खरको छानो हटाइ जस्तापाताले छाउने अभियान सुरु

समाधान संवाददाता २०७५ फागुन १८ गते ८:४४

समाधान संवाददाता

काठेखोला ७ रेशलाई खरको छानो मुक्त वडा बनाइने भएको छ । गरिब, दलित र विपन्न परिवारका घरहरु खरले छाएका, पुराना र जीर्ण भएको ठाउँमा जस्तापाताले छाउने अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत गत वर्ष २६ वटा घर जस्तापाता सहयोग गरिएको र बाँकी ९ घरमा जस्तापाता वितरण गर्न लागिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । गतवर्ष २६ घरका लागि ७ लाख खर्च भएकोमा यसवर्ष २ लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष लामिछानेले बताए । वडाको विकासका लागि विभिन्न पूर्वाधार तयार गरिएको उल्लेख गर्दै पहिलो प्राथमिकता सडक सञ्जाललाई दिइएको पनि उनले बताए ।

Advertisement

वडामा सडकको नाका खोल्ने योजना सुनाउँदै रेसको एकपाटे बिहुँ, सिगाना लगायतका क्षेत्रमा लगानी गरिएको बताए । जिल्लाको समृद्धि र विकासका लागि बागलुङ नगरपालिका ६ को पञ्चकोटदेखि भीमापोखरा बिहु हुँदै रेश-भैरवस्थानसम्म सडक सञ्जाल जोड्नुपर्ने आवश्यकता औंल्याए ।

ग्रामीण सडकलाई व्यवस्थापन गर्न बजेटको अभावले चाहे अनुसारको काम गर्न भने समस्या भएको उनको गुनासो थियो । जनजाति बाहुल्य रेशमा ४ वटा होमस्टे सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

Advertisement

उनले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक र स्थानीय जनप्रतिनिधिका बालबालिका सामुदायिक विद्यालयमै पढाउनुपर्ने नियम बनाएपछि ४२ जना विद्यार्थी अन्यत्र स्कुलबाट ल्याउन सफल भएको बताए । उनले भने,‘ बसाइँसराइँका कारण अभियान प्रभावकारी कार्यान्वयनमा बाधा पुगेको छ ।’ सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा उनले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया