स्वास्थ्यमा सचेत थिए रवीन्द्र: डा‍‍. थापा

समाधान संवाददाता २०७५ फागुन २० गते ८:०३

डा. बुद्धिबहादुर थापा

जब एउटा व्यक्ति पदमा पुग्छ तब उसका अगाडि पछाडि स्वार्थको लस्कर लाग्छ । पद र शक्ति अघि–पछिको सम्बन्ध लामो हुँदैन । मनले सम्झँदैन । पद र शक्तिमुक्त भएसँगै सम्बन्ध सकिन्छ । समाजमा त्यस्ता थुप्रै उदाहरण हामीले देखेका छौं । पद र शक्ति हुँदा ज्यू, हजुर गर्ने तर त्यो नहुँदा एक्लै भएका नजीर हामीमाझ छन् । स्वार्थसहितको सम्बन्ध आत्मीय हुँदैन । आत्मीय हुन आफ्नो महसुस हुनुपर्छ । आफ्नो हुनका लागि धेरै कुराले अर्थ राख्छ । हाइहेलो वा चिनजान हुनु आत्मीय हुनु होइन ।

एउटै व्यक्ति यति धेरै मान्छेसँग यसरी पनि आत्मीय हुनसक्दो रहेछ भन्ने उदाहरण हुन्, पर्यटनमन्त्री रवीन्द्र अधिकारी । जब उनको निधन भयो । म स्तब्ध भएँ । १ जना आत्मीय गुमाएको पीडाबाट गुज्रिएँ । सम्बन्धका हरेक आयाम हुन्छन् । व्यक्ति ज्यँुदो छँदा कस्तो सम्बन्ध बाँचेको छ, मनमा त्यस्तै पीडावोध हुने हो । रवीन्द्र मेरो मनमा यति गहिरोसँग बाँचेका रहेछन् भन्ने महसुस उनको निधनपछिको पीडाले अझ बढी वोध गरायो । जसरी मैले पीडावोध गरें, त्यस्तै पीडा देशैभरि पोखियो । पोखरामा त सागरै उर्लियो ।

Advertisement

ज्युँदो छँदा सकेसम्म स्वार्थ पूरा गर्ने, नसके तिरस्कार गर्ने र मरेपछि देवत्वकरण गर्ने संस्कार मौलाउँदै गइरहेको छ । यही समाजमा म छु । र, यही समाजमा रवीन्द्र पनि बाँचेका थिए । तर, उनी धेरैको मनमा बाँचे । धेरैको सुखदुखसँग बाँचे । यो भूमिका किन बाँधेको हो भने सबै व्यक्ति धेरैको हृदयमा यसरी बसेका हुँदैनन् । हृदयमा बस्नका लागि हृदय छोएको हुनुपर्छ । प्रिय नेता रवीन्द्र तिमीले यति धेरैको हृदयलाई छोएका रहेछौं ।

उनको निधनपछि म बोल्न र केही व्यक्त गर्न सक्ने अवस्थामा थिइनँ । म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामले काठमाडौंमै थिएँ । रवीन्द्रसँग भेट्ने कुरा थियो । तर, एक्कासी हेलिकोप्टर हराएको खबर मेरो कानमा ठोक्कियो । तब म नराम्रोसँग पीडामा टोक्किएँ र मनमनै कामना गरें, प्रिय रवीन्द्र तिमीलाई यो समयमा केही हुने छुट छैन । तिमी सकुशल हुनेछौ र भोलि हाम्रो भेट हुने छ । तर मेरो कामना काम लागेन । कामनाभन्दा उल्टो खबर सुनेंपछि म भुईंमा थचक्क बसें । ठिकै छ भेट हुन पाएन तर एक पटक काठमाडौंमै १ थुंगा फूल तिम्रो नाममा चढाएर फर्कौंला भन्ने सोचेको थिएँ । मौसमले उद्दारमा ढिलाइ भएपछि म पोखरा फर्कें ।

Advertisement

पोखरा फर्केपछि पनि अझै रन्थनिएको छु । हाम्रो चिनजान हुँदादेखि अहिलेसम्मको भेटघाट र कुराकानी सम्झिरहेको छु । अझै पनि लाग्छ, तिमीले फोन गर्नेछौ र सोध्नेछौ, मलाई यस्तोयस्तो स्वास्थ्य समस्या देखिएको छ म के गरौं ? जब म वास्तविकतामा फर्किन्छु फेरि म एकचोटी पीडामा डुब्छु । कुनै व्यक्तिको निधन भएपछि मान्छेले अनेक उपमा र सम्बन्ध जोडेर कुरा गर्छन् । तर, म त रवीन्द्रको सानोभन्दा सानो स्वास्थ्य समस्यामा पनि सरिक थिएँ । २०४२ सालदेखि म उनको स्वास्थसँग सम्बन्धित थिएँ । स्वास्थयसँग मात्रै सम्बन्धित रहिनँ, सुखदुख र जीवनसँग पनि सम्बन्धित रहें । उनीसँग त्यतिबेलादेखि सम्बन्ध जोडियो जतिबेला उनी भर्भराउँदो युवा त थिए तर लोकप्रिय ठूलो कुनै पदमा थिएनन् । पछिबल्ल उनी स्ववियु सभापति हुँदै राजनीतिक रुपमा अगाडि बढ्दै गए ।

गण्डकी मेडिकल कलेजमा म मेडिकल अधिकृत भएर आएपछि पृथ्वीनारायण क्याम्पस नजिकै एउटा क्लिनिकमा पनि सेवा दिन्थें । पिएनका विद्यार्थीलाई सहुलियतमा ५ रुपैयाँमा स्वास्थ्य जाँच गराउँथें । उनीसँग पहिलो भेट त्यहीं भएको हो । त्यसपछि रवीन्द्रले जहिले पनि मैसँग स्वास्थ्य गराए । कहिले उनी फोनबाट समस्या बताउँथे, मैले उपाय दिन्थें । २०४६ सालतिरको आन्दोलनमा उनी हिरासतमा परे । अञ्चलाधीशको स्वीकृतिबिना हिरासतमा स्वास्थ्य जाँच गराउन मिल्थेन । उनी लगायतले स्वास्थ्य जाँच गराउन मानेका थिएनन् । तत्कालीन अञ्चलाधीससँग डा. वुद्धिबहादुर थापाले जाँच गर्ने हो भनेमात्रै हुँन्छ भनेपछि हिरासतमै पुगेर जाँचें । त्यतिबेला सोमनाथ प्यासी, निलकण्ठजी, वुद्धिबहादुर कुँवर लगायत हिरासतमै थिए ।

२०६२÷०६३ को जनआन्दोलनमा रवीन्द्र, श्रीनाथ बराल, यज्ञबहादुर थापा, सोभियतबहादुर लगायत हिरासतमा हुँदा फेरि म पुगेर स्वास्थ्य जाँच गराएको थिएँ । त्यसयता जति पनि स्वास्थ्य समस्या पर्दा मैसँग उनी जचाउँन आउँथे । रवीन्द्र स्वास्थ्यप्रति सचेतमात्रै थिएनन् स्वास्थ्य क्षेत्र सुधार र गुणस्तरीय बनाउनुपर्छ भन्थे । तर, स्वास्थ्यसँग सचेत प्रिय नेतालाई लैजाँदा दुर्घटनाले सजिलै लगिदियो ।

उनी प्रत्येक पटक आउँदा सकारात्मक तरंग छोडेर जान्थे । केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । २०६४ र २०७० मा सांसद बनेर काठमाडौं पुगे । तर, उनले फोनमार्फत भए पनि सोधेर जानकारी लिए । मैले भन्थें, ‘सरकारले तोकेका चिकित्सक काठमाडौंमा छन्, उतै जचाउँनुस् भन्थें । उहाँ उनले होइन मेरोबारेमा सबै कुरा तपाईंलाई थाहा छ । त्यसैले तपाईंले नै हेरिदिनुपर्छ भन्थे ।

म प्रतिष्ठानको उपकुलपति भएपछि यसका विषयमा थुप्रै पटक मैले सहयोग लिएको छु । साँच्चिकै आफ्नो हुनुको अपनत्व उनमा थियो । उनी पर्यटनमन्त्री भएपछि पनि प्रतिष्ठानका विषयमा केन्द्रीयस्तरमा थुप्रै छलफलको सहजीकरण उनले गरे । त्यसका २ कारण छन्, एउटा मसँगको सम्बन्ध र अर्को पोखराको माया । हरेक पटक पोखराको स्वास्थ्य समस्याका विषयमा उनको चिन्ता र चासो हुन्थ्यो । रवीन्द्रले मप्रति देखाएको माया र विश्वासप्रति म सँधै अनुग्रहित रहें । पोखराबाट संस्थागत रुपमा कुनै समस्या लिएर काठमाडौं गए, उनी आफैं त्यसको नेतृत्व गर्थे र समस्या पल्टाउँथे ।

मैले सोंच्थे, नेता होस् यस्तो पो । जहिले भेट्दा पनि उनमा एकखालको गतिशीलता र जागरुकता देख्थें । विकास र जनताले पाउने सार्वजनिक सेवाको गुणस्तर बढाउन भूमिका खेल्थे । यस्तो नेता अब पोखराले कहिले पाउने ? रवीन्द्रसँग मजस्तै हरेक विधा र क्षेत्रका व्यक्तिले आफ्नो महसुस गर्थे । रवीन्द्र तिमीले कति गुन लगाएर कति मान्छेको मनमा बसेका छौं भन्ने कुरा देख्न पाएनौं । तिमीलाई सम्झिएर कसका आँखा रसाएनन् ? तिमीलाई सम्झेर भक्कानिएका जनसागर हामीले देख्यौं । प्रिय नेता सधैं हाम्रो ह्दयमा बाँचिरहने छौ । अलबिदा रवीन्द्र ।

थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्

तपाईको प्रतिक्रिया