देवघाटमा १ करोडमा सभाहल

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:३५

समाधान संवाददाता

तनहुँको देवघाट गाउँपालिकामा १ करोडको लागतमा सिटी हल निर्माण सुरु भएको छ । ९९ लाख १० हजार ६ सय ४६ रुपैयाँको लागतमा निर्माण हुन लागेको सिटी हलको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरे । गण्डकी प्रदेश सरकार र देवघाट गाउँपालिकाको आर्थिक लागत सहभागितामा देवघाट गाउँपालिका ५ क्युदीमा सिटी हल निर्माण सुरु भएको हो ।

सिटी हल निर्माणका लागि मन्त्रालयले चालु आर्थिक वर्ष २०७५-७६ मा ५० लाख र देवघाट गाउँपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । शिलान्यास समारोहमा मन्त्री बस्नेतले निर्धारित समयमै गुणस्तरीय भवन निर्माण गर्नुपर्नेमा जोड दिए । ३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको सिटी हलले ५ हजार ३ सय ९९ वर्ग फिट क्षेत्रफल ओगट्नेछ ।

Advertisement

३ सय जना अट्ने सिटी हल १ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । गाउँपालिकाभित्र सिटी हलको अभाव हुँदा कार्यक्रम गर्न समस्या भएपछि गाउँपालिकाले सिटी हल निर्माणका लागि प्रदेश सरकारलाई प्रस्ताव गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । उनले भने, ‘गाउँपालिकाभित्र धेरै मान्छे अट्ने हल नहुँदा कार्यक्रम गर्न समस्या परिरहेको छ, सिटी हल निर्माणपछि त्यो समस्या हट्नेछ ।’

६३ लाखमा भवन निर्माण
देवघाट गाउँपालिका १ कोटास्थित पार्वती माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तनहुँको ६३ लाखको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न भएको प्रधानाध्यापक इन्द्रदेव तिवारीले जानकारी दिए ।

Advertisement

४ कोठाको पुननिर्माण भए पनि विद्यालयलाई अझै ५ वटा कोठा अपुग भएको प्रधानाध्यापक तिवारीले बताए । उनका अनुसार विद्यालयलाई २६ वटा कोठा आवश्यक परे पनि पुनर्निर्माण भएकासहित २१ वटा कोठाबाट काम चलाउनुपर्ने बाध्यता छ । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा ३ सय २५ जना विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया