केली जेनर बनिन् विश्वकी कान्छी अर्बपति

समाधान संवाददाता २०७५ फागुन २२ गते १३:२५

एजेन्सी

अमेरिकाकी केली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।

उनको कम्पनी केली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन् ।

Advertisement

एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।

जेनरले भनिन्, ‘मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ । मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ । तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ । कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ ।’

Advertisement

सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन् । उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ । तर फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ ।

फोर्ब्स सूचीका अनुसार गत वर्ष रहेको उनको सम्पत्ति ६२। ३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८.७ अर्ब डलरले घटेको छ।

तपाईको प्रतिक्रिया