शिवरात्रिको सच्चा उपवास

समाधान संवाददाता २०७५ फागुन २० गते ८:३४

ब्रह्माकुमारी इ. बिन्नी

शिवरात्रीको आगमनसँगै १ नयाँ उत्साह र खुसीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ । आसुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत बस्ने, शिवको मन्दिरमा गएर दूध, फूल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कयौंको मनमा आएको हुन्छ । एकातिर विज्ञान र टेक्नोलोजीको अभूतपूर्वक विकास भइरहेको छ भने अर्कोतर्फ मानवसभ्यता र नैतिकता धरासलमा परिरहेको छ । चाडबाड मनाउने तरिका, लगन, शोक र आस्थामा आएको भिन्नता किन सर्वमान्य भइरहेको होला ? हुन त हरेक सम्प्रदायमा मनाइने यी विभिन्न चाडबाडले मानिसलाई समयको परिर्वतन र माग अनुसार स्वयंप्रति, समाज र विश्वप्रति व्यक्तिले दिनसक्ने योगदानका बारेमा झक्झकाइरहेका हुन्छन् । तर मुल आध्यात्मिक भावलाई ननियालेर सतही रुपमा र रितिरिवाजका रुपमा मात्र मनाइरहँदा साधकको जीवनमा कुनै आमूल प्राप्ती र परिवर्तन नदेखिएका कारणले गर्दा पनि होला अहिलेका आधुनिक र शिक्षित युवा पिढीमा धर्म र संस्कृतिप्रतिको आस्था र लगन अझै घटिरहेका छन् ।

जीवनभरी जागृती ल्याएर यो जीवनका सार्थ कयौं जन्मलाई प्रकाशितपार्ने यो शिवरात्रि एउटा स्वर्णीम अवसर बन्न सक्छ ।

Advertisement

धार्मिक रितिरिवाज र चाडबाडले मानिसको कर्ममा कुशलता ल्याउन मार्गदर्शन गरिरहेका हुन्छन् भने ती पर्वहरु मनाइनुको पछाडि केही न केही वैज्ञानिक कारण पनि लुकेका हुन्छन् । आध्यात्मिकता, आन्तरिक शान्तिको गहन खोज र योग आफैंमा सर्वश्रेष्ठ विज्ञान हो र भौतिक विज्ञानको पनि सृजक हो । तर अहिलेको समयको विषमता के छ भने हरेक पर्व मनाउने तरिकामा विकृतिहरु पनि आएका छन् र क्षणिक रमणिकता , बाहरमुखता र तडकभडकलाई नै धेरै महत्व दिइएको पाइन्छ । सच्चा व्रत बसेर जीवनभरी जागृती ल्याएर यो जीवनका सार्थ कयौं जन्मलाई प्रकाशितपार्ने यो शिवरात्रि एउटा स्वर्णीम अवसर बन्न सक्छ ।

शिव शब्दले हाम्रो मानसपटलमा कहिले त आकारी तपस्वी शकंरको आकृती निर्माण गर्छ त कहिले पिण्डीकार ज्योतीर्लिगंम शिवको याद दिलाउँछ । शिवरात्रि पर्वको आध्यात्मिक रहस्य बुझ्नका लागि यी प्रश्नहरुको सही उत्तर जान्न जरुरी छ कि शिव को हुनुहुन्छ ? उहाँको स्वरुप कस्तो छ ? उहाँ कहाँ निवास गर्नुहुन्छ ? उहाँ कहाँबाट कहाँ अवतरित हुनुहुन्छ ? उहाँले कस्तो कर्तव्य गर्नुहुन्छ ? उहाँका जन्मदाता को होलान् ? शिव शब्द परमात्माको नै पर्यायवाची नाम हो र सबैभन्दा प्राचिन र उहाँबाट स्वउद्घोषित नाम हो । ‘शिव’ शब्दको अर्थ हुन्छ शुभकारी, कल्याणकारी, बिजरुप अर्थात् जो मनुष्य सृष्टिरुपि कल्पवृक्षको बिजरुप । स्वयंभू, पशुपतिनाथ, पापकटेश्वर, अमरनाथ आदि नाम उहाँकै कर्तव्यवाचक र गुणवाचक नाम हुन् । शिव परमात्मा ज्योति स्वरुप हुनुहुन्छ र अनन्त शक्तिको भण्डार हुनुहुन्छ । उहाँ सत्य र सुन्दर हुनुहुन्छ र सदाशिव हुनुहुन्छ । उहाँका शक्तिमा कहिल्यै ह्रास आउँदैन ।

Advertisement

सृष्टिको सर्वोच्च सत्ता परमात्मा शिवलाई कुनै पनि मात–पिताले गर्वमा धारण गर्न सक्दैनन् । परमात्माको संज्ञा उही हस्तिलाई दिन सकिन्छ जो सर्वधर्ममान्य हुन्छ र साधारण प्राणीले पार गर्ने प्राय चक्रहरुबाट जो अछुत रहनुहुन्छ । दुखसुख, लाभहानी, मानअपमान, जन्ममरणका चक्रमा उहाँ आउनुहुन्न । शकंरको शारीरिक आकृति एकातीर योगीको अलंकार हो भने अर्कोतिर परमात्मा शिवकै कर्तव्यलाई पुरुषीकरण ‘पर्सोनिफिकेसन या शिव’ गरिएको पनि हो । किन कि शिव र शकंरको नाम, निवास स्थान, कर्तव्य, स्वरुप सबै अलग देखाइएको छ । शंकरलाई नै शिवको संज्ञा दिएर फेरि वर्षौंको तपस्या पश्चात प्रचण्ड क्रोध प्रदर्शन गर्ने भगवान भनेर विरोधाभाषी कुराहरु शास्त्रमा उल्लेखित छन् ।

संसारभरी गरिएका प्राय वास्तु उत्खननका अनुसार पिण्डिकार शिवलिंग या यस्तै किसिमका प्रतिमाहरु अधिकतम स्थानहरुमा पाइएका छन् । परमात्मा न स्त्रिलिगं हुनुहुन्छ न त पुलिगं त्यसैले उहाँलाई यो तेस्रो नाम शिवलिंग दिइयो । उहाँ सृष्टिका सर्वआत्माहरु, धर्मात्मा, देवात्मा, महात्माहरुका पनि मात पिता हुनुहुन्छ । परमात्माको ज्याति स्वरुप संसारभरीका धर्म सम्प्रदायबीच स्वीकार्य छ । सनातन धर्ममा ज्योतिको प्रतीक ज्योर्तिलिंगमको रुपमा पुजिन्छ । ईसाइ धर्ममा इसाले परमात्मालाई ज्योतिको रुपमा परिचित गराउनुभएको छ । इस्लाम धर्ममा संग ए असवद नामको कालो पत्थरको प्रतिमा आस्थाको केन्द्र छ । जापानमा सेन्टोनिजम वर्गका बुद्धिस्ट धर्मावलम्बिहरुले चेनकोनसेकी नामक रातो पत्थरसँग ध्यान लगाउँने गर्छन् । यी सबै कर्मकाण्ड र अलंकारका पछाडि यही रहस्य लुकेको छ कि परमात्माको साकारी मनुष्यको तुलनामा साकारी स्वरुप छैन तसर्थ उहाँ निराकार हुनुहुन्छ । सूर्य, चन्द्रमा, तारागढ भन्दा पनि धेरै पर सुनौलो लाल प्रकाशको घर उहाँको मुलवतन हो । आज विज्ञानले पनि मानेको छ कि मानवमनमा ध्यान प्रक्रियामा त्यही छैठो तत्वबाट अथाह ऊर्जा आउँछ ।

सर्वशास्त्रमयी शिरोमणी भागवत गीतामा उल्लेख भए अनुसार कलियुगमा देखापरेका विकट परिस्थिति नै परमात्मा आगमनका कारण बन्छन् । परमात्मा अजन्मा, अकर्ता र अभोक्त हुनुका साथै अरुकै तनमा प्रविष्ट हुनुहुन्छ । जुन प्रक्रियालाई परकाया प्रवेश भनेर उल्लेख गरिएको छ । स्कन्ध पुराणको रेवा खण्डमा भनिएको छ कि भगवान् बुढो ब्राम्हण तनमा आउनुभयो र सदगतिको मार्ग बताउनुभयो । त्यसैगरी शिव पुराणमा भनिएको छ, स्वयं निराकार परमात्मा प्रकट भएर ३ मूर्तीहरु उत्पन्न गर्नुभयो र पहिलो मूर्ती ब्रह्मालाई नयाँ सृष्टि उत्पन्न गर्ने कार्य सुम्पिनुभयो । कुरान शरीफमा भनिएको छ कि हर ५ हजार वर्षपछि जब कयामतको समय आउँछ तब भगवान यस धर्तीमा आएर कब्रगाह आत्माहरुलाई फरिश्ता बनाएर आफूसँगै लैजानुहुन्छ । खुदा अर्थात् खुद आउने वाला । यी सबै ग्रन्थका महावाक्यले यही पुष्टि गरिरहेको छ कि परमात्मा साधारण मानवीय तनमा आएर सृष्टिलाई अज्ञान, अन्धकार र तमोप्रधानताबाट निकालेर स्वर्णिम युग बनाउने अभियानमा हुनुहुन्छ । उहाँको यही दिव्य कर्तव्यको स्मरणेत्सव त शिवरात्रि हो ।

रात्रि अर्थात् त्यो घोर अज्ञानताको समय जब आत्माको ज्ञान संसारबाट गायव भएको थियो । मानव पूर्ण रुपले भौतिकवादी भएका थिए, उनीहरुको मन र आचरण र निकै प्रदूषित भएका थिए । शान्ति र आनन्दको चाहना हुँदा हुँदै पनि मानिस दुखी, अशान्त र व्याकुल भएका थिए । प्रकृतिमाथि विजय प्राप्त गर्ने अभिलाशासँगै प्रकृतिमाथि अत्याचार भइरहेको थियो । पृथ्वीको जनसंख्या विस्फोट भइरहेको थियो तर अनाजको उत्पत्ति प्रयाप्त वृद्धि भइरहेको थिएन । भौतिकताले सम्पन्न भएता पनि डर, दुस्मनीको वातावरण जताततै भएकोले मानवमनमा शान्तिको तीव्र इच्छा थियोे । सृष्टि चक्रको इतिहासमा हामी त्यो बिन्दुमा छौं जब परमात्मा अवतरित भएर आसुरी समाजलाई परिवर्तन गरेर इश्वरीय समाज स्थापना गराइरहनुभएको छ । यही त्यो समय हो जब तनाव सबैको जीवनको साधारण कुरा भएको छ र आत्माहत्या र मृत्युदर दिनप्रतिदिन बढिरहेका छन् । मानव मनको प्रदूषणसँगै वातावरणीय प्रदूषण पनि चरम सीमामा पुगेका छन् । अन्तर्राष्ट्रिय स्तरमा राष्टका बीचमा तनाव चर्कदो छ । परमाणु युद्धको सम्पूर्ण तयारी भइसकेको छ । त्यसैले यो मानव जगतको उत्थानको लागि परमात्मा अवतरित हुन उपयुक्त समय छ ।

परमात्माको यही सन्देश छ कि सर्व मानव समस्याका मुल कारण स्वयंको सत्य स्वरुप र गुणको विस्मृति हो । हामी वास्तवमा यो भौतिक शरीरका साथै शरीरलाई चलाउने १ पराभौतिक ऊर्जा ज्योतिबिन्दु आत्मा हौं । आत्मा आफंैमा सुख, शान्ति, पवित्रता, ज्ञान, प्रेम, आनन्द र शक्तिको स्वरुप छ । आत्म स्मृतिमा जागरुक भएर गरिएका हरेक कर्महरु सत्कर्म बन्छन् र आत्म स्मृतिमा सन्तुलित गरिएका हरेक सम्बन्ध सुमधुर बन्छन् । आत्म स्मृति नै परमात्मा प्राप्तीका लागि अपरिहार्य कदम हो । गुणको भण्डारसँग सम्बन्ध स्थापित गर्ने राजयोगको नियमित अभ्यासी बन्नु भनेको नै सच्चा शिवरात्रिको जागरण हो ।

आत्म स्मृतिमा रहेर मन भित्रका कलुषित, व्यर्थ विचार र संस्कारलाई सदाका लागि त्याग्ने प्रण गर्नु नै सच्चा शिवरात्रिको व्रत र उपवास हो । सर्वोच्च पिता परमात्मा शिवले देखाएको यो बाटो पछ्याउने हो भने मात्र यो उत्सव अर्थपूर्ण हुन सक्छ । तसर्थ यस शिवरात्रिमा यही वाचा गरौं कि हामी देह अभिमानलाई त्यागेर निरन्तर आत्म अभिमानी बनेर अन्तरनिहीत दिव्य गुणहरुलाई उजागर गर्नेछौं । अन्यलाई पनि यही स्थितिमा पुराउन सहयोगी बन्नका लागि हामी आफूलाई यस ईश्वरीय सेवामा समर्पित गरेर विश्व कल्याणार्थ परमात्माद्वारा उद्घोषित यस आध्यात्मिक क्रान्तिमा सहभागी बनौं ।

तपाईको प्रतिक्रिया