असल अर्थमन्त्री

समाधान संवाददाता २०७५ फागुन २० गते ८:३६

कांग्रेस संसदीय दलभित्रको किचलोपछि तत्कालीन प्रधानमन्त्री गिरिजप्रसाद कोइरालाले २०५१ मा मध्यावधि चुनाव घोषणा गरे । एकमना सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले बीचैमा सरकार भंग गरेपछि भएको चुनाव कांग्रेसकै लागि प्रत्युत्पादक बन्यो । प्रष्ट बहुमत कुनै दलको आउन सकेन । तत्कालीन एमालेका नेता मनमोहन अधिकारी नेतृत्वमा सरकार गठन भयो । त्यही सरकारमा अर्थमन्त्री थिए उनकै सहोदर भाइ भरतमोहन अधिकारी । नेपालमा कम्युनिस्ट नेताको नेतृत्वमा बनेको यो पहिलो सरकार थियो । २००७ सालदेखि नै नेपाली राजनीतिक आन्दोलनमा सामेल भए पनि सरकारको नेतृत्व गर्न पाउँदाको अवसरको सदुपयोग गर्ने चुनौती एमालेमा थियो । अनि नागरिकको मन जित्नसक्ने खालका कार्यक्रम ल्याएर उनीहरुमा कम्युनिस्टको छाप पार्नका लागि यो सुनौलो अवसर पनि थियो । त्यही अवसरलाई भरपुर सदुपयोग गरे तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ।

एमालेको ९ महिने शासनकालमा अर्थमन्त्री भएका भरतमोहनले ल्याएको पहिलो चर्चित कार्यक्रम थियो वृद्धभत्ता । तत्कालीन अवस्थामा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मासिक १ सयका दरले दिनेगरी थालिएको कार्यक्रम अहिले सामाजिक सुरुक्षा भत्ताका रुपमा विस्तारित छ । लोककल्याणकारी राज्यको अवधारणालाई पहिलोपटक साकार पार्दै भरतमोहनले त्यतिबेला नागरिकको मन जिते । नेपाली माटो सुहाउँदो विकासको अवधारणा भित्र्याउने देन पनि उनलाई नै जान्छ । ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियान अन्तर्गत उनले त्यतिबेला प्रत्येक गाविसलाई पहिलोपटक एकमुष्ट रकम विनियोजन पनि उनैले गरे । ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाडौं सुरुङमार्ग, सडकको दुवैतिर वृक्षरोपण, सुत्केरी भत्ता, पति–पत्नीको संयुक्त नाममा जग्गाको रजिस्ट्रेसन पास गर्ने परिपाटी पनि उनैले बसाले । गाउँगाउँमा सहकारी घरघरमा रोजगारी लगायत कार्यक्रम ल्याएर जनतामा बेजोड उत्साह ल्याएका थिए ।
२०५१ सालपछि कम्युनिस्ट नेताको नेतृत्वमा धेरैपटक सरकार बनेपछि त्यतिबेला जस्ता लोकप्रिय र प्रभावकारी कार्यक्रम आउन सकेका छैनन् । यसैले पनि भरतमोहन जनताको मनमा बस्न सफल छन् ।

‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सञ्चालन उनकै पहिलो कार्यकालबाट थालिएको हो । अर्थमन्त्री भएका अधिकारी उपप्रधानमन्त्रीसहित कानुन, ऊर्जा, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्ने अवसर पाए । सरल र शान्त स्वभावका उनले पार्टीलाई एकढिक्का राख्न समेत धेरै कसरत गरे । २०४६ सालको राजनीतिक परिवर्तपछि बनेको संंविधान सुधार सुझाव आयोगमा समेत उनी सदस्य थिए । ४ पटकसम्म अर्थमन्त्रालयको नेतृत्व लिएका भरतमोहनले जहिले पनि मनमोहक कार्यक्रमा मात्रै ल्याए । नेपालका असल अर्थमन्त्री भरतमोहनलाई हामी स्मरण गरिरहनेछौं ।

Advertisement

तपाईको प्रतिक्रिया