महानगरले दायित्व पूरा नगर्दा मर्कामा : बस्नेत

समाधान संवाददाता २०७५ फागुन १८ गते ९:०७

समाधान संवाददाता

पोखरा महानगरको सिर्जनाचोकमा रहेको भवन भाडामा लिएको जस्ट इन टाइम कन्स्ट्रक्सनले महानगरले कन्स्ट्रक्सन र सञ्चालकप्रति पूर्वाग्रह राखेको आरोप लगाएको छ । बिहीबार पत्रकार सम्मेलन गरी सञ्चालक सुरेन्द्र बस्नेतले महानगरले सम्झौता बमोजिम काम नगरी उल्टै छवि बिगार्न लागेको आरोप लगाए । उनले भने, ‘महानगरले सम्झौता अनुसार भवनमा काम गरिदिएन, भाडा नतिरेको भनी व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था बनाइदियो ।’

जस्ट इन टाइमले महानगरको सिर्जनाचोकको भवन २०७३ चैतमा ५ वर्षका लागि भाडामा लिएको थियो । वार्षिक ७६ लाख भाडा तिर्ने गरी चैतमा भाडामा लिएको भवन निर्माण व्यवसायीले भदौमा मात्र निर्माण सम्पन्न गरेको बस्नेतले दाबी गरे । भवन बनेपछि पनि पानी, बत्ती जोडिदिने दायित्व महानगरले पूरा नगर्दा आफू मर्कामा परेको उनले बताए । भवन आफूले लिएको ६ महिनापछिमात्र बत्ती, पानी जडान हुँदा भवन त्यतिन्जेल प्रयोगविहीन भएको उनले बताए । बस्नेतलले भने, ‘निर्माण पूरा नभएको, बिजुली, पानी नभएको भवनमा को भाडामा बस्न आउँछ र ?’

Advertisement

सम्झौता अनुसार माथि १ तला थप र अगाडिको रुख छाँटकाँट गर्नुपर्नेमा त्यो नहुँदा सटर भाडामा दिन नसकिएको उनले बताए । सम्झौता बमोजिमका कार्य गरिदिन पटक पटक मौखिक र ६ पटक लिखित जानकारी दिँदा पनि महानगरले त्यसलाई उपेक्षा गरेको उनको आरोप छ । महानगरका विभिन्न ठाउँका भवन, सटका भाडामा अनियमितता भएका तथ्य सार्वजनिक भएपछि त्यसलाई छायाँमा पार्न महानगरले आफूमाथि राजनीतिक र व्यक्तिगत पूर्वाग्रह साँधेको उनको आरोप छ । उनले भने, ‘आफ्नो लापरबाही र अनियमिमता छापछोप गर्न राजनीतिक प्रतिशोध लिएर यस्तो व्यवहार भएको मेरो ठम्याइ छ ।’

जस्ट इन टाइमले १ वर्षको घरभाडा तिर्न बाँकी छ । सम्झौता अनुसारका काम महानगरले नगरे र भाडामा छुट नदिए कानुनी उपचार खोज्ने उनले बताए । बस्नेतले भने, ‘म यो देशको नागरिक, अन्यायमा परे नागरिकले जे गर्नुपर्छ, त्यही बाटो हिँड्नु पर्ला ।’

Advertisement

तपाईको प्रतिक्रिया