रवीन्द्रबाट युवा पुस्ताले के सिक्ने ?

समाधान संवाददाता २०७५ फागुन १८ गते ९:२९

विपिन आचार्य

बाल्यकालीन समयमा विद्यालयमा १ दिन विद्यार्थी परिचयपत्र ‘आईडी कार्ड’ बारे कुरा उठ्यो । हाम्रो विद्यालयमा आईडी कार्डको व्यवस्था थिएन । विद्यालयमा अचानक आइडी कार्डको कुरा किन उठ्यो भनेर मनमा जिज्ञासाको हुटहुटी नै चल्यो । विद्यालय समय बिहान १० बजेबाट ४ बजेभित्र सरहरूसँग सोध्ने मौका नै मिलेन । विद्यालयमा भएको विषय गाउँमा आएर बुझ्ने प्रयास गर्दा थाहा भयो । विद्यार्थीहरू सार्वजनिक बसमा यात्रा गर्दा आईडी कार्ड देखाएमा ३३ प्रतिशत छुट दिने व्यवस्था सरकारले घोषणा गरेको रहेछ ।

गाउँमा दाइ दिदीहरू पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरेर सधैंझैं साँझ आउनुभयो । उहाँहरूले भन्नुभयो, ‘आज हामी सहभागी आन्दोलन सफल भयो । आवश्यक विषयमा निकै दिन आन्दोलनको कष्ट गरियो । राज्यले आश, त्रास र धम्की सबै दियो ।’

Advertisement

विद्यार्थीलाई गाडीभाडा छुट गराउने आन्दोलनको अगुवाइ गर्नुभएको थियो लोकप्रिय विद्यार्थी नेता रविन्द्र अधिकारी दाइले । सडकबाट चुनौती दिनुभयो । लेनिनको भनाइ यहाँ सान्दर्भिक छ, ‘विद्यार्थी आन्दोलन भनेको स्यालको हुइँयामात्र होइन, एक कुशल शिकारीको अचूक निशानी पनि हो ।’ विद्यार्थी आन्दोलनको उचित तालमेलका कारण राज्य विद्यार्थीसामु गल्यो । तत्कालीन समयमा विद्यार्थी नेता रविन्द्र अधिकारीको गाउँभरि प्रशंसा भयो ।

आन्दोलनको नेतृत्व रविन्द्र अधिकारी गर्नुभएको थियो भने अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ र अखिल छैठौंको सक्रिय साथ र सहयोग पनि थियो । रविन्द्र अधिकारीले विद्यार्थी परिचयपत्रको आधारमा ३३ प्रतिशत छुटका लागी गर्नुभएको संघर्ष वास्तवमै प्रेरणादायी, प्रशंसायोग्य र अविस्मरणीय छ । राजाको निरंकुश शासनको बेलामा अधिकारीले गायक प्रवीण गुरुङको हत्याका विषयलाई लिएर दरबारविरुद्ध आवाज उठाउनुभयो । रविन्द्र अधिकारी विद्यार्थी आन्दोलनमा मात्र सीमित नभई सामन्तवादविरुद्धको आन्दोलनमा पनि सहभागी हुनुहुन्थ्यो । दरबारविरुद्ध आवाज उठाउनु तत्कालीन समयमा साहसी विषय थियो ।

Advertisement

समय क्रमसँगै रविन्द्र अधिकारी तत्कालीन एमाले कास्की सचिव हुँदै २०६४ सालको पहिलो संविधानसभा चुनावमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । संविधानसभामा युवा नेताको उपस्थितिले कास्कीका आमजनता उत्साही थिए । पहिलो संविधानसभामा निर्वाचित भएपछि अधिकारीले कास्कीको विकास निर्माणसम्बन्धी छलफल र बहसको थालनी गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रमा सहज रूपमा यातायात, खानेपानी लगातका विकास निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउनुभयो । विडम्बना, पहिलो संविधानसभा संविधान नबनाइकनै विघटन भयो ।

रविन्द्र अधिकारी विद्यार्थी आन्दोलनमा मात्र सीमित नभई सामन्तवादविरुद्धको आन्दोलनमा पनि सहभागी हुनुहुन्थ्यो । दरबारविरुद्ध आवाज उठाउनु तत्कालीन समयमा साहसी विषय थियो । दोस्रो संविधानसभा चुनावमा उहाँले पहिलो संविधानसभा चुनावपछि गरेका विकास निर्माण कामहरूलाई प्रशंसास्वरूप जनताले पुनर्निर्वाचित गराए । दोस्रो संविधानसभामा उहाँ विकास समिति सभापति हुनुभयो । विकासबारे मुलुकभरि बहस सिर्जना गराइदिनुभयो । देशभित्र हुने विकासका सभा गोष्ठीहरूमा उहाँ नै प्रमुख वक्ता हुनुहुन्थ्यो । दोस्रो संविधानसभा अवधिभर रविन्द्र अधिकारी विकासवादी नेताका रूपमा स्थापित हुनुभयो ।

दोस्रो संविधान सभाबाट नेपालको संविधान पनि बन्यो । यस अवधिमा भारतले लगाएको नाकाबन्दीका विरुद्ध अधिकारी खरो रूपमा उभिनुभयो । संविधान जारी भएसँगै मुलुकभित्रको संक्रमणकाल लगभग अन्त्य भएको छ । देश अहिले आर्थिक समृद्धिको दिशातर्फ उन्मुख छ । यसै सन्दर्भमा रविन्द्र अधिकारीले लेख्नुभएको पुस्तक समृद्ध नेपाल पठनीय छ ।

अधिकारी फरक पार्टीका आशालाग्दा नेताका रूपमा हुनुहुन्थ्यो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमाले र माओवादीको गठबन्धन बन्यो । गठबन्धनपश्चात् उहाँको चुनावी अभियानमा हिँड्ने अवसर पंक्तिकारलाई मिल्यो । यस अवधिमा सहज, सरल र मिलनसार व्यक्तित्व भएको प्रत्यक्ष अनुभव भयो । चुनावी सभामा सम्बोधन गर्ने क्रममा उहाँले मुलुकको अहिलेको अवस्थाबारे चिन्ता प्रकट गर्दै विशेषगरी युवाहरूलाई मुलुकको विकास निर्माणमा सक्रिय सहभागी हुन आग्रह गर्नुहुन्थ्यो । असमानता र विभेदका विरुद्ध आफ्ना दृष्टिकोणहरू स्पष्ट राख्नुहुन्थ्यो । प्रतिनिधिसभाको चुनावमा विजय भएपछि जनताको घरघरमा पुग्नुभयो । अनि जनता खुशी भए ।

उहाँको जोश, जाँगर र भिजन देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभयो । पटक पटक काम रोकिएको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल अब छिट्टै निर्माण हुनेमा कस्केली सबै आशावादी छन् । मन्त्री बनेपछि त्रिभुवन विमानस्थलमा थुप्रै सुधारका काम भएका छन् । यस अवधिमा गौतम बुद्ध विमानस्थल सिमरामा द्रुत गतिमा निर्माण भइरहेको छ । पयर्टन क्षेत्रमा पनि उल्लेख्य प्रगति भइरहेको छ । आशा गरौं, सरकारले भिजिट नेपालको लक्ष्यलाई निरन्तरता दिनेछ ।

फागुन १५ गते पोखराको आकाशमा बिहानदेखि नै कालो बादल मडारिइरहेको थियो । सिमसिम पानी परिरहेको थियो । अचानक मध्याह्नमा पोखरेली जनसमुदायलाई स्तब्ध बनाउने खबर आयो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी ताप्लेजुङको पाथीभरानजिकै हेलिकप्टरबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा पर्नुभयो । उक्त दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र सेनाका जवान अर्जुन घिमिरे लगायतको निधनको खबर आयो ।

यतिबेला कास्कीले धेरै आशा र भरोसा गरिएका जनताका असल नेता गुमाएको छ । भौतिक रूपमा नरहेपछि उहाँका सपना हाम्रा योजना बन्नुपर्छ । उहाँका अभीष्ट र उद्देश्य कार्यान्वयनमा इमान्दारीपूर्वक लाग्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ ।

जीवनको अन्तिम समयमा पनि चुहानडाँडामा उहाँ विमानस्थलबारे सरकारका धारणा राख्दै हुनुहुन्थ्यो । यसरी मृत्युको क्षणसम्म पनि खट्ने मन्त्री अधिकारी मुलुकको विकास निर्माणप्रतिको प्रतिबद्धता प्रस्ट बुझ्न सकिन्छ । मन्त्री अधिकारी राष्ट्रका लागि आफ्नो दलभन्दा पनि माथि उठ्न सक्ने व्यक्ति हो । उहाँ अध्ययनशील, बौद्धिक र स्पष्ट वक्तासँगै दृष्टिकोण भएको नेता हो । वर्तमान युवा नेताहरूले उहाँबाट धेरै विषय सिक्न जरूरी छ । नेपाली राजनीतिमा युवाहरूको हस्तक्षेपकारी भूमिकामा मन्त्री अधिकारीको योगदान अविस्मरणीय छ ।
अल बिदा, रवीन्द्र दाइ !

तपाईको प्रतिक्रिया