रवीन्द्रको सम्झनामा विक्षिप्त जामुनबोट, स्तब्ध सहपाठी

समाधान संवाददाता २०७५ फागुन १९ गते १२:१३

फाइल तस्बिर

अमृत सुवेदी

पोखरा एयरपोर्ट, घारीपाटन, ढुंगेसाँघु, भगवती चौतारा हुँदै गाडीमा २५ मिनेटमै पुगिन्छ, गैरी गाउँ । गैरी गाउँको थाप्लोबाटै देखिने जामुनबोट पुग्छ त्यहाँबाट ५-७ मिनेटमात्रै लाग्छ । जामुनबोटमा एउटा ढुंगाले छाएको घर छ ।

मान्छे नियमित बस्न छाडेपछि घरमा झार पलाएका छन् । भित्ताको रङ खुइलिएको छ । त्यो घर हो, बुधबारमात्र हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको । यतिबेला जामुनबोट र गैरी गाउँवासीको मन पनि त्यही घरजस्तै खुइलिएको छ । सिंगो गाउँले रित्तोरित्तो महसुस गरिरहेको छ । गाउँलेको मन खङग्रङ्ग भएको छ । जब अधिकारीको ज्यान गएको खबर गाउँसम्म पुग्यो, गाउँ निशब्ध बन्यो । न वाक्य फुट्छ न हातगोडा चल्छन् ।

Advertisement

बुधबार दिनभरि बादल लागिरह्यो । पानी पर्ने–रोकिने क्रमले दिनैभरि चलिरह्यो । सधैं खेतबारिमा हुने किसान घरमै थिए । गाउँमा त्यति तन्नेरीहरु छैनन् । अधवैंशेका आँखा फेसबुकतिर र बुढाबुढीका आँखा टिभीका स्क्रिनमा घुम्दै थिए । फेसबुकमा आँखा डुलाउँदै गर्दा निशा आचार्यले पोखराबाट आफ्नै श्रीमानले राखेको पोस्ट देखिन्, ‘रवीन्द्र अधिकारी चढेको हेलिहप्टर सम्पर्कविहीन । हे भगवान उहाँलाई केही नभइदिओस् ।’

निशाको मनमा चिसो पस्यो । उनले गाउँतिर बुझिन् । अरुले टिभीमा यो खबर थाहा पाइसकेछन् । ‘बजारमा रहेकालाई फोन गर्ने, गाउँले जग्मा हुने, मुखामुखमात्रै गर्न सक्यौं,’ निशाले भनिन्, ‘जब हाम्रो गाउँको एकमात्र आशाको नेता ढलेको खबर आयो । डाँको छोडेर रोयौं ।’
जब रवीन्द्रको मृत्युको खबर आयो स्कुलमा सँगै पढेका प्राणनाथ आचार्यको मनमा सुईं…य गरेर केही पस्यो । ‘आङ सिरिंग भयो । शरीरभित्र केही पसे झैं भयो,’ आचार्यले भने, ‘प्राविसम्म सँगै पढ्यौं । हामी सँगै नांगै दौडिएका छौं । लेकवेशी गरेका छौं । उहाँ गाउँको एकमात्र नेता त हुँदै हो देशकै होनाहार योद्धालाई गुमाउनुपर्दा । बोल्ने शब्दहरु नै छैनन् ।’

Advertisement

रवीन्द्रको मृत्युको खबरले सिंगो गाउँ रोइरहेको निशाले बताइन् । ‘न खान मन लाग्छ न केही काम गर्न । आँखामा उनैको तस्बिर घुमिरहेको छ,’ निशाले सुनाइन्, ‘गाउँ नै निशब्द छ । हामीले अझै पत्याएकै छैनौं ।’
रवीन्द्रका बाआमा गाउँलेका साथी थिए । रवीन्द्रकी आमा जुन आमा समूह संस्थापक अध्यक्ष थिइन्, त्यसैको कार्यवाहक अध्यक्ष छिन्, निशा । बुवाआमा गाउँ भइन्जेल बेलामौका गाउँमा पुग्थे रवीन्द्र । बुवाआमा पोखरा झरेपछि गाउँ जान उतिसाह्रो भ्याउँदैनथे । ३ दिन अघिमात्र गाउँ नजिकैको स्कुलको उद्घाटनमा पुगेका रवीन्द्र आफ्नै घरको आँगन टेक्ने समय पाएनन् ।

‘अस्ति गाउँनजिकैको स्कुलको उद्घाटनमा आउँदा यसपालि समय नमिले पनि छिट्टै आउने बाचा गर्नुभएको थियो रे । अब कहिल्यै घर–गाउँको आँगनै नटेक्ने गरी बिदा भए,’ उनका बालसखा प्राणनाथले भने, ‘यो खबरले मुटु नै चुँडिएको छ ।’

रवीन्द्रले गाउँको समस्या र विकास निर्माणमा जहिल्यै पनि अगुवाइ गरे । स्कुले जीवनमै उनले राजनीति थाल्दा गाउँ बनाउनुपर्छ है भनेको सम्झन्छन्, कृष्ण भण्डारी । ‘सानैदेखि केही गर्नुपर्छ भन्थे, सबलाई हसाउँथे आज रुवाउन रहेछ,’ बालसखा कृष्णले भने ।
उनको निधनले निर्वाचन क्षेत्रमा ठूलो क्षति पुगेको शिव आचार्यले बताए । ‘रवीन्द्रको निधनले सिंगो गाउँ शोकमा त छँदै छ, अब यहाँको विकासको गतिसमेत रोकिने भयो,’ अधिकारीको जन्म गाउँ पर्ने पोखरा वडा नम्बर ३३ का अध्यक्ष शिवले भने, ‘रवीन्द्रजस्तो नेता अब यो क्षेत्रले पाउने छैन ।’

गाउँदेखि पोखरा पृथ्वीनारायण क्याम्पससम्म आन्दोलनमा साथमै हिँडेका रामजी अधिकारीको भक्कानो अझै रोकिएको छैन । उनीहरु ६ देखि १० कक्षासम्म सँगै पढे । रवीन्द्रले मूल राजनीतिको जग हाल्नको साक्षी हुन्, रामजी । भन्छन्, ‘शान्ति उदय माविमा हामी ६ देखि १० सम्म सँगै पढ्यौं । उनले त्यही समयमा राजनीति थाले, म उनको एजेन्डामा होस्टेमा हैंसे गरेर हिँडे,’ रामजीले भने, ‘देशकै प्राधानमन्त्री बन्ने छन् भन्ने ठूलो आशा थियो । हामीलाई रुवाउँदै आशाको दियो निभ्यो ।’

गाउँमा तातेताते गर्दादेखि अहिलेसम्मको यात्राका सहपाठी धनराज आचार्य अझै बोल्न सक्ने अवस्थामा छैनन् । उनको मन विक्षिप्त छ र अझै खुलेर बोल्न सक्ने अवस्थामा छैनन् । भरतपोखरी गैरीगाउँदेखि हालसम्म सुखदुखमा दुवैजना सँगै भेटिन्थे । आचार्यले बुधबार आफू विक्षिप्त भएकाले फोन नगर्न सामाजिक सञ्जालमार्फत अपील नै गरे ।
बिहीबार पनि उनले रवीन्द्रलाई सम्झिँदै लेखे, ‘तपाईंको तस्बिर राखेर श्रद्धाञ्जली छ भन्ने हिम्मत छैन मेरो, रवीन्द्र सर !! ताते ताते हिँड्ने बेलादेखि हिजो बिहान साढे ९ बजेको अन्तिम सम्वादका लाखौ स्मृतिले विक्षिप्त बनायो । कसरी विश्वास गरुँ सर अब हाम्रो भेट कहिल्यै हुँदैन भनेर ?’

गाउँले र उनका सहपाठीका अनुसार रवीन्द्र सानैदेखि सरल, मिजारिलो थियो । विलासी जीवन र सुखभन्दा पनि जोखिम मोल्न सक्ने र समयअनुसार चल्न सक्ने नेताका रुपमा उनका सहपाठीले लिएका छन् ।
रवीन्द्रको मृत्युको खबरले व्यवस्थापन संकायमा स्नातकोत्तर सँगै पढेका विश्व अधिकारी निशब्द भए । उनीहरु एउटै बेञ्चमा बस्थे । रवीन्द्र स्ववियु सभापति भइसकेका थिए । विश्व राजनीति गर्थेनन् तर रवीन्द्र इतरको पार्टीमा आस्था राख्थे । ‘हामी बेच्चर थियौं । उहाँ राजनीथि गर्थे, हामी गर्थेनौं,’ अधिकारीले भने, ‘जब राजनीतिक र शैक्षिक एजेन्डा एकैपटक प्रशासनमा पुग्थ्यो । उनले राजनीतिक एजेन्डालाई पछि सारेर पहिले शैक्षिक एजेन्डालाई बढाउँथे । हामी एउटै बेञ्चर भयौं तर उनको नेतृत्वमा पढाईंमा कहिल्यै अवरोध भएन ।’

अर्को राजनीतिक आस्था भएको व्यक्तिलाई पनि कसरी मिलाउने, स्ववियुलाई कसरी सिर्जनात्मक बनाउने र प्राध्यापक तथा विद्यार्थीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने नमुना रवीन्द्रले देखाएको विश्वले बताए ।
‘कतिसम्म भने विद्यार्थी आन्दोलनमा उनी रातभरसमेत लुक्नुपथ्र्यो । कुनै दिन राती हाम्रो कोठमा आइपुग्थे, हामी खाटमा सुतिरहेका हुन्थ्यौं । उनी गुन्द्रीमा सुत्थे,’ अधिकारीले भने, ‘यस्ता असल र सादगी मित्र गुमाउनु पीडाको छटपटी छ ।’

विश्व बैंकको सिइओ भए, अधिकारी राजनीतिक सिँडी चढ्दै गए । तर, रवीन्द्रले साथीभाइको विज्ञतालाई प्रयोग गर्न सक्ने क्षमता भएको उनले बताए । ‘म बैंकिङ क्षेत्रमा थिएँ । उहाँ लेखा समितिको सभापति । अनि उहाँले बैंकिङ क्षेत्रका कुरा केके हुन्, मिटिङ राख्नुस्, म आउँछु भनेर ज्ञान लिएर जानुहुन्थ्यो,’ विश्वले भने ।

रवीन्द्रको निधनले उनको गाउँ, निर्वाचन क्षेत्र, जिल्ला, सहपाठी र शुभचिन्तकलाई ठूलो चोट पु¥याएको बताइरहेका छन् । देशको प्रधानमन्त्रीसमेत बन्नसक्ने सम्भावनाको नेताका रुपमा अधिकारी लाई कस्केलीले हेरेका थिए । अहिलेसम्म दह्रो लिडर नपाएको अवस्थामा कस्केलीले रवीन्द्रलाई त्यो ठाउँमा देख्न चाहेका थिए ।

अधिकारीले हरेक राजनीतिक जिम्मेवारीलाई कुशलता पूर्वक सम्पादन गरेका थिए । रवीन्द्र लोकप्रिय भएकै कारण उनले कास्कीबाटै तीन पटकसम्म लगातार चुनाव जितेका थिए । पर्यटनमन्त्री भएपछि अधिकारीले थुप्रै काम गर्छु भनेका थिए । पछिल्लो समय केही आरोप लाग्दा अधिकारीले गृह जिल्ला आएर कामबाटै सत्य बाहिर ल्याउने बताएका थिए । तर, त्यो सत्य बाहिर ल्याउन नपाउँदै अधिकारीलाई मृत्युले चुड्यो र कस्केली यतिबेला स्तब्ध बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया