जनप्रिय नेता रवीन्द्रको श्रद्धाञ्जलीमा थामिएनन् आशु

समाधान संवाददाता २०७५ फागुन १७ गते १४:३१

समाधान संवाददाता, पोखरा


तीन दिनदेखि धुम्मिएको पोखरेली आकाश शुक्रबार बिहानैदेखि छ्यांग खुले पनि पोखरेलीको मन भने खुलेको छैन । प्रिय नेता रवीन्द्र अधिकारीको निधनले अहिले पूरै पोखरा शोकमा छ । बुधबार दिउँसो ताप्जेलुङको पाथीभरा नजिकै भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । बिहीबार नै प्रिय नेताको पार्थिव शरीरमा फूल अर्पण गर्न पाइने आशामा बसेका पोखरेलीले १ दिन कुर्नुपर्‍यो । शुक्रबार साढे १२ बजेतिर मात्र अधिकारीको शव सेनाको हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो ।

अहिले पोखरा प्रदर्शनी केन्द्रमा जम्मा भएका सर्वसाधारण अधिकांशमा अनुहार मलिनो मात्रै छैन, आँखाबाट बलिन्द्रधारा आशु चुहेका छन् । जहिले जोसँग पनि हाँसेर बोल्ने, सञ्चो विसञ्चो सोध्ने नेताको शरीरमा फूलमाला अर्पण गर्दा सुभच्छेकहरु भक्कानिइरहेका छन् । गण्डकी प्रदेशका सबै जिल्ला वाहेक पाल्पा, बुटवलदेखि सुभच्छुकहरु पोखरामा भेला भएका छन् । पोखरा र आसपासमा सुरु हुन लागेका मेला महोत्सव शोककै कारण स्थगित गरिएका छन् ।

Advertisement

हेलिकोप्टर दुर्घटनामा बुधबार ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव श्रद्धाञ्जलीका लागि अहिले पोखरा प्रदर्शनी केन्द्रमा राखिएको छ । उनको शवमा नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र प्रदेशमा मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओडाए । नेकपाका नेता एवं पूर्व उपप्रधामन्त्री वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीका लागि नेपाल सरकारका मन्त्री, प्रदेशका मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, विभिन्न दलका कार्यकर्ता र सुभेच्छुक सहभागी भएका छन् । पोखरा प्रदर्शनी केन्द्रमा अहिले निकै ठूलो भीड जम्मा भएको छ । भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ । अधिकारीको शव ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखेर शवयात्रा सहित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।

Advertisement

नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटमा शवयात्रा टुंगिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जानकारी गण्डकी प्रदेस सरकार प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले दिए । नेपाली सेनाका मेजर नेतृत्वको सुरक्षा टोलीले राजकीय सम्मान अर्पण गर्ने छ ।

बिहीबार साँझ नै अधिकारीको शव पोखरा ल्याउने भनिए पनि पोस्टमार्टममा ढिलाइ भएका कारण शुक्रबार ल्याइएको हो ।

स्वर्गीय मन्त्री अधिकारीकी श्रीमती विमानस्थलमा

तपाईको प्रतिक्रिया