साग बेच्ने, थुन्से बोक्नेलाई नछोएको श्रमिक महिला दिवस
अमृत सुवेदी
१ दिन काममा ननिस्किए कमला ओलीलाई बेलुका चुलो बाल्न सकस पर्छ । शुक्रबार पनि उनी बिहानै थुन्से बोकेर काममा निस्किइन् । कमला ज्यामीको काम गर्छिन् । नयाँ बजारमा बन्दै गरेको घरमा उनले बालुवा र इट्टा बोकेर दैनिक ५ सय रुपैयाँ थाप्छिन् । ‘काम नगरी खान पुग्दैन । दिनभरि बालुवा बोक्दा ५ सय रुपैयाँ हातपर्छ । घर दाङ हो । पोखरामा सानो डेरा लिएर यही ज्यामी काम गरेरै छोराछोरी पढाएकी छु,’ कमलाले सुस्केरा काढिन् ।
कमलाले जुन काम गर्छिन्, त्यही काम पुरुषले गर्दा १२ सय रुपैयाँसम्म थाप्छन् । डोको उत्रै हो, समय उही हो तर ज्याला आधा कम छ । शुक्रबार पोखरामा डेढ दर्जन कार्यक्रम छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिलाकै लागि त्यसमा अधिकांश श्रमिक महिलाका मुद्दामा २ सरकारले पोखरामा भर्खरै कार्यक्रम सकेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरले श्रमिक महिलाका पक्षमा भाषण गरेर १०९ औं महिला दिवस मनायो । कमला ओलीजस्तै कमला नेपाली, सन्तमाया तामाङ, सरीता क्षेत्री लगायतलाई पोखरामा भइरहेका डेढ दर्जन कार्यक्रमले छोएन । जो श्रम गरेर खान्छन् । यतिसम्मकी उनीहरुलाई आज महिला दिवस हो र महिला अधिकारका विषयमा कुरा भइरहेका छन् भन्ने नै जानकारी छैन ।
श्रमिक महिला गिट्टी कुटिरहेका छन् । सानो छोरा छोउमा सुताएर बालुवा बोकिरहेका छन्, पसिना चुहाइरहेका छन् । बडेमानको भारी बोकेर कुक्रुक्क परेर हिँडिरहेका छन् । डोकोमा सुन्तला बोकेर ग्राहक खोजिरहेका छन् । भारी बोकेर गुजारा चलाउने महिलालाई थाहा छैन, महिला दिवस । जसलाई थाहा छ, जो महिला आन्दोलनको नेतृत्व गरिरहेका छन्, उनीहरुले महिलाका पक्षमा कस्ता मुद्दा उठाइरहेका छन्, ज्यालाका विषयमा के आवाज उठिरहेको छ, श्रमिक महिला बेखबर छन् ।
१ दिन काम नगर्दा उनीलाई मुश्किल पर्छ । सन्तानसहितका श्रमिक एकल महिलाका निम्ति देशकै महंगो सहर पोखराको दैनिकी अझै संघर्षपूर्ण र सकसपूर्ण छ । धादिङकी सन्तमाया तामाङ सानो छोरो नब्युझिँदै मन्डी पुग्छिन् । डोको भरेर सुन्तला र स्याउ बोकेर आउँछिन् । शुक्रबार पनि उसैगरी सडकमा सुन्तला बेचिरहेकी छन् ।
फोटो खिचिरहेको देखेपछि सन्तमायाले प्रश्न गरिन्, ‘तपाईंलाई नगरपालिकाले फोटो खिच्न पठाएको त होइन ?’ त्यो प्रश्नको पछाडि उनको ठूलो भय लुकेको छ । फुटपाथ हटाउने भन्दै नगर प्रहरी कतिबेला आउँछन् र फलफूल उठाएर लैजान्छन् भन्ने डरमा सामान बेच्नुपर्छ । ‘नगर प्रहरी आउँदा डोको बोकेर गल्लीगल्ली भाग्ने, लुक्ने गर्नुपर्छ । नत्र कहिले सामान फालिदिन्छ त कहिले सबै उठाएर लगिदिन्छ,’ सन्तमायाले दुखेसो गरिन्, ‘श्रम गरेर खान पनि डोके, पोकेले पोखरा बद्नाम गरे भन्छन् ।’
सरीता क्षेत्रीको पनि उस्तै समस्या छ । श्रीमान् छन् तर आफ्ना भएनन् । पोखरामा यसरी फलफूल बेचेर उनले दैनिकी गुजारेकी छन् । छोरा १ कक्षा पढ्ने भएको छ । ‘बिहानै मन्डीबाट सामान ल्याएर छोरो स्कुल पठाएपछि म डोको बोकेर निस्कन्छु,’ सरीताले भनिन्, ‘यति नगरे साहुले कोठा दिँदैन । पसलेले सामान दिँदैन । त्यसैका लागि पनि दौडनै प¥यो ।’ पर्वतकी पवित्रा पराजुलीले चिप्लेढु्ंगामा यसैगरी गुजारा चलाएकी छन् । सामान बेचेरै खान्छु, दुख गरेरै छोराछोरी पढाउँछु भन्दा पनि बेलाबेला नगर प्रहरीको लात्ती सहनु परेको उनको दुखेसो छ ।
‘कतिपटक सामान हुर्याइदियो, कति पटक जफत गरिदियो । हामीले सहर बिगार्यौं भन्छ महानगर । तर, के हामीले यो बिगारेका हौं त ?’ पवित्राले भनिन्, ‘हामीलाई दुख नगरी खान पुग्दैन । आज श्रमिक महिला दिवस भएर के गर्नु । सरकारले सार्वजनिक बिदा दिएको छ । हाम्रो पेटले त कसरी बिदा दिओस् ।’
तनहुँदेखि निउरो बेच्न आइपुगेकी ६५ वर्षीय सीता परियारलाई पनि श्रमिक महिला दिवसबारे जानकारी छैन । भन्छिन्, ‘मलाई अरु कुराको चिन्ता छैन । निउरोको मुठा ५० रुपैयाँमा बिके पुग्छ ।’
पोखरा रामघाटमा उसैगरी महिलाहरु काममा व्यस्त छन् । यहाँका श्रमिक महिलाका आफ्नै दुख र व्यथा छन् । महिला दिवस के हो ? के भयो भने महिलाको अधिकार मिल्छ भन्ने उनीलाई थाहा छैन । उनीहरुलाई केवल थाहा छ, बालुवा चालिएन भने, गिटी बोकिएन भने गुजारा चल्दैन । उनीहरु भन्छन्, ‘महिला दिवसबारे ठूला मान्छेले भाषण गरिहाल्छन् ,भइहाल्यो नि । हाम्रो ज्याला ५ सयभन्दा बढ्ने होइन ।’
महिलाको हक अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा संँस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।
‘यस वर्ष श्रमिक महिला दिवसको नारा लैंगिक समानताका लागि समान सोँच र व्यवहार- समृद्धिका आधार’ तय गरिएको छ । कम्युनिस्टले यो दिवसलाई श्रमिक दिवसको रुपमा लिन्छन् । तर, महिलाका मुद्दा अझै उस्तै र उही नै छन् । समान ज्याला, काम गर्ने वातावरण खोजिरहेकै छन् ।
वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक एवं सबै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने भनिएको छ तर त्यसबारे श्रमिक महिलाले सुन्नै भ्याएका छैनन् । समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण कसरी भइरहेको छ भन्ने उनीहरुले बुझेकै छैनन् ।
तपाईको प्रतिक्रिया