जिएमसीविरुद्ध सम्पत्ति शुद्धीकरण र प्रहरीमा उजुरी

समाधान संवाददाता २०७५ फागुन २२ गते ८:१८

समाधान संवाददाता

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अवैध रुपमा रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरी र सम्पत्ति शुद्धीकरण विभागमा छुट्टाछुट्टै उजुरी दिएका छन् । ३ विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेका छन् भने कलेजका १ विद्यार्थीसहित ३ जनाले मंगलबार नै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।

सम्पत्ति शुद्धीकरण विभागमा दर्ता भएको उजुरीमा जिएमसी सञ्चालकले विद्यार्थीबाट असुलेको रकम जफत गर्न आग्रहसहित कलेज सञ्चालकको बैंक खाता रोक्का गरी उनीहरूको सम्पत्तिबारे अनुसन्धान गर्न माग गरिएको छ । सञ्चालकको मिलेमतोमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै एमबिबिएस अध्ययनरत अनित सिन्हासहित चिकित्सा शिक्षा सुधार अभियानका प्रितम सुवेदी र विजयवावु शिवाकोटीले विभागमा उजुरी दिएका हुन् ।

Advertisement

कलेजका अध्यक्ष खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा यसरी रकम असुल गरिएको विद्यार्थीको दाबी छ । ‘अवैध रकम असुल्न विद्यार्थीको भर्ना नलिने, भर्ना रद्द गर्ने, परीक्षामा सामेल हुन नदिने, परीक्षामा फेल गराउने, कलेजबाट निस्कासन गर्ने लगायत डर, धाक, धम्की दिएको’ उजुरीमा उल्लेख छ ।’ अध्यक्ष अर्यालले आफ्नो स्वामित्वमा रहेको युनिभर्सल मेडिकल कलेज भैरहवामा पनि यसरी नै असुली गरेको र अकुत सम्पत्ति बढाएको आरोप उजुरीमा छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको उजुरीमा कलेजका अध्यक्ष अर्यालसहितका सञ्चालकलाई ठगी लगायत फौजदारी कसुरमा छानबिन तथा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ । विद्यार्थीले अवैध रुपमा असुलेको रकम क्षतिपूर्तिसहित फिर्ता गराउन माग गरेका छ ।

Advertisement

तपाईको प्रतिक्रिया