डिपो र कण्डमको अभाव

समाधान संवाददाता २०७५ फागुन १९ गते ९:२०

रासस

सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको छ । 

स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा महिलाले प्रत्येक तीन महीनाका लागि अस्थायी साधनको रूपमा लगाउने गरेको डिपो खोप र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव हुँदा नचाहँदानचाहँदै महिलाले गर्भधारण गर्नुपर्ने जोखिम बढेको छ । 

Advertisement

कण्डम, पिल्सजस्ता अरू पनि अस्थायी साधन भए पनि परिवार नियोजनका लागि अधिकांश दम्पतीले डिपोको प्रयोग गर्दै आएका छन् । सुखीपुर क्षेत्रमा हरेक ३ महीनामा १ हजार २ सय ५ महिलाले डिपो र प्रतिमहीना २ सयभन्दा बढी पुरुषले कण्डम प्रयोग गर्दै आएको स्वास्थ्य चौकी सुखीपुरले जनाएको छ । 

एक महीनाअघि नै डिपो सकिएपछि आफूले नआएसम्मका लागि पसलबाटै खरीद गरेर कण्डम प्रयोग गर्न सल्लाह दिएको स्वास्थ्य चौकी सुखीपुरका प्रमुख भुपेश रतन यादवले बताउनुभयो । डिपो र कण्डम खरीद गरी आपूर्ति गर्न स्थानीय सरकारलाई आग्रह गरेको र छिट्टै आपूर्ति गर्ने प्रतिबद्धता आएको प्रमुख यादवको भनाइ छ । 

Advertisement

नवविवाहिता बाहेकका अधिकांश महिलाले कण्डम र चक्कीको साटो डिपो खोप लगाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । कण्डम बालबालिकाले भेट्ने, फुक्ने र कण्डम प्रयोग गरेको घरपरिवारका सदस्यले थाहा पाउने भएकाले लोकलाजका कारण महिला र पुरुष कण्डमको साटो डिपोप्रति आकर्षित भएका छन् ।

एक पटक लगाए ३ महीना ढुक्क हुने भएकाले पछिल्ला दिनमा धेरै दम्पतीको रोजाइ डिपो हुने गरेको छ । 

तपाईको प्रतिक्रिया