रोल मोडेल नेता

समाधान संवाददाता २०७५ फागुन १८ गते ९:३०

प्रदीप पौडेल

हामीले बुधबार नेपाली राजनीतिमा आँटिला, सरल र आत्मीय नेता एवं पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई गुमायौं । विद्यार्थी राजनीतिमा विद्यालय, क्याम्पस तह हुँदै केन्द्रमा आफ्नै क्षमता र योग्यताको आधारमा केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गर्नुभयो ।

विद्यार्थी राजनीति गर्दै आएको नाताले पनि हामी रविन्द्रलाई विद्यार्थी हकहितका विषयलाई प्रभावशाली रुपमा उठाउँने नेताको रुपमा स्मरण गर्छौ । विद्यार्थीहरुलाई यातायातका साधनमा छुट दिलाउँनेदेखि विद्यार्थीका हकहितका मुद्दाका लागि अधिकारी समर्पित नाम हो । विद्यार्थीको हकहितका लागि उपलब्धि दिलाउने नेताका रुपमा अधिकारीको नाम अग्रपंक्तिमा आउँछ । गायक प्रवीण गुरुङलाई पारसको गाडीले किचेर मार्दा कारवाही हुनुपर्छ भनेर प्रश्न उठाउने व्यक्ति नै अधिकारी हुनुहुन्थ्यो । अनेरास्ववियुका नेताको हैसियतले उहाँले क्षतिपूर्ति दिनुपर्छ भनेर नेतृत्व नै गर्नुभयो । खुलेआम लाग्नुभएको उहाँको जुझारुपूर्ण अग्रसरतालाई हामी अझै सधैं सम्झिरहनेछौं ।

Advertisement

त्यस्तै, विद्यार्थीहरुलाई सवारी साधनमा छुट दिलाउनका लागि कडाईका साथ यो नियम लागू गराउने सबैभन्दा ठूलो श्रेय उहाँलाई जान्छ । विद्यार्थीलाई छुटका लागि उहाँ धेरै नै भिड्नुभयो । अखिल फुटेको बेला रचनात्मक काम गरेरै उहाँले धेरैको मन जित्नुभयो । नयाँ कार्यक्रम ल्याएर अखिललाई सशक्त बनाउँदै विद्यार्थी राजनीति गर्नेले के गर्नुपर्छ भनेर उहाँले आफ्नोमात्र होइन अरु संगठनलाई पनि धेरै कृुरा सिकाउनुभएको थियो । विद्यार्थी राजनीतिमा हामीले सँगै पनि सडकमा आन्दोलन ग¥यौं । यस्तोमा हामीलाई उहाँसँग घुलमिल हुन गाह्रो परेन । किनकी उहाँ सरल, भद्र र शिष्ट रुपमा प्रस्तुत हुनुहुन्थ्यो । संसदमा पनि विकास समितिको अध्यक्ष हुँदा विकासवादी नेताको छवि बनाउनुभयो ।

विद्यार्थी राजनीतिमा तल्लो तहदेखि नै संगठनमा लागेर केन्द्रसम्म स्थापित हुँदा उहाँले भूगोलदेखि केन्द्रसम्मै राजनीति गर्ने साँच्चै विद्यार्थी नेता हुनुहुन्थ्यो । अरु नेता अवसर पाएर विद्यार्थी राजनीतमा छिर्ने गरे पनि उहाँ संगठनकै बलमा विद्यार्थी राजनीति हुँदै केन्द्रसम्मै उदाउनुभयो ।

Advertisement

यसैले हामी अलग दलको संगठनमा रहेर पनि अधिकारीलाई शिष्ट, सरल र आत्मीय नेताको रुपमा लिन्थ्यौं, लिन्छौं । हामीलाई पनि फरक संगठनको हो भनेर अलग व्यवहार देखाउँने काम उहाँले कहिल्यै गर्नुभएन । जहिले पनि स्वस्थ रुपमा प्रस्तुत हुने शैलीले गर्दा उहाँको व्यवहारलाई हामीले जहिल्यै सहज रुपमा स्वीका¥यौं । तल्लो तहदेखि राजनीतिमा उदाउँदै केन्द्रसम्म प्रभाव पार्दै योग्यता देखाउनु भएका अधिकारी पोखरा आसपासको रोडमोडल नेताको परिचित हुनुहुन्थ्यो । गाउँघरको परिवेशबाट आएर नेतृत्व तहमा पुग्ने कुराले पनि उहाँ सफल नेता हो भन्ने पर्याप्त आधार हुन् । अल्पायुमै निधन नभएको भए अझै बढी राम्रा काम गरेर प्रभाव पार्ने सम्भावना उहाँमा थियो । सहजै घुलमिल हुने सरल र आत्मीय नेता अधिकारीप्रति हार्दिक श्रद्धान्जली ।

तपाईको प्रतिक्रिया