विद्यार्थी राजनीतिको स्वरुप
१९ माघमा पोखरा महानगपालिकाको गाडी जलाएका विद्यार्थी समातिए । पछि छुटे । ९ फागुनमा पोखरा विश्वविद्यालयमा तोडफोड भयो । तोडफोड गर्ने विद्यार्थी समातिए । पछि छुटे । पछिल्लो समय विद्यार्थीहरुको उदण्डताको साक्षी हुनु सिवाय प्रहरी, प्रशासन अरु केही हुन सकेन । प्रहरी साँच्चीकै प्रहरी बनेन । प्रशासन साँच्चिकै प्रशासन बनेन । सरकार साँच्चिकै सरकार बनेन ।
तोडफोड, आगजनी र कुटपिट विद्यार्थी राजनीतिको परिचय भएको छ । जो जसले धेरै तोडफोड गर्न सक्यो उसको करियर राजनीतिमा उति नै माथि गइरहेको छ । पार्टीहरुले उदण्डताका आधारमा विद्यार्थीको नम्बर बढाइदिनाले नै उनीहरु हौसिएका छन् । गाडी जलायो, जेल जानु नपर्ने । विश्वविद्यालय तोडफोड ग¥यो, जेल जानुनपर्ने । मान्छे नै मार्दा पनि जेल जानु नपर्ने त राजनीतिको विशाल विकृति छँदैछ । त्यसैले त आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी भौतिक सम्पतिहरुमा माथि धावा बोलिरहेको छ । निरपराध नागरिक मारिँदा पनि निर्लज्ज भनिरहेको छ, मान्छे नै मार्ने उद्देश्य होइन ।
पोखरा विश्वविद्यालयको इन्जिनियरिङतर्फको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थी तोडफोडमा उत्रिएका थिए । परीक्षामा सहभागी विद्यार्थीबाहेक पनि तोडफोडमा उत्रिए । आफूलाई विद्यार्थी नेता बताउने तर पार्टीकै राजनीति गर्नेहरु पनि तोडफोडका क्रममा समातिएका थिए । यसबाट प्रष्ट देखियो कि नियतबश नै विश्वविद्यालय तोडफोड भएको थियो । पार्टीको झन्डामुनि बसेकै कारण यहाँ कसैलाई कानुन लाग्दैन भने कानुन मान्नेचाहिँ कसले ? झन्डाको ओत लाग्दा कुनै कारबाही भोग्नै नपर्ने देखेरै आज गुन्डा, दलालहरु पार्टीको संरक्षणमा शरण परिरहेका छन् । नेपाली राजनीतिको सबैभन्दा घीनलाग्दो कुकृत्य भनेकै आज सानालाई ऐन, ठूलालाई चैन हो । राजनीतिमा प्रवेश गर्नेहरु विद्यार्थी राजनीतिबाट गएका धेरै छन् । जो पहिल्यै हिंसामा अभ्यस्त हुन्छन्, तिनले सत्तामा पुगेपछि राज्यको बागडोर सम्हाल्दा देश कहाँ पुग्ला ? यस्तो विकृतिको जरैदेखि अन्त्य नभएसम्म मुलुक बन्दैन । राजनीतिक दलहरुकै आडका कारण आज प्रहरी, प्रशासन विद्यार्थी उद्दण्डताको मौन साक्षी बनेको हो ।
हो, विद्यार्थीलाई अन्याय नै परेको हो भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । तिनीहरुले न्याय पाउनै पर्छ । उत्तरपुस्तिका विद्यार्थीले हेर्न पाउने त्रिभुवन विश्वविद्यालयको नजीर पोखरा विश्वविद्यालयका हकमा पनि आकर्षित हुनसक्छ । उनीहरुले त्यो नजीर उपयोग गर्न सक्छन् । अरु न्यायिक बाटो समात्न सक्छन् । तर न्याय माग्ने बहानामा हिंसा गर्ने छुटचाहिँ कसैले पाउनुहुँदैन ।
पढाइभन्दा हिंसामा अब्बल भएका विद्यार्थीले भोलि देशलाई कुनै सकारात्मक योगदान गर्लान् भन्ने अपेक्षा गर्न सकिन्न । राज्यको सम्पतिप्रति कुनै माया दया नभएकाहरु भोलि राज्यको डाडुपन्यु हातमा लिँदा झन् के गर्लान् ? त्यसको अनुमान आजै गर्न सकिन्छ । यस्ता विद्यार्थीहरु राजनीतिबाट अलग आफैं हुँदैनन् । अरु निष्ठावान विद्यार्थीलाई ठाउँ दिँदैनन् । कुकृत्य गरेकै बेला उद्दण्डताको दण्ड तिनीहरुलाई दिनैपर्छ । राज्यको कुनै पनि सम्पति लुट्ने वा ध्वस्त पार्ने छुट कुनै पनि बाहनामा कसैले पनि पाउनुहुँदैन ।
तपाईको प्रतिक्रिया