मन्त्री अधिकारीकाे श्रद्धाञ्जलीमा जनसागर

समाधान संवाददाता २०७५ फागुन १८ गते ८:०३

विकास रोकामगर-अमृत सुवेदी

सधैं मेला महोत्सव भइरहने प्रदर्शनी केन्द्रको ब्यानर झुण्डिने मञ्चमा लेखिएको छ, श्रद्धाञ्जली सभा । उत्तरतर्फ खुलिरहेको छ हिमाल र मञ्चका चारैतिर झुण्डिएका छन्, मुस्कुराइरहेको तस्बिर । तर, मञ्चमा उभिइरहेकाहरु भक्कानिइरहेका छन् र चौरमा उपस्थित हजारौं मान्छेका रसाइरहेका छन्, आँखा ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा भएको श्रद्धाञ्जली सभाको दृश्य हो, यो । जनप्रिय नेता रवीन्द्रको श्रद्धाञ्जलीमा शुक्रबार प्रदर्शनी केन्द्रको चौरमा भेला भएका हजारौं मान्छेहरुका आँखा रसाए ।

आँखामा टिलपिल आँसु बनाउँदै कोही सुक्सुकाए । पुष्पगुच्छा लिएर श्रद्धाञ्जली अर्पण गर्न पुगेकाहरु भक्कानिए । चौरमा बसेर हेर्नेहरुको आँखामा गहिरो समवेदना देखिन्थ्यो ।

मञ्चको ठीकमाथि झुन्ड्याइएको राष्ट्रिय झन्डा र नेकपाको झुकेको आधा झण्डा निरस फर्फराइरह्यो । एकतामास बजिरहेथ्यो, शोक धुन । तर, भीडले अझै पनि खोजिरहेथ्यो, उनै रवीन्द्र अधिकारी ।

बाल्यकालदेखिकै अधिकारीका सहयात्री धनराज आचार्यले भने, ‘काँधमा थमथमाउँदै आउने, बुबाआमालाई आदरभावले नमस्कार गर्दै सञ्चै हुनुहुन्छ भन्दै हाँस्दै आउने त्यो मित्र, त्यो छोरो गुमाएका छौं भनेर आज हामीले कल्पना पनि गरेका छैनौं ।’ हुन पनि श्रद्धाञ्जली सभामा उपस्थित हुने अधिकांशले अझैसम्म त्यो कल्पनै होस् भन्ने चाहिरहेका थिए ।

श्रद्धाञ्जली सभामा पुगेकाहरुले भन्दै थिए, ‘कास्कीले रवीन्द्रजस्तो नेता अब कहिल्यै पाउने छैन ।’ रवीन्द्र लोकप्रिय नेता थिए । उनै त्यसै लोकप्रिय भएका थिएनन् । उनी उहाँका जनताका सुखदुखसँग जोडिएका थिए ।

रवीन्द्रसँग देशविकासको सपना थियो । त्यो सपना पोखरेलीको पनि थियो । रवीन्द्रको गतिशीलता, जागरुकता र आफ्नो भविष्य हेरेर यहाँका जनताले ३ पटकसम्म जिताएका थिए । भरोसायोग्य नेताको निधनसँगै हजारौं जनताले एकसाथ शोक मनाएका थिए ।

छोरा अभिभावक बनेको कारुणिक दृश्य
श्रद्धाञ्जली सभामा देखिएको कारुणिक दृश्यले धेरैलाई भावुक बनायो । एकातर्फ विक्षिप्त हुँदै बुबा ईन्द्र र आमाले छोरा रवीन्द्रको शवमा पुष्पगुच्छा चढाए । अर्कातर्फ रवीन्द्र श्रीमती विद्याका आँखामात्रै रसाएका थिएनन्, उनलाई सम्हालिनै गाह्रो भइरहेको थियो । र ८ वर्षीय छोरा स्वराजले आमालाई सम्हालिरहेका थिए ।

८ वर्षीय स्वराज विक्षिप्त आमा विद्यासामु अभिभावकका रुपमा प्रस्तुत भए । स्वराज घरि हत्केलाले आमाको आँसु पुछिदिन्थे, घरि स्वान्त्वना दिँदै पानी खुवाउँथे । अनुहारमा हातले स्पर्श गरे । त्यो करुणामय दृश्यले त्यहाँ वरिपरि रहेकाहरु झन् द्रविभूत बनेका थिए ।

रवीन्द्रको निधनपछि विद्या शुक्रबारै काठमाडौंबाट पोखरा आइपुगेकी थिइन् । स्वराज बिहीबारै परिवारका अन्य सदस्यसँगै पोखरा आए । अध्ययनका सिलसिलामा दिल्लीमा रहेका दाजु विराज र उनको भेट पोखरामै भयो ।

दुर्घटनाको खबर सुनेदेखि विक्षिप्त रहेकी विद्यालाई उनका दुई छोराले ढाडस दिइरहेको दृश्य मार्मिक थियो । पितृवियोगको क्षणमा दुवै भाइ अँगालोमा कसिएर रोएको दृश्य देख्नेका आँसु रोकिएनन् ।

पछि बोल्नेक्रममा रवीन्द्रका साथी तथा परिवारका सदस्यसमेत रहेका धनराज आचार्यले उनै स्वराजलाई सम्झँदै अझै भावुक बनाए, ‘अंकल, बाबा कहिले आउनुहुन्छ ?’

सम्झनामा रवीन्द्र, मुखमा रवीन्द्र
विकासप्रेमी युवा नेता रवीन्द्रको श्रद्धाञ्जली सभा र शवयात्रामा जनसागर नै उर्लियो । मिजासिलो र सरल स्वभावका रवीन्द्रले कमैलाई चिड्याए होलान् । सबैको मनमा बसेकै कारण पोखरा प्रदर्शनी केन्द्र नै खचाखच भरिएको थियो ।

रवीन्द्रको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले पार्टीको झण्डा ओढाए ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेकपा नेता योगेश भट्टराई, भूमिसुधार मन्त्री पद्मा अर्याल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे, प्रदेश सरकारका मन्त्री, कांग्रेस नेता चन्द्र भण्डारी, प्रदेश पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतले माल्र्यापणसहित श्रद्धाञ्जली अर्पण गरे ।

ताप्लेजुङमा हवाई दुर्घटनामा परी रवीन्द्रले १५ गते बुधबार ज्यान गुमाएको खबरपछि पोखरेली स्तब्ध थिए । शुक्रबारमात्रै उनको शव पोखरा ल्याइएपछि पोखरेली श्रद्धाञ्जली अर्पणमा पुगे ।

मन्त्री अधिकारीको पार्थिव शरीर करिब साढे १२ बजे पोखरा ल्याइएको थियो । श्रद्धाञ्जली पुष्पगुच्छा अर्पिन बुढापाकादेखि बालबच्चा बोकेरसमेत पोखरेली पुगेका थिए । भीडबाट सबैको बोलीमा ‘रवीन्द्र फर्की आए हुन्थ्यो’ भाव आइरहेथ्यो । कसैले छोराजस्तो त कसैले दाजुभाइजस्तो भनिरहेका थिए । उनीसँग सम्बन्ध भएका कतिपयले तितामीठा किस्सा सम्झिरहेका थिए, सुनाइरहेका थिए । सबैको स्मृतिमा थिए रवीन्द्र ।

प्रदर्शनी केन्द्रमा साढे ३ बजेसम्मका लागि सर्वसाधारणलाई श्रद्धाञ्जली दिन समय दिइएको थियो । ठेलमठेल भीडमा पनि पंक्तिबद्ध उभिएरै पनि मन्त्री अधिकारीका शुभचिन्तकले श्रद्धाञ्जली दिए । तर तोकिएको समयसम्ममा पनि भीड कम भएन, बढ्दैबढ्दै गयो ।

शोकसभालाई सहजीकरण गरिरहेका गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले भन्नैपर्‍यो, ‘अब शवयात्रामा तपाईंहरुले पुष्पगुच्छा अर्पण गर्नुुहोला ।’ कार्यक्रम सहजीकरण गर्दैगर्दा पनि उनको गला अवरुद्ध भइरहेको सहजै अनुमान लगाउन सकिन्थ्यो ।

मन्त्री अधिकारीको पार्थिव शरीरलाई प्रदर्शनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, रानीपौवा हुँदै रामघाटमा लगियो । शवयात्रा लैजाँदै गर्दा हजारौंको जनसागर उर्लिएको थियो । झन्डै ३ किलोमिटर शवयात्राका सहभागीबाहेक सडकको दुबैतिर उत्तिकै फूल अर्पण गर्ने र एक झलक हेर्नेको ठूलो लाम थियो ।

शवयात्रा जब रामघाटमा पुग्यो, त्यहाँ पनि पहिल्यै सयौंको मात्रामा शुभचिन्तक जम्मा भइसकेका थिए । जब काठको बाकसबाट मन्त्री अधिकारीको शव चितामा राखियो । भीड फेरि अनियन्त्रित भयो ।

सबैको आँखा फेरि टम्म आँसु भरिएर आयो । जेठा छोरा विराजले दागबत्ती दिए । श्रीमती विद्या र कान्छा छोरा स्वराजले धूपबत्ती लिएर घुमे । एकैछिनमा रवीन्द्रको शव जलेर धुवाँ उड्न थाल्दा उपस्थितको मन जलेर आँसु खस्दै थियो । रवीन्द्रको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

काजकिरिया अब ४ दिनमात्रै
रवीन्द्र स्वयंले सामाजिक व्यवस्था र मूल्य मान्यताहरु समयानुकुल हुँदै जानुपर्छ भन्थे । जन्म र मृत्युका हाम्रा संस्कारलाई कसरी परिवर्तन र समयअनुकुल बनाउनुपर्छ भनेर उनले छलफलसमेत चलाउँथे । उनकै चाहना र सपनाअनुसार रवीन्द्रको निधन भएको दिनबाट काजकिरिया ७ दिनमै सकिने भएको हो ।

मालेपाटनको जनप्रिय टोलस्थित निवासमा २१ गते काजकिरिया सकिने छ । परिवारका तर्फबाट रवीन्द्रका बाल्यकालदेखिका सहयात्री धनराज आचार्यले भने, ‘मृत्युमा गरिने हाम्रो संस्कारलाई परिवर्तन गर्न जरुरी छ । १३ दिनसम्म काजकारिया गर्दा परिवारलाई त्यो पीडाबाट बाहिर निस्कन गाह्रो हुन्छ भन्ने मान्यता उहाँको थियो । उहाँको त्यो सपना अधुरै रह्यो । उहाँले अगाडि बढाएको सोच र सपनालाई परिवारसँगको सल्लाहमा उहाँकै इच्छाअनुसार ७ दिनमात्र किरियाकर्म गर्ने छौं ।’

तपाईको प्रतिक्रिया