‘कामै नगरे दिवस न सिवस’

समाधान संवाददाता २०७५ फागुन २५ गते १४:४२

विकास रोकामगर

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस अर्थात मार्च ८ देशैभरि धुमधामले मनाइयो । पोखरामा मात्रै देढ दर्जनभन्दा बढी महिला विशेष कार्यक्रम भए । पोखराकै सभागृह हलमा पनि गण्डकी प्रदेश र महानगरको संयुक्त आयोजनामा भव्य कार्यक्रम भयो । हलभित्र कोही महिला सम्मानित हुँदै थिए भने कोही भाषण ठोक्दै ।

एकातिर एउटा जत्थाले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा पोखराकै सेती बगरका महिलाको दैनिकी भने फरक थियो । बगरका बालुवा चाल्ने काम गर्ने महिलालाई आफ्नो काम सिध्याउनकै ध्याउन्न थियो ।

उनीहरु बिहानैदेखि बगरमा बालुवा चाल्छन्, साँझबिहानका लागि माम र छोराछोरीको स्कुले शुल्क जुटाउँछन् । उनीहरुलाई न मार्च ८ थाहा छ न त कुनै सभासमारोह नै । पानी परेको मौसम होस् या प्रचण्ड गर्मी उनीहरुलाई सधैं कामकै चटारो हुन्छ ।

बाग्लुङकी मीना बिहानै ५ बजे रामघाटमा बालुवा चाल्न आएकी हुन् । उनले दिउँसो १२ बजे आसपाससम्म खाना खाएकी थिइनन् । उनले शुक्रबार अन्तर्राष्ट्रिय महिला श्रमिकबारे थाहै नभएको बताइन् । असिनपसिन अनुहारमा बगरको बालुवा कोट्याउँदै भनिन्, ‘ख्वै के जाति हो । हामीले त काम नगरे खान पाउने होइन क्यारे । कामै गर्न छोडेर त दिवस न सिवस ।’

पुख्र्यौली घर बाग्लुङ भएपनि मीना १५ वर्ष पहिले श्रीमान्सँग पोखरा झरेकी हुन् । श्रीमान्को एउटा दुर्घटनामा ज्यान गएपछि भने अहिले आफैं २ सन्तानलाई हुर्काउन बालुवा चालिरहेकी छिन् ।

बिहानैदेखि साँझ अबेलासम्म त्यसरी मरिमेटी काम काम गरे पनि ज्याला असाध्यै कम छ, मीनाको । पुरुष र उनले गर्ने कामको प्रकृति पनि फरक छ । ‘केटारुले भारी बोक्छन्, हामीले यी यसरी बालुवा चाल्ने हो,’ उनी भन्छिन् ।

बालुवा चालेको दिनमा ५ सय रुपैयाँ उनले पाउँछिन् भने पुरुषले एक ट्रिप (एक भ्यान वा ट्रिपर) वापत २ हजार रुपैयाँ पाउँछन् । ‘हामीले जमिन खोतलेर बालुवा, ढुंगा निकाल्छौं । केटारुले त्यै बोकेर माथि लान्छन्,’ बगरको माथिल्लो उँचो भाग देखाउँदै उनले भनिन्, ‘दिनभरि यति काम गरेपछि २ सय बराबरको त नास्तै खाइन्छ । ३ सयले के पो हुन्थ्यो र ?’

गत वर्षसम्म दिनमा १ ट्रिप बालुवा निकलेको १९ सयसम्म पाएको अर्की एक श्रमिक महिलाले बताइन् । गुल्मी घर बताउने उनले भनिन्, ‘पहिले त काम अप्ठेरो भएपनि धेरै पैसा आउँथ्यो । पछि ठेकेदारले हामीलाई ठग्दै गए ।’

आफूहरुले दिनभरि पसिना चुहाएर साहु मोटाउने काम भइरहेको उनको गुनासो थियो । ‘हामीलाई ठेकदारले ५ सय रुपैयाँ दिन्छ । त्यो पनि झगडा गरिगरी मागेका हौं । ठेकदार आफूले त १ टिप्पर बालुवा, डुंगाको ४-५ हजारसम्म बेच्छ,’ उनीहरु भन्छन् ।

सेती बगर, रामघाटमा त्यसरी बालुवा चाल्ने कोही काखे बालक च्यापेर काम गरिरहेका पनि भेटिन्छन् । घाटमा बर्खाको समयभन्दा हिउँदमा बढी कामदारको ओइरो लागेको देख्न सकिन्छ । बर्खामा आएको बाढीले बगाएर ल्याएको बालुवा तथा ढुंगा हिउँदमा श्रमिकले निकालेर बिक्री वितरण गर्छन् ।

रामघाटमै बालुवा चाल्दै गरेकी पर्वतकी चिनुको कथा पनि त्यस्तै छ । उनले बालुवासँग खेल्न थालेको १० वर्ष भइसकेको छ । १० वर्षको अवधिमा उनले कहिल्यै महिला दिवसबारे नसुनेको बताइन् । ‘के हुन्छ र त्यस्तो ? मैले त आजै सुनें,’ भनिन्, ‘काम नगरे खानै पाइन्न । त्यस्ता कार्यक्रममा गएर खान पाउने हो र ?’

बगरको बालुवा चालेर जीविकोपार्जन गरेपनि भनेजस्तो सजिलो छैन । कहिले प्रहरी आएर दुख दिन्छ त साहु, ठेकदार कराउन आइपुग्छन् । चिनु दुखेसो पोख्छिन्, ‘साँझबिहान नभनी काम गर्नुपर्छ । पुलिस आएर पनि हामीलाई थकाउँछ, कहिले साहु आएर थकाउँछ ।’ खानलाउन मात्रै पुग्ने उक्त कमाइले कहिलेकाहीं परिवारका सदस्य कोही बिरामी भइहाले ठूलै आपत आइलाग्ने उनी बताउँछिन् ।

अन्तर्राष्ट्रिय स्तरमै मनाइँदै आएको महिला श्रमिक दिवसले मीना र चिनुजस्तो वास्तविक श्रमिक महिलालाई भने छोएको छैन । उनीहरु साँझ बिहानको रोजीरोटीका लागि दिनरात मेहेनत गर्दैछन् । ३२ वर्षीया माया गुरुङले भने दिवसबारे हिजोअस्ति सुनेको प्रतिक्रिया दिइन् ।

‘हिजोअस्ति ह्याँ २-४ जना आथे । कोल्लाई हो सम्मान गर्ने भन्थे । तपाईंहरु जम्मा हुनुस् है भनेर गाका छन्,’ मायाले भनिन्, ‘काम पो गर्ने हो कि कार्यक्रम हेर्न जाने हो ?’ उनले आफूल बगरमा काम गर्दा धुलोमैलो लागेको लुगाले ठूला होटलहरुमा हुने कार्यक्रममा जान नसक्ने बताइन् ।

बर्खामासमा पानीको सतह बढ्ने भएकाले बालुवा निकाल्न बन्द हुने भएपनि बाध्यताले ज्यानको बाजी लगाएरै काम गर्नुपर्ने मीना बताउँछिन् । भन्छिन्, ‘वर्षभरि पुग्ने पैसा कमाए पो बर्खामासमा २ महिना आनन्दले बस्न हुन्थ्यो । यता काम बन्द भए उता भोक रोकिँदैन केरे ।’ बर्खामासमा ज्यानको बाजी लगाएरै निकालेको बालुवा आफैं बेच्न पाइने भएकाले पनि आफूहरु वर्षैभरि खटिनुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

पुरुष बराबर काम गरेपनि ज्यालामा अत्यन्तै फरक हुँदा आफूहरुलाई गाह्रो परेको उनीहरु बताउँछन् । भन्छन्, ‘बेल्चा समाएर बिहानैदेखि बालुवा निकाल्नेदेखि चालेर ठिक्क पारिदिन्छौं । केटाहरु आएर बोकेर मात्रै लैजाने हो । ज्यालाचाहिँ आधाभन्दा पनि कम ।’ एउटै प्रकृतिको काम भएपछि ज्याला पनि एउटै हुनुपर्ने उनीहरुको माग थियो ।

रामघाटमा त्यसरी बालुवा चाल्दै जीवन चलाउने करिब ४-५ सय हाराहारीमा महिला श्रमिक कार्यरत छन् । महानगरपालिकाले चालुआर्थिक वर्षमा असार मसान्तसम्मका लागि देवचुली कन्स्ट्रक्सनलाई उक्त घाटको नदीजन्य पदार्थ निकाल्ने ठेक्का दिएको छ ।

‘एकवर्षका लागि महानगरले ६ करोड २० लाख रुपैयाँमा उक्त कम्पनीसँग सम्झौता भएको छ,’ महानगर राजश्व विभाग प्रमुख रोमनाथ उापध्यायले भने । रामघाटको ६२ हजार घनमिटर माटो निकाल्न पाइने कम्पनीसँग महानगरले सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया