सद्भाव र प्रतिस्पर्धीबीच विकसित हाम्रो सम्बन्ध
झलकमणि तिवारी
संस्कृति तथा नागरिक पर्यटन उड्डयनमन्त्री माननीय रवीन्द्र अधिकारीको यहि फागुन १५ मा आश्चर्यजनक प्लेन दुर्घटनामा निधन भयो । उहाँ लगायतका जिम्मेवार नागरिकको निधनमा सिंगो नेपाली जनमतले गहिरो शोक अनुभूति गर्यो । सम्भवत उपत्यका बाहिर पोखरामा पहिलो पटक राष्ट्रिय सम्मानसहित माननीय मन्त्रीको दाहसंस्कार गरियो । पोखरामा फागुन १७ गते शोक व्यक्त गर्न १० औं हजार जनसमूहको उपस्थितिसमेत रहेको थियोे । यसले के पुष्टि गर्यो भने रवीन्द्र अधिकारीको मृत्युले सामान्यरुपमा नेपाली कम्युनिस्ट आन्दोलनमा र विशेषगरी गण्डकी प्रदेशले एउटा क्षमतावान राजनीतिक नेतृत्व गुमाएको छ ।
माया
यसले ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा निकटम प्रतिद्धन्द्धि बनेको मलाई रवीन्द्रबारे केही नलेखी मन नै मानेन् ।
पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीतिमा क्रियाशील भइरहँदा सामान्यरुपमा चिनजान भएता पनि मेरो मनासपटलमा रवीन्द्रको कुनै विशुद्ध आकृति थिएन । म जेलमा रहेको बेला कास्कीकै प्रविण गुरुङको हत्याको विषयलाई लिएर रवीन्द्रको नेतृत्वमा पारस शाह विरुद्ध चलेको अभियानले पहिलो पल्ट मेरो गम्भीर ध्यानकर्षण गरेको थियो । साहसी युवाको रुपमा मनमा गहिरो छाप परिरहेकै सन्दर्भमा दरबार हत्याकाण्ड, ज्ञानेन्द्रको समारोह, निरंकुश शासनको प्रारम्भसँगै मलाई क. रवीन्द्र गम्भीर खतरामा रहेको महसुस भयो । जेलबाट बाहिर आएको मलाई रवीन्द्रलाई सुरक्षित गर्न केही गर्नुपर्छ भन्ने बोध भयो । सायद, म विजय ढकालको सहादत्तसँगै कस्केली युवा क्रान्तिकारीप्रति मेरो माया र जिम्मेवारी बोध बढेको हुन सक्थेन् । युद्धको जटिलताबीच म रवीन्द्रको घरमा पुगें । इन्द्र गुरु (रवीन्द्रका बुबा) सँग चिन्ता जाहेर गर्दै जानकारी मागें र क. मनोहर र क. कमललाई रवीन्द्रलाई खोजी गर्न चिठीसहित पठाएँ ।
रवीन्द्रसँग भेट भएन । तर रवीन्द्र सुरक्षित रहन सक्ने या नसक्ने आशंकाबीच ०६२-६३ को आन्दोलनलाई उत्कर्षमा पु¥याउन पोखराका सबै परिचितहरुलाई विविध ढंगले उत्प्रेरित गरिरहे । सायद, त्यसैमा रवीन्द्रको सुरक्षा पनि देखें मैले ।
सद्भाव
०६२-६३ को ऐतिहासिक जनआन्दोलनको सफलतासँगै शान्ति प्रक्रिया सुरु भयो । मैले पोखरामा रवीन्द्रको खोजी गरे । तात्कालीक एमालेको युवा नेतृत्वको रुपमा रवीन्द्रसँग भेटघाट र छलफल भयो ।
हामी माओवादी सबै साहसी युवालाई माओवादी आन्दोलनमा सामेल गर्न चाहन्थ्यौं । मैले यसबारे रवीन्द्रसँग गम्भीर कुराकानी गरे र सकारात्मक जवाफ प्राप्त गरे । ०६४ को प्रारम्भमा होटल आनन्दमा गम्भीर छलफलपछि रवीन्द्रले छिट्टै हुने तात्कालीन नेकपा एमालेको कास्की जिल्ला सम्मेलनमा जिल्ला अध्यक्षको सम्भावित उम्मेदवार हुनाले सफल भएमा २ पार्टीबीचको स्दभावपूर्ण सम्बन्धको विकास गरिने, अन्यथा एमाले परित्याग गरी माओवादी आन्दोलनमा सामेल हुने वचन दिनुभएको थियो ।
