पैयुँको भोर्ले बालमैत्री वडा बनाउने अभियान सुरु

समाधान संवाददाता २०७५ फागुन २२ गते ८:२६

रामकृष्ण लामिछाने

मोदी ८ चित्रे बालमैत्री वडा घोषणा भएसँगै पैयुँ गाउँपालिका ७ भोर्लेलाई बालमैत्री वडा बनाउने अभियान सुरु भएको छ । जिल्लाकै दोस्रो बालमैत्री वडा बनाउन वडाभित्रका टोलटोलमा भेला, छलफल, सचेतना र्‍याली, विद्यालयमा तालिम लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।

भोर्लेलाई आगामी २०७६ जेठ महिनाभित्र बालमैत्री शासन सहितको वडा घोषणा गर्ने तयारी रहेको वडा सचिव सरीता परियारले बताइन् । बालमैत्री वडा बनाउन ३९ वटा सूचक तय गरेर विभिन्न अभियान चलाइएको हो । वडाभित्रका ३ सय ९६ घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय र सार्वजनिक स्थलमा बालमैत्री संरचना र पूर्वाधार निर्माण गर्ने काम जारी रहेको सचिव परियारले जानकारी दिइन् ।

Advertisement

वडामा हालै आधारभूत सर्वेक्षण गर्दा १९ वटा सूचक पूरा भएको पाइएको छ । २० वटा सूचक पूरा गर्ने अभियानमा वडाध्यक्ष भीमबहादुर गुरुङ लागि परेका छन् । उनले भने, ‘यहि वर्षको चैत मसान्तमा वडालाई बालमैत्री घोषणा गर्ने योजना रहे पनि तयारी नपुगेका कारण आगामी वर्षको जेठसम्म घोषणा गर्छौं ।’ गुरुङले अरु सूचक पूरा भए पनि स्वास्थ्य र शिक्षाका पूर्वाधार तयार पार्न वडा कार्यालय केन्द्रित भएको बताए । वडामा फागुन १५ देखि १८ गतेसम्म सहभागितामूलक योजना तर्जुमा भएको छ । योजना तर्जुमा कार्यक्रमको सहजीकरण बालमैत्री शासनका विज्ञ मधुसुधन अधिकारी, डा. कमल फुयाँल र रामशरण आचार्यले गरेका थिए ।

कार्यक्रममा वडाभित्रका प्रगति र सुधार गर्नु पर्ने पक्षमा सुझाव संकलन भएको छ । बालमैत्री शासन, बाल महासन्धी, बालबालिकाका पक्षमा भएका हक र अधिकारको जानकारी कार्यक्रममा दिइएको छ । सर्वेक्षणकर्ता १४ जनालाई सम्मान गरिएको सभामा वडाले बालमैत्री वडालाई प्राथमिकता दिँदै पञ्चवर्षिय योजना तयार पारेको छ । वडाले थालेको अभियानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी, महिला, युवा क्लब, शिक्षक, विद्यार्थीले हातेमालो गर्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया