दानवीरको सम्मानमा बाजागाजा

समाधान संवाददाता २०७५ फागुन १८ गते ८:१५

कृष्ण न्यौपाने

तनहुँ व्यास नगरपालिका २ दमौली निवासी विकास खनाल शुक्रबार दिउँसो २ बजे घरमा नै बसिरहेका थिए । उनलाई खबर आयो १ टोली बाजागाजासहित घरमा लिन आउँदैछन् भनेर । अनि उनी हतार हतार तयार भए । एकैछिनमा बाजागाजासहितको टोली घर आइपुग्यो र उनको परिवारलाई बाजा बजाउँदै नाचगानसहित महायज्ञ स्थल पुर्‍याएर सम्मान गरियो ।

तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा जारी श्रीमद्भागवत ज्ञान नवाह महायज्ञमा दानवीरलाई घरबाटै बाजागाजा सहित महायज्ञस्थल पु¥याउने गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आर्थिक संकलन गर्न आयोजना गरिएको महायज्ञमा ५० हजार भन्दा बढी दान गर्ने दानवीरलाई घरबाटै बाजागाजाले सम्मान गर्दै महायज्ञस्थल ल्याउने गरिएको महायज्ञका संयोजक विजयराज खनालले बताए । उनका अनुसार ३० हजारदेखि ५० हजारसम्म दान गर्ने दानवीरलाई महायज्ञ मूल प्रवेशद्वारबाट स्वागत गर्ने गरिएको छ ।

Advertisement

उनले भने, ‘५० हजार भन्दा बढी दान गर्ने दानवीरलाई घरमै पुगेर बाजागाजा सहित महायज्ञ स्थलसम्म ल्याउने व्यवस्था मिलाएका छौं ।’ उनले भने, ‘यसले गर्दा महायज्ञमा दान गर्ने सबैलाई हौसला मिल्ने विश्वास गरेका छौं ।’

महायज्ञमा ६० लाख संकलन

Advertisement

फागुन ११ गतेदेखि सुरु भएको महायज्ञमा ६० लाख भन्दा बढी दान संकलन भइसकेको छ । महायज्ञका आर्थिक संयोजक रवीन्द्र खनालका अनुसार स्थानीय विनोददत्त खनाल तथा कमला खनालले १ लाख ८२ हजार ८ सय १८, मुक्तिनाथ खनाल तथा रेणुका खनालले १ लाख ८२ हजार ८ सय १८, इन्द्रप्रसाद खनाल तथा विष्णु अधिकारी खनालले १ लाख ११ हजार १ सय ५५, हरिलाल विक र ज्ञानीमाया विकले १ लाख ११ हजार ५ सय ५५, दलबहादुर विकले १ लाख १ हजार १ सय ११, रवीराज खनालले १ लाख १ सय, म्याग्दे गाउँपालिका १ का वडा सदस्य विनोद खनालले पारिश्रमिक बापतको ५१ हजार १ सय ५, सुमित्रा खनालले ७५ हजार ५ सय २५, गोपीबहादुर आलेले ५१ हजार ५ सय, रामशरण बास्तोलाले ५१ हजार ३, सैनिक टोल आमा समूहले ५१ हजार ५१, युबहादुर थापाले ५१ हजार १ सय ११ सहयोग गरेका छन् ।

फागुन १९ गतेसम्म सञ्चालन हुने महायज्ञमा बालयोगेश्वर महाराजले कथावाचन गरिरहेका छन् । महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्ती लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । महायज्ञ मूल संयोजक खनालले भने, ‘यस क्षेत्रमा प्राविधिक शिक्षाको माग छ, यहाँका बालबालिका प्राविधिक शिक्षा पढ्नका लागि अन्य ठाउँ जानु नपरोस् भनेर प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञमार्फत आर्थिक संकलन गर्न लागेको हौं ।’

तपाईको प्रतिक्रिया