मैले त्यही कुरा पार्टीको जिम्मेवारी तहमा जानकारी गराए । केही साथीहरुले अस्वभाविक रुपमा रवीन्द्र माओवादी आन्दोलनमा सामेल हुन तयार भएको सूचना तात्कालीन मिडियाहरुमा दिए । त्यो राम्रो काम थिएन र त्यसको प्रतिवाद भने रवीन्द्र बाध्य भए । तर तात्कालीन एमालेको जिल्ला नेतृत्वको रुपमा रवीन्द्रको माओवादी आन्दोलनप्रति सद्भाव भने निरन्तर कायम रहिरह्यो । प्रतिनिधिहरुसँग सद्भावपूर्ण सम्बन्ध कायम गर्न सक्ने त्यहि विशेष गुणले नै रवीन्द्रलाई राजनेताको रुपमा उभ्याउँदै लग्यो ।
प्रतिस्पर्धी
संगठनात्मक कार्य क्षेत्र पर्वत जिल्ला रहेकै अवस्थामा मैले कास्कीको तात्कालीन निर्वाचन क्षेत्र नं ३ बाट पहिलो संविधान सभामा उम्मेदवारी दिने निर्णय गरें । तात्कालीन एमालेको तर्फबाट क. रवीन्द्र अधिकारी मेरो प्रतिस्पर्धीमा उठ्नु भयो । माओवादी आन्दोलनको देशव्यापी लहर रहेको त्यस निर्वाचन अवधिमा मेरो रवीन्द्रसँग धेरैपटक प्रत्यक्ष र दैनिकजसो फोन सम्पर्क निरन्तर जारीरह्यो । प्रतिस्पर्धीसँग दैनिकजसो समीक्षा गरिने अचम्मको प्रतिस्पर्धा हामीले गरेका थियौं । देशव्यापी लहर जस्तै लगभग १ हजार एमाले पार्टीमा सदस्यहरु माओवादी पार्टीमा सामेल भएका थिए ।
कांग्रेस उम्मेदवार बृन्दा रानासँग तात्कालीन कांग्रेस नेतृत्वले भरोसा नगरेको महसुस भयो । हामीले कांग्रेस नेतृत्वका महत्वपूर्ण व्यक्तित्वसँग अनौपचारिक सम्बन्ध बनाएर काम गरेका थियौं । हामी विजयप्रति आश्वत पनि थियौं । प्रतिपक्षीहरुको बीचमा व्यक्ति केन्द्रित आलोचना सायद हुनै सकेको थिएन । निर्वाचनको दिन भरतपोखरीमा यस अघि पटकपटक तनाव हुने गरेको भएता पनि यसपल्ट मित्रतापूर्ण सहकार्य पार्र्टीबीच देखियो । यसलाई त्रिपक्षीय हुनाले तत्काल अथ्र्याइए पनि मेरो मनमा केही झस्का पसेको थियो । मतगणना प्रारम्भ भएको केही समयपछि रवीन्द्रको फोन आयो । मैले सधैं झै फोन उठाएर कुरा गरें । रवीन्द्रले त्यतिबेला जे भने त्यसको सारांश यस्तो थियो ।
‘मैले मेरो पार्टीका साथीहरुको मात्र भरपरेको भए दाइले चुनाव जित्ने वातावरण रहेछ तर मैले केहीथप चलाखी गरेको छु । त्यसैले थौरै मतले म चुनाव जित्दैछु ।’ मैले फोनबाट त्यसो भए बधाइ दिए तर मलाई त्यस कुरामा विश्वास भने लागेको थिएन ।
तर परिणम रवीन्द्रले भने जस्तै आयो । त्यो चलाखी अरु केही नभएर कांग्रेसका जिम्मेवार व्यक्तित्वसँग उनले विकास गरेको भावनात्मक सम्बन्ध नै थियोे भन्ने पछि पुष्टि भयो । हामीले एमालेबाट तानेका मतहरु भन्दा उनले कांग्रेसबाट तानेका मतहरु नै बढी देखियो । त्यस निर्वाचनमा विपक्षी पार्टीका मत आकर्षण गर्ने र सम्बन्ध विकास गर्ने रवीन्द्रको प्रयत्नले नै उनलाई क्रमश राजनेताको रुपमा स्थापित गर्दै गयो ।
आज तात्कालीन एमाले र माओवादीको बीचमा पार्टी एकता सम्बन्ध भएको छ । पछिल्लो निर्वाचनमा हामी एउटै मञ्चमा उभिएका थियौं । यो २ पार्टीको बीचको एकता प्रक्रियालाई सुदृढ गर्ने, भावनात्मक एकत्व निर्माण गर्ने क. रवीन्द्रको उपस्थिति बढी आवश्यक थियो ।
१ जना सफल र क्षमतावान् राजनीतिज्ञको रुपमा नेपाली कम्युनिस्ट आन्दोलनले रवीन्द्रलाई युगयुगसम्म सम्झिरहने छ ।
तपाईको प्रतिक्रिया