मेला महोत्सव

समाधान संवाददाता २०७५ फागुन १९ गते ९:४१

हाट, मेला, महोत्सव र प्रदर्शनी हाम्रा परम्परा हुन् । समय अनुसारचाहिँ तिनको स्वरुप भने फरक भइरहेको छ । मेला र महोत्सवहरुले बजार सिर्जना गर्छन् । उत्पादनलाई मूल्य दिन्छन् । सेवालाई मूल्य दिन्छन् । कला संस्कृतिले पनि प्रवद्र्धित हुने मौका पाउँछ । सिटी रेबान पोखराको महोत्सव आज आइतबारदेखि प्रदर्शनी केन्द्र पोखरामा सुरु हुँदैछ । यो महोत्सव पनि कला संस्कृति प्रवद्र्धन र बजार विस्तारको एउटा कडी हो । मेला महोत्सवले आर्थिक गतिविधि बढाउँछन् । अर्थतन्त्र चलायमान बनाउँछन् । सिटी रेबान महोत्सवले रेस्टुरेन्टका परिकारको मात्रै बजार विस्तार गर्दैन । आखिर रेस्टुरेन्टका परिकार बन्ने भनेको किसानका उत्पादनले हो । बजार विस्तार हुँदै गर्दै गाउँको उत्पादनले ठाउँ पाउने हो । बजार पाउने हो । मूल्य पाउने हो ।

धेरै महोत्सवको तौरतरिका र प्रस्तुतिहरु एउटै एउटै र उस्तै उस्तै हुनुचाहिँ कमजोरीका रुपमा देखिन्छ । महोत्सव आयोजकहरुले सिजर्नशीलता, सांस्कृतिक प्रस्तुति र मौलिकपन खोज्नुपर्छ । त्यसमा सिटी रेबान महोत्सवका आयोजकले पनि ध्यान पु¥याउन जरुरी छ । जस्तो कि ढिडो खाने प्रतियोगिता सिटी रेबान महोत्सवको एउटा छुट्टै विशेषता छ । यसले एकातिर नेपाली खाना प्रवद्र्धन गरेको छ भने अर्काेतिर अरु महोत्सवभन्दा भिन्न पनि बनाएको छ । ‘होटेल व्यवसाय र पर्यटन प्रबद्र्धन’ विषयक छलफल सान्दर्भिक छ । त्यसबारे पर्यटन प्रवद्र्धनका उपाय खोजी गर्न बाटो पहिल्याउन मद्दत पुग्नेछ । यो पनि एउटा सिर्जनशीलता हो । रेस्टुरेन्ट र बारहरुको महोत्सवमा सीमित नराखी हस्तकक्षा प्रवद्र्धन गरिनु पनि यो महोत्सवको अर्काे सबल र सुन्दर पक्ष हो ।

व्यावसायिक रेस्टुरेन्टहरुले खानाको हाइजिनमा अझै स्तर उकास्दै लैजान जरुरी छ । किचनका उपकरणहरुको स्तरवृद्धि अर्काे आवश्यकता हो । दक्ष जनशक्ति जताततै हुँदा त्यसको असर रेस्टुरेन्ट र बारहरुमा झन् देखिन्छ । सिटीरेबान जस्ता संस्थाले व्यवसायीहरुको हितसँगसँगै तालिम दिएर दक्ष जनशक्ति उत्पादनमा पनि लागिपर्नु उत्तम हुन्छ । जस्तो हालैका दिनमा सिटीरेबानले भान्छा व्यवस्थापन तालिम आयोजना गर्‍यो । उक्त कार्य सह्रानीय रह्यो । दक्ष जनशक्ति विदेश पलायन भइहाल्ने प्रवृत्ति पनि छ । उनीहरुलाई रोक्न पारिश्रमिकको वृद्धि, स्वास्थ्य बिमा, सञ्चयकोषको व्यवस्था लगायत सुविधा हुनसक्छन् । घर परिवारसँगै बसेर सामाजिक सुरक्षासहितको जागिर पाएको युवा पैसैका लागि भनेर मरिहत्ते गरी विदेशिन्न । मेला महोत्सवको आम्दानी सामाजिक काममा लगाउनु राम्रो हुँदै हो । आफ्नै क्षेत्रको थप सुदृढीकरण र मानवसंसाधनको विकासमा लगाउँदा त्यसले झन् बेसी राम्रो हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया