सन्दीप र सीता यस वर्षको उत्कृष्ट खेलाडी

समाधान संवाददाता २०७५ फागुन २२ गते १३:३७

समाधान संवाददाता, काठमाडाैं

सन्दीप लामिछाने र सीता राना मगर यस वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन् । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले मंगलबार राजधानीमा आयोजना गरेको ‘एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९’ मा सन्दीपले पुरूषतर्फ वर्ष खेलाडीको उपाधि जिते भने सीताले महिला विधामा उपाधि जितेकी हुन्।

सन्दीपले यो अवार्डमा राष्ट्रिय टिमका कप्तान पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी र करण केसीलाई उछिनेका छन् । २०१८-१९ मा सन्दीपले नेपालका लागि खेलेका सबैखाले क्रिकेटमा गरी कूल ८४ विकेट लिएका थिए ।

Advertisement

यो वर्षमा राष्ट्रिय टोलीबाट ३२ खेल खेलेका सन्दीपले ८४ विकेट हात पारेका हुन् । उनले वान डे खेलमा ५५ विकेट र १० टि-२० खेलमा २९ विकेट हात पारेका छन् । डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप छनोटमा पनि उनले पपुवा न्यू गिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए ।

यूएईविरुद्ध ओडीआई सिरिजमा ७ विकेट लिएका सन्दीपले त्यसअघि एसिया कप छनोटमा ५ खेलमा १४ विकेट लिए । टि-२० विश्वकप छनोटमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा २४ विकेट हात पारेका थिए । यस्तै सीताले कप्तान रूविना क्षेत्री बेलबासेसँगै इन्दु बर्मा, सरिता मगर र करूणा भण्डारीलाई पछि पारेकी हुन् ।

Advertisement

हालै मात्र थाइल्याण्डमा सम्पन्न टी ट्वान्टी स्म्यासमा उत्कृष्ट प्रदर्शनका आधारमा महिलातर्फको अवार्ड सीताले जितेकी हुन्।

सीताले उक्त प्रतियोगितामा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी थिइन् । सर्वाधिक रन बटुलेकी सीताले ६ खेलमा १ सय ३८ रन जोडीन् । उनले १ सय ७५ बलको सामना गर्दै ११ चौका प्रहार गरेकी थिइन् । बलिङतर्फ पनि सीताले ३.४४ को इकोनोमीमा ४ विकेट हात पारिन् ।

यस्तै रोहित कुमार पौडेलले उदयीमान वर्ष खेलाडीको उपाधि जितेका छन् । उनले ललितनारायण राजबंशी, सन्दीप जोरा, अभिनास बोहोरासँगै कविता कुँवरलाई पछि पारेका हुन् ।

गत वर्ष डिभिजन टू बाटै राष्ट्रिय टिममा स्थान बनाएका उनले युएई विरुद्ध नेपालले पहिलो ओडिआई सिरिज जित्दा विश्वकै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए । यसअघि उनले सबैभन्दा कम उमेरमा एक दिवसीयमा डेब्यू गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका थिए ।

यस्तै कार्यक्रममा नेपालमा क्रिकेटका पुराना खेलाडी र नेपालमा क्रिकेट विस्तारमा महत्वपूर्ण योगदान दिएका कोमलबहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानिन गरियो । फुटबलसमेत खेल्ने पाण्डे आफ्नो जमानामा सबै खेल खेल्ने गरेका थिए ।

यस्तै करण केसीले मोमेन्ट अफ द ईयरको अवार्ड हात पारे। उनले नेपाललाई एक दिवसीय मान्यता दिलाउने निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । गत वर्ष नामिबियामा भएको डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको मोस्ट विन म्याचमा करणले एकल प्रदर्शनमा नेपाललाई १ विकेटको शनसनी जित दिलाएका थिए ।

वर्षको उत्कृष्ट क्रिकेट खेलाडी पुरूषलाई १ लाख ३२ हजार नगद र अवार्ड दिइएको थियो भने बाँकी सबै विधाका विजयी खेलाडीलाई ६६ हजार नगद पुरस्कार र अवार्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया