क्रस दी बोर्डरमा अनील चित्रकार

समाधान संवाददाता २०७५ फागुन २३ गते २१:०६



उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको उद्यमशील शृंखला कार्यक्रम क्रस दी बोर्डर २४ गते शुक्रबार हुँदैछ । उद्यमशील बनौं भन्ने मर्मसहित संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।

कार्यक्रमको यसपालिको शृंखलामा अनील चित्रकारलाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । चित्रकार सामाजिक उद्यमी हुन् । प्रेरणादायी प्रवचन (मोटिभेसनल स्पिच) मा उनको ख्याति छ । चित्रकार १९९३ मा डाभोसमा भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा संसारभरका १०० ग्लोबल लिडर्स फर टुमरो घोषित भएका थिए । अशोका फेलो उनी अरु पुरस्कारबाट पनि पुरस्कृत छन् । केही पुस्तकका लेखकसमेत रहेका चित्रकार इन्भारोन्मेन्टल क्याम्प्स फर कन्जरभेसन अवेरनेसका संस्थापक र हिमालयन क्लाइमेट इनिसियटिभका सहसंस्थापक हुन् ।

Advertisement

नेपाल अथाह सम्भावनाको सागर हो भनेरै अनील अमेरिकाबाट नेपाल फर्किएका थिए । नवीकरणीय ऊर्जा सम्बन्धी चित्रकारको प्रविधि हालै अमेरिकाको सिलिकन भ्यालीमा पुरस्कृतसमेत भएको थियो । सौर्यऊर्जा सम्बन्धी बजारीकरणबारेको चित्रकारको अवधारणालाई विश्व बैंकले पुरस्कृत गरेको थियो । संरक्षण रणनीतिको क्षेत्रमा कार्यरत हुँदै अनील चित्रकारले आइयुसिएनको नेपालको नेतृत्व पनि सम्हालिसकेका छन् । चित्रकार अंग्रेजी साप्ताहिक पत्रिका नेपाली टाइम्समा स्तम्भ पनि लेख्छन् ।


क्रस दी बोर्डर कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया