कतिपय अवस्थामा साथीभाइसँगको सम्बन्ध तथा कम्पनीले लिने निर्णयले पनि व्यक्तिको मानसिकतामा प्रभाव पार्छ । त्यसकारण यी विषयमा नियमित परामर्श, रायसुझाव लिँदै अघि बढ्दा पनि धेरै हदसम्म दुर्घटना कम हुन सक्छ ।

तपाईको प्रतिक्रिया