समृद्ध नेपाल र स्वप्नद्रष्टा रवीन्द्र

समाधान संवाददाता २०७५ फागुन २४ गते ९:२५

निर्मला न्यौपाने

Advertisement

चकमन्नको रात । बालाई ठूलै आघात परेको हुँदो हो । माइत गा’ की मेरी आमा बिरामी पर्नु भएछ । घरमा हामी बाबु–छोरी मात्रै थियौं । बाले अबेला आमा बिरामी भएको खबर पाउनु भएछ । म सुतेकी थिएँ । छोरी, मामा घर जाने है !’ बाले भन्नुभयो । म रमाएँ । बाले गोठको खर थुत्नुभयो । राँको बाल्नुभयो । अलिकति खर काखीमा च्याप्नु भयो । त्यो निस्पट्ट अँध्यारोमा राँकोको उज्यालो बोकेर हामी हिँडिरह्यौं । अहिले सहरमा बत्ती जाँदा म त्यो राँकोको उज्यालो सम्झिन्छु । २०-२२ वर्ष अघिको घटना । म ६÷७ वर्षकी हुँदी हुँ । मलाई रवीन्द्र दाइ त्यही राँकोको उज्यालो जस्तो लाग्दैछ । त्यो जाज्वल्यमान आगोलाई ०७५ फागुन १७ गते सेती नदीमा निभाइयो । म आँसुका अक्षर लेखिरहेकी छु ।

मृत्यु पनि मान्छेपिछे फरक हुँदोरैछ
देशभक्त छोरो मर्दा देशै रुँदो रैछ ।

फागुन १७ गते पोखरामा मानवसमुद्र देख्दा यो गीतले मर्म छोयो । मान्छे रवीन्द्र अधिकारीको शवयात्रामा सामेल हुन ओेइरिए । फूल चढाउन ठूलो उत्साह देखाए । मुखले जेसुकै भनून्, मान्छेको मनले कालो–सेतो खुट्याउँदो रहेछ । रवीन्द्रको मुस्कानमा कपट थिएन । त्यसैले मान्छे कपटी भएर बस्न सकेनन् । मैले २-३ पटक शान्तिवन र रामघाटको ओहोरदोहोर गरें ।

Advertisement

०७२ वैशाख १२ पछि जीवनमा सबभन्दा बढी बिथोलिएँ । पारस शाहको हुकुम चलिरहेकै बेला रवीन्द्र अधिकारीले पारसको अपराध विरुद्ध हस्ताक्षर अभियान चलाएका थिए । पृथ्वीनारायण क्याम्पसको गेटको सेतो तुलमा मैले पनि एकथान सही धस्काएर उहाँको साहसको सम्मान गरेकी थिएँ । अभिमन्यूले गर्भावस्थामै अर्जुनको कथा सुनेका थिए अरे । मैले होस् सम्हाल्न थालेदेखि नै बाबाको मुखको एउटा गीत सुन्थें –

उकालीमा कल्ले गायो गीत सुन रे
नयाँ नेपाल बनाउने यिनै हुन रे ।

यो गीत राजा महेन्द्रको सम्मानमा गाइएको हुँदो हो । महेन्द्र, बिपी, मनमोहन, मदन भण्डारी, केपी, प्रचण्ड आदि नेता समृद्ध नेपालको सपना बाँड्छन् । यस्तो सपनालाई निकै ठोस र मूर्तिकृत रुपमा रवीन्द्र दाइले हाम्रो अगाडि राखेका छन् । ‘समृद्ध नेपाल’ अधिकारीको पठनीय पुस्तक हो । लाग्दैछ, मैले सम्पत्ति जोडेछु । रवीन्द्र दाइसँग बोल्नु पाएको खुसीमा मैले यो किताब किनेकी थिएँ । चुनावमा दाइ सँगसँगै सहकार्य गर्ने राम्रै अवसर प्राप्त भएको थियो, त्यहिबेला नजिकबाट चिन्ने मौका पाए ।

Advertisement

‘समृद्ध नेपाल’ लाई ४ खण्डमा विभाजन गरी पढ्न सूरुचिपूर्ण बनाइएको छ । १. नाकाबन्दी र भूकम्पको सेरोफेरो, २. विकास छलफल, ३ विकासका पूर्वाधार ४, देशान्तर र विचार । ४,५,७ र ८ वटा उपशीर्षकका २ सय ५७ पृष्ठसम्म पुस्तक विस्तारित छ ।

परनिर्भर, अन्तरनिर्भर र आत्मनिर्भर
शीर्षकको पहिलो लेखमा– मेरो विश्वास हो, हामी गर्न सक्छौं । अबको राजनीति न्याय, विकास र समृद्धिका लागि नै हो (पृ.५) । लेखकको अठोट छ ।

भूकम्पको विपत्तिबाट सिक्ने अवसर
इतिहास सिक्ने मौका हो । मानिसले समयमा पाठ सिकेन भने उही गल्तीका कारण फेरि दण्डित हुनुको विकल्प छैन (२६) ।

नव निर्माण, भूउपयोग र बस्ती विकास
भूमि उत्पादनको साधन हो । भूमि प्रकृतिले दिएको सीमित उपहार हो । सीमित भूमिबाट अधिकतम लाभ प्राप्त गर्न सक्नु आजको आवश्यकता हो (३७) । ‘माटो खन्नु उत्तम श्रम हो ।’ लियो टाल्सटायले पनि यही भनेका छन् ।

विकासः कस्तो, कसका लागि र कसले
मानव विकासको अवधारणाले मुख्य ४ वटा प्राथमिकता पहिचान गरेको छ । जसमा समता, उत्पादकत्व अभिवृद्धि, सशक्तिकरण र दिगोपन पर्छन् । यस्तै सुरक्षा र सहकार्यलाई पनि मानव विकासका पक्षमा लिन सकिन्छ (४९) ।

विकास ढिला भइसक्यो
अहिले देखिएको सबै भद्रगोलका आधार हामी राजनीतिज्ञको काम नै हो । कतै मौका मिलिहाल्यो भने आफ्ना कार्यकर्ता र आफन्त भर्ती गर्नैै हतार हुन्छ हामीलाई (७३) । यो निष्पाप मनको उद्वोधन हो । इमानको आत्म आलोचना हो ।

समृद्ध नेपाल, तर कस्तो ?
यहाँ जनताका विकासप्रेम र जनयुद्धको सकार नकारले सुन्दर अभिव्यक्ति पाएको छ । ‘बोल्न डराउने बोल्न थाले । गाउँ, दूरदराज चिच्याउन थाल्यो । दलित उठे । महिलाले बन्दुक बोके । हुने खानेको सातो गयो (७९) ।’ तर, हुँदा खानेको दिन फर्किएन ।

दिगो विकासको मोडेल
सामाजिक दिगोपनाले समावेशी, भेदभावविहीन र न्यायोचित विकासको परिकल्पना गर्छ (१००) । विकासका लागि थिंक ट्यांक
विदेश भ्रमणमा जाँदा थाहा पाएको थिएँ, थिंक ट्यांक त सरकारका हरेक मन्त्रालय, विभाग र विश्वविद्यालयमा विषयपिच्छे हुनेरहेछ (१०७) । हामी कहाँ ‘थिंक ट्यांक’ हरु चिया पसलमा दिल्ली हाँकिरहेका भेटिन्छन् ।

जलविद्युत विकासको मार्गचित्र
विद्युत संकट मोचनका लागि सम्पूर्ण कार्य एकै निकायबाट सम्पन्न गर्न विशेष व्यवस्था तत्कालै लागु गर्नुपर्छ (११८) । रवीन्द्र दाइ, तपाईंको तत्कालै’ को सोंच अब कहाँ पुग्ला ?

