भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:१७

समाधान

तनहुँ घिरिङ गाउँपालिका ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् । सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्ने लगायतको समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिए । उनका अनुसार विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थी भाइरल ज्वरोबाट पीडित छन् ।

कक्षा १० मा अध्ययनरत १५ जना विद्यार्थी भाइरल ज्वरोबाट बिरामी परेका छन् । त्यस्तै कक्षा ९ मा अध्ययन गर्ने ७ जना र ६, ७ र ८ का समेत विद्यार्थी ज्वरोबाट पीडित भएको विद्यालयले जनाएको छ । प्रअ थापाले भने, ‘सबै कक्षाका गरी ५० जना भन्दा बढी विद्यार्थीलाई यो समस्या देखिएको छ ।’ थापाका अनुसार बुधबार पनि कक्षा ४ र ५ का २÷३ जना विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कक्षा १० का बिरामी हुने सबै विद्यार्थी विद्यालयकै होस्टेलमा बस्ने विद्यार्थी हुन् । होस्टेलमा बस्ने विद्यार्थीमा एउटालाई ज्वरो आएपछि अर्को विद्यार्थीलाई पनि सोही समस्या देखिएको थापाले जानकारी दिए । उनले भने, ‘एउटा विद्यार्थीबाट अरु विद्यार्थीमा ज्वरो फैलिएको हुन सक्छ ।’

Advertisement

उनका अनुसार बिरामी भएका सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको छ । सोही वडामा रहेको घिरिङ स्वास्थ्य चौकी र स्थानीय मेडिकलमा बिरामीको उपचार गराइएको छ । बिरामी भएका सबै विद्यार्थीलाई परिवारको रेखदेखमा जिम्मा लगाई उपचार भइरहेको विद्यालयले जनाएको छ । घिरिङ स्वास्थ्य चौकीका स्टाफ नर्स प्रतिमा अधिकारीले विद्यार्थीमा देखिएको समस्या भाइरल फिवर र इन्फ्लुएन्जा भएको जानकारी दिइन् । उनले भनिन्, ‘यस्तो समस्या देखिएका विद्यार्थीलाई स्वास्थ्य चौकीबाटै उपचार सेवा दिएका छौं ।’ स्वास्थ्यचौकीमा भएका औषधिले नै विद्यार्थीको उपचार भइरहेको जानकारी दिँदै उनले औषधि अपुग भए गाउँपालिकाको स्वास्थ्य शाखासँग माग गर्ने तयारी भएको बताइन् । विद्यार्थीमा यस्तो समस्या भइरहे विद्यालयमै पुगेर उपचार सेवा प्रदान गरिने अधिकारीले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया