लोभलाग्दो छरछरे झरना ओझेलमा

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:०७

कृष्ण न्यौपाने

प्रचुर पर्यटकीय सम्भावना बोकेर ओझेलमा परेको तनहुँ देवघाट गाउँपालिका १ स्थित छरछरे झरनाको प्रचारप्रसारका लागि महोत्सवको तयारी गरिएको छ । झरनाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गराउने उद्देश्यले प्रथम छरछरे झरना पर्यटन महोत्सवको तयारी गरिएको हो । छरछरे झरना पर्यटन विकास समितिको आयोजनामा चैत १ र २ गते पर्यटन महोत्सव हुन लागेको हो ।

महोत्सवका संयोजक थमबहादुर झ्यारीले ओझेलमा परेको झरनालाई उजागर गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको जानकारी दिए । उनले भने, ‘झरनाको प्रचार गरी यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य राखेका छौं ।’ उनका अनुसार महोत्सवका अवसरमा झरनामा क्यानोनिङ गर्ने व्यवस्था मिलाइने छ । उक्त वडास्थित गोपीटार र कराँदीपको थप प्रबद्र्धन गर्न महोत्सव सहयोगी बन्ने विश्वास गरिएको छ । शालिग्राम कोरिडोर मार्गमा पर्ने छरछरे झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको धारणा छ । भौगोलिक रुपमा विकट भएको कारणले उक्त झरनाको पर्याप्त प्रचारप्रसार गर्न नसकिएको देवघाट गाउँपालिका १ का अध्यक्ष भीमबहादुर गुरुङले बताए । गाउँपालिकाले पर्यटकीय गुरुयोजना निर्माण गर्न लागेको र उक्त गुरुयोजनामा छरछरे झरनालाई समावेश गरिने उनले जानकारी दिए । उनले भने, ‘झरना प्राकृतिक रुपमा निकै राम्रो छ, हरेक मानिस यहाँ आएपछि झरना राम्रो भनेर जान्छन् तर, यसको प्रचारप्रसार गर्न सकिएको छैन ।

Advertisement

छरछरे झरनाको अवलोकन गर्नका लागि तनहुँ, चितवन र नवलपुरबाट उल्लेख्य सर्वसाधारण आउने गरेका छन् । वडाध्यक्ष गुरुङले यसको पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिए यस ठाउँ पर्यटनको केन्द्रविन्दु बन्न सक्ने विश्वास व्यक्त गरे । छरछरे झरना कोटा भतेरी हुँदै पुग्न सकिन्छ । हिउँदमा पनि प्रशस्त पानी रहेको झरनाबाट राम्रो आम्दानी गर्न सकिने वडाको अनुमान छ । १ सय २० मिटर उचाईमा रहेको झरनाको मनमोहक दृश्यले पर्यटकको आगमनमा वृद्धि हुने स्थानीय शिवराज पौडेल बताउँछन् । देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले झरनाको प्रबद्र्धनका लागि गाउँपालिकाले योजना बनाइरहेको जानकारी दिए । उनले भने, ‘समग्र गाउँपालिकाकै पर्यटकीय र धार्मिक गुरुयोजना बनाउने तयारीमा छौं, त्यसमासमेत यसलाई समेटेर प्रचारप्रसारमा जोड दिनेछौं ।’

Advertisement

तपाईको प्रतिक्रिया