किन हुन सकेन कृषि क्षेत्रको विकास
कृषि अपहेलित पेसाका रुपमा रहेकोे छ (१२४) ।

पर्यटनः स्थिति र सम्भावना
उद्यमशीलताको बलियो आधार पर्यटन क्षेत्र पनि हो (१३८) ।
सूचना प्रविधिको वैज्ञानिक युगः फेसबुक चलाउनेहरुको संख्या वृद्धि भयो तर शिक्षा, स्वास्थ्य तथा सरकारी काम काजका क्षेत्रमा अहिले पनि पुरानै चलन छ (१४०) ।

फास्टट्रयाकः चुनौती र सम्भावना
एक सक्षम संस्थागत संरचना तयार गर्नु उपयुक्त हुन्छ (१५६) ।

सामाजिक आर्थिक रुपान्तरणका लागि उद्यमशीलता
यहाँ अनेक तालिकाका साथ तथ्य प्रस्तुत छन् ।

औद्योगिक विकास र विदेशी लगानी
यथार्थ यो हो कि, हाम्रो आर्थिक नीति लगानीका लागि प्रोत्साहन दिइ उत्पादन वृद्धि गर्नेभन्दा राजस्व उठाउनेतर्फ केन्द्रित छ (१८३) । स्थानीय निकाय करको भार थोपर्नेमा बदनामी कमाउँदै छ, संघीयतालाई समाप्त पार्न खोजिँदैछ ।

विकासका आँखाबाट नेपाल–भारत सम्बन्ध, एसियामा उद्यमशीलता, कोरियाको फड्को, पूँजीवाद–समाजवाद र आर्थिक विकास, २१ औं शदीः कान्छो पुस्ता र आन्दोलन, गरिबी र विकासः कर्णालीको सन्दर्भ, उत्तरी ढोकाः विकास र समृद्धिको अवसर, हुलाकी मार्ग, मधेस र विकास
‘समृद्ध नेपाल’ रवीन्द्र अधिकारीका आँखाको सपना हो । विपना नभइ बाँचिरहने… ! नारायण गोपालको गीत हो । के ‘समृद्ध नेपाल’ लाई समाजशास्त्रको पाठ्यक्रममा समावेश गर्न सकिँदैन ? सकिनुपर्छ, नत्र पनि पार्टी पंक्तिमा यसको अध्ययन र अध्यापन नियमित गरिनुपर्छ ।

विद्या दिदी माथिको अन्यायमा कस्केली जनताले पक्कै न्याय गर्नेछन् । वामदेव कमरेडको उद्घोषमा सत्यता छ । दिदी अब नीतिको नीति राजनीतिमा आउनै पर्छ । फोहोरलाई सफा गर्नै पर्छ । केके गर्नु थियो गयौ नि रवीन दाइ, धोको नफोइकन ! हो, रवीन्द्र दाइ त जानु भयो । हामी रहनेले बाँकी कार्यभार पूरा गर्नै पर्छ । आफ्नो शब्द अभावमा राष्ट्रकविकै शब्द सापटी लिन मन लाग्छ–
‘यी रोए पनि दुख लाग्छ मनमा सम्झे नि बाबा भनी
यी हाँसे पनि सुक्ख छैन मनमा बिर्से नि बाबा भनी !’

विद्या दिदी, हामी शोकलाई शक्तिमा बदल्ने स्कुलिङ्का हौं । समृद्ध नेपालको स्वप्नद्रष्टाको सपनालाई पूरा गर्नै पर्छ । आदरणीय पाठक ! अन्त्यमा, किताबको पानामा आँसु खसाल्दै रवीन्द्र दाइको युवाप्रतिको भरोसालाई उद्धृत गर्न चाहन्छु, ‘हामी नयाँ पुस्ताको कुरा गरिरहेका छौं । यो चौथो पुस्ता हो । यो भर्खरै स्कुल शिक्षा पूरा गरेको पुस्ता हो । यो पुस्ता आफ्नो विषय अध्ययनमा योग्य छ । यो पुस्ता करिअर उन्मुख छ ।

विशेषतः सहरी क्षेत्रमा यो पुस्ताले राम्रो शिक्षा हासिल गर्ने मौका पनि पाएको छ । यो पुस्ताले राजनीतिलाई आलोचनात्मक ढंगले हेर्छ । यो पुस्ता प्रविधि र सञ्चारसँग साक्षर भएको हुनाले संसारमा भएको विकासक्रमलाई छिटो बुझ्ने क्षमता पनि राख्छ । यो पुस्ता नचाहिँदो राजनीतिकरणमा नगएको हुँदा असल कुरालाई समर्थन र खराब कुराको विरोध गर्ने पुस्ताको रुपमा उदाउने सम्भावना छ (२२५) ।’

तपाईको प्रतिक्रिया