सुल्झियो छुसाङ–तेताङ गाउँबीचकाे विवाद

समाधान संवाददाता २०७५ फागुन २१ गते ८:३२

सुन्दरकुमार थकाली

मुस्ताङका ५ स्थानीय तहमा करिब १ सय गाउँ छन् । सबै गाउँका आआफ्नै खर्क र जगंल छन् । यहाँका सबैजसो गाउँले आपसमा मिलेर नै यी सम्पदा उपयोग गरिरहेका छन् ।

मुस्ताङकाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङ र तेताङ गाउँबीच सय वर्ष अघिदेखि विवाद थियो सार्वजिक चौपाया चरीचरन तथा प्राकृतिक स्रोतसाधन उपयोगको विषयमा । यो विवाद यसअघि पटक पटक बल्झिन्थ्यो र जिल्लासम्म आइपुग्थ्यो । छुसाङ र तेताङ गाउँबीच जंगल, खर्क र चरीचरनका बिषयमा २ पटक सहमति भएको भयो । मुस्ताङे राजा जिग्मे परवल बिष्ट समेतको उपस्थितिमा ०४८ सालमा लिखित सहमति भएको थियो ।

Advertisement

त्यसको २० वर्षपछि २०६८ सालमा फेरि अर्काे सहमति भयो । त्यस समय भएको सहमतिको मुख्य १ बुँदा थियो : चौपाया चरिचरन गर्न पाउने बिषय । सहमतिमा हिउँद याममा मात्र तेताङबासीले छुसाङ गाउँसंग जोडिएको चेप्टे चरन क्षेत्रमा चौपाया लैजान पाउने उल्लेख थियो ।

यहाँ हिउँदमा भारी हिमपात हुन्छ । तेताङ छुसाङभन्दा भौगोलिक हिसाबले विकट छ । उनीहरुको खर्कमा हिमपातले गर्दा चौपाया चरनक्षेत्र असहज हुन्छ । तेताङका गाउँ मुखिया पासाङ छिरिङले अप्ठ्यारो पर्दा समस्याको गाँठो फुकाउन समस्या सुल्झ्याउनुपर्ने बताए । उनले तेताङबासीको खर्कमा हिमपात भएकाले चेप्टे चरनक्षेत्र आएको जनाए । उनले सरकारी स्वामित्वको जमिनमा सबैको समान अधिकार रहेको बताए । छुसाङ गाउँका अगुवा रामबहादुर गुरुङले दुबै गाउँलले एकअर्कालाई निषेध गर्न नहुने बताए । उनले तेताङबासीले छुसाङ बस्ती नजिकै चौपाया ल्याएकाले समस्या उब्जिएको उल्लेख गरे । यी गाउँबीच थुम्ची फाँटको चरन क्षेत्रमा पनि विवाद छ ।

Advertisement

यो समस्या आइतबार फेरि जिल्ला मुकाम आइपुग्यो । दुबै गाउँका स्थानीय विवाद सुल्झाउन जिल्ला प्रशासन आए । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कार्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) जोमसोमका प्रमुख तुलसी दाहाल, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी लगायतको रोहबरमा २ गाउँका प्रतिनिधिबीच विगतमा गरिएका सहमति पालना गर्ने सहमति भएको छ ।
सहमतिमा तेताङका गाउँले हिउँद यामबाहेक अन्य समयमा छुसाङ क्षेत्रको चेप्टे चरनक्षेत्रमा चौपाया चराउन नआउने उल्लेख छ । छुसाङ गाउँले हिउँद याममा तेताङीलाई चरन क्षेत्र दिने सहमति भएको । छुसाङका अगुवा रामकुमार गुरुङ र तेताङको तर्फबाट मुखिया पासाङ धर्पु गुरुङले हात मिलाएर सहमति गरे ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सार्वजनिक सम्पदा कसैको बिर्ता नभएकाले मिलेर उपयोग गर्न आग्रह गरे । उनले मुलुकमा संघीयता लागु भइसकेकाले कसैले पनि एकाधिकार गर्न नमिल्ने सुझाए । मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले २ गाउँबीचको विवाद सामान्य भएकाले मिलेर अघि बढ्न सुझाए । एक्याप जोमसोम प्रमुख तुलसी दाहालले विवादित बिषय एक्यापको संरक्षणभित्र पर्ने भएकाले विवादको चुरो बनाउन नहुने बताए । वारागुङका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले एउटै वडाका नागरिकबीच कटुता राख्न नहुने बताए ।

तपाईको प्रतिक्रिया