सीमाको नारी दिवस

समाधान संवाददाता २०७५ फागुन २५ गते १४:५४

लक्ष्मी अर्पणा

नारी पुरुष एक होऔं, एक होऔं
महिला हिंसा बन्द गर, बन्द गर
अन्तर्राष्ट्रिय महिला दिवस जिन्दावाद, जिन्दावाद !

चिसो छिंडीमा आधा होस, आधा बेहोसीमै उसका कानले दूरदराजमा कतै सुनिरहेको थियो । एक हुल महिला चिच्याउदै नारा लगाइरहेका थिए । एकाबिहानै उठेर खाना पकाउने, लुगा धुने, छोराछोरी तयार गर्ने, उनीहरुका लागि खाजा तयार गरी स्कुल बस चढाएपछि हतारहतार आफू तयार हुन्छे सीमा । आधा रातमा घरमा छिरेको श्रीमान विस्तारामै थियो । घडीले ९ः४५ बजाईसक्दा उ खाना खान थाल्छे । यस्तो लाग्छ, उसले पेटभरी खाना खान त बिदाको दिन नै कुर्नुपर्छ बाँकी अरु दिन त बस खाएको जस्तोमात्र हुन्छ । जुठा भाँडा एउटा कुनामा राखेर ऊ अफिस दौडिन्छे । दिनभर अफिसमा सयौं सेवाग्राहीका कुरा सुन्छे । उनीहरुले ल्याएका कयौं काम गर्छे । फेरि ४ बज्न नपाउँदै छोराछोरी फोन गर्न थाल्छन्, खाजा के खाऊ ममी ।

Advertisement

पाँच बच्नासाथ फेरि घर फर्किने चटारो हुन्छ । राम्रोसँग अफिसको काम सकिएको पनि थिएन । काम पर पन्छाएर ऊ घरतिर दौडिई । अफिसको काम व्यवस्थित रुपमा हुन पनि असार नै कुर्नुपर्ने जस्तो हुन्छ । घरमा पुगेर बच्चालाई ड्रेस चेन्ज गराई खाजा बनाएर खुवाएपछि बिहानको भाँडा माभ्छे । त्यसपछि साँझको खाना बनाउन थाल्छे । बच्चाहरुको होमर्बक गराएर खाना खुवाउँछे । छोराछोरी खाएर सुतिसकेपछि झ्यालमा बसेर सीमा चकमन्न अध्यारो सडकमा आँखा बिछ्याएर श्रीमान आउने बाटो हेर्न थाल्छे । बिहान अफिस हिड्ने बेलामा बिस्तरामै छोडेको श्रीमान् कुन बेला खाना खाएर कहाँ पुग्यो, कति बेला आउँछ, केही पत्तो हुँदैन । उ आफू भोकै बसेर श्रीमान्को प्रतीक्षामा गरिरहन्छे ।

आधा रात बितिसकेपछि टुटेफुटेको स्वरमा पप गीत गाउदै लड्खडाउँदै आइपुग्छ उसको श्रीमान् । ढोकाबाट छिर्नु अघिसम्म पप ¥याप र रक्सीमा मस्त श्रीमान् उसको अनुहार देख्नेबित्तिककै तथानाम गाली गर्न थाल्छ । कहिले गालीमात्र त, कहिले पिटाएसमेत उसको भागमा हरेक दिन पर्छ । खाना परोस् वा नपरोस् । उसले भन्छ, तँ इज्जत नभएको आइमाई, दिनभर कता कता डुल्छेस् र कोकोसँग मेरो इज्जत बेचेर आउछेस् । श्रीमानका यस्ता शब्द सुन्न नसकी दुबै कान थुन्छे सीमा । खाना ताताएर दिन्छे । रक्सीको मातमा श्रीमान् आधा खान्छ, आधा मिल्काउँछ । सीमा त्यसपछि खाना खाएर भाडा माझ्छे ।

Advertisement

रात १ बजेपछि बल्ल उसको आराम गर्ने समय हुन्छ । भोलि बिहान पाँच बजे उठ, उही दैनिकी यसरी नै बर्षौ बिताइरहेकी छ उसले । उसको श्रीमान् उसैको कमाइमा रक्सी खान्छ र उसलाई गाली गर्छ, पिट्छ । तैपनि लाचार, विवश आफ्ना सन्तानको मुख हेरेर सब सहिदिन्छे सीमा । कतिले भन्छन्, आजका नारी हौं, हामी सबै सहेर कहाँ बस्छौं । तर पनि उ जस्ता सयौं सीमा होलान् यो सहरमा जो चूपचाप सबै सहिरहेका छन् ।

करिब पन्ध्र वर्षअघि उसको बिहे भएको थियो, जतिखेर उ पढाइ सँगसगै नेपाल सरकारको जागीरे भइसकेकी थिई । एकदिन बाबा उसको कोठामा छिरेर भन्नुभयो, तिम्रो मामाले बिहेको लागि केटा देखाउनु भएको छ, राम्रो छ रे, मास्टर डिग्री सकेको, अहिले जागिर छैन रे । तर छोरी पढेको भएपछि जागिर पनि त खाइहाल्छन नि, तिमी के भन्छ्यौं तिमी ?
बाबाले यसो भनिरहँदा उसलाई आफूसँगै पढने समीरको अनुहारको झझल्को लागेको थियो । ३ वर्षे ब्याचलर पढाइमा उ सधै सीमाको अर्को पट्टीको बेन्चमा बसेर उसलाई हेरिरहन्थ्यो तर कहिले एक शब्द पनि बोलेन । उसको हेराइमा पनि माया देख्थी सीमा । उसका आँखाका भाव हेरेरै पनि चाल पाएकी थिई उसले तर बोल्ने हिम्मत गरिनँ । उसलाई देख्यो कि एक किसिमको लाज, डर, असहजता महसुस हुन्थ्यो उसलाई । कहिलेकाही उसले आँखा उठाएर हेर्दा समीर हेरिरहेको हुन्थ्यो, ऊ हतारहतार नजर झुकाउथी ।

एक दिन बडो हिम्मत गरेर साथीलाई उसको फोन नम्बर खोज्न लगाई । पहिले डराएर म्यासेजमात्र गरी । पछि फोनमा कुरा भयो तर जहाँसम्म कुरा बढोस् भन्ने उसलाई इच्छा थियो बढेन । दुबै जना एक अर्काको बाटो हेर्दाहेर्दै कतै धेरै पछाडि छुटे । बाबालाई भनोस् पनि के कलेजमा एउटा केटा थियो मलाई मन परेको थियो, उसले पनि मन पराउछ सायद, हेथ्र्यो मलाई कहाँ छ थाह छैन, त्यसैले जे राम्रो लाग्छ गर्नुस् भनेर । धेरै सोचेर उनले बिहेको कुरा बाबाको हातमा छाडिदिई । त्यसपछि एक दिन केटा पक्षका मान्छे आए सीमालाई हेर्न । उसलाई मन नपराउने त कुरै थिएन । हरेक कुरामा जो परिपूर्ण थिइ उ । रुप भने रुप, पढाइमा त्यस्तै तेज, बेलैमा सरकारी सेवाको जागिर, बिहे पक्का भयो । धुमधामले बिहे भयो । बिहेपछि आफनो घर छोडेर श्रीमान्सँग डेरामा बस्न थाली ऊ । बिहेपछि केही समय त ठीकै थियो जागिर खोजिरहेछु, काम गर्छु भन्थ्यो । विस्तारै श्रीमान्का कुलतसँग परिचित हुँदै गई ऊ । सुरुसुरुमा उसको पछाडि चुरोट तान्ने, रक्सी पिउने, पिएको दिन साथीसँग बसेको छु भन्ने श्रीमान् बिस्तारै घरमै पिएर आउन थाल्यो ।

पढेको मान्छे बेला आएपछि त जागिर भै हाल्छ भन्ने बाबाको कुरा सुनेर मञ्जुर भएकी थिई सिमा बिहेका लागि । तर बितेका पन्ध्र वर्षमा उनको श्रीमान्ले केही गरेन । यहीबीच २ छोरा छोरी भए उसका । त्यसपछि झनै कर्तव्य र जिम्मेवारीमा बाधिई ऊ । रहर उसका पनि त कैयन् थिए होलान्, आफना साथीहरुका श्रीमान् श्रीमती रमाएर घुम्दै हिडेको देख्दा उसलाई पनि त्यसैगरी रमाएर हिड्न मन लाग्थ्यो । उसलाई पनि हुँदो हो, श्रीमानले कमाएर उसको कमाइले केही दिओस् । सिउँदोको सिन्दूरसम्म पनि उसको कमाइको लगाउन पाएकी थिइन सीमाले । यतिसम्म कि श्रीमान्लाई होसमा नभेटेको पनि कयौ वर्ष भइसकेको थियो । छोरा छोरीले पनि बाबुको अनुहार बिर्सिसके होलान् भैmं लाग्थ्यो । वर्षौदेखि उ नशामै बाँचिरहेको थियो । उसलाई न त श्रीमतीको केही मतलब थियो, न आफना बच्चाको । पूजाआजा, इष्टमित्र, चाडपर्व आउँछन्, जान्छन्, कसैकोमा जानु छैन । सीमालाई बस घर छ र अफिस । यो बाहेकको दुनियाँ पनि हुन्छ भन्ने सायद बिर्सिइसकेकी थिई उसले । घरमा अलिअलि जोडेका सुनचाँदीदेखि महंगा सरसामान सबै रक्सीमा उडाइसकेको थियो श्रीमान्ले । महिना मर्छ, बच्चाको स्कुल फी, घरको रासनपानी, कोठाभाडादेखि सबै कुरा उसको त्यही तलबबाट पुर्‍याउनु छ । उसलाई त्यसैमाथि श्रीमान्को रक्सीको पैसा नदिने हो भने बाँच्न मुस्किल हुन्छ ।

तलब पाएको पन्ध्र दिन नबित्दै कहिले महिना मर्ला भनेर कुर्नुपर्छ सीमालाई । उसको जिन्दगीमा कहिले श्रीमान्का रहर त, कहिले छोराछोरीका इच्छा, चाहना पूरा गर्ने बहानामा अभावमै रहेका आफ्ना रहरहरुले कहिले पालुवा पलाएनन् । यस्तो लाग्छ डाँडा काटिसकेका छन् उसका रहरहरुले । यति सबै गर्दा पनि आरामले दुई छाक खान सुखले पाउदिँन ऊ । कहिलेकाँही सोच्छे उ, उ जस्तो पढेलेखेको मान्छे, आफनो खुट्टामा उभिएको मान्छेको हालत त यस्तो छ भने जो श्रीमान्कै भरमा जिन्दगी बिताईरहेका महिला छन्, उनीहरुको अवस्था झन कति दयनीय होला ? उनीहरुले कति सहनुपर्छ होला यो सहरमा, अभैm गाउँमा त झन हिंसाको सीमा कहाँसम्मको हुन्छ होला ?

फेरि कुनै दिन आउला र होस आउला उसको श्रीमान्को भन्ने आशमा चूपचाप सबै सहिरहन्छे सीमा । वर्षौ भयो, आफनै आमाबाबासँग भेट नभएको । माइतमा जान मन लाग्दैन उसलाई । पहिले पहिले फोनमा कुरा हुन्थ्यो । फोन भयो कि उसको अवस्थाको जिम्मेवार भएको गुनासो गर्दै रुनुहुन्थ्यो बाबा । कतिपल्ट भन्नुभएको थियो छोडेर घर आइज । तर खै किन फेरि माइतीको आगनमा टेक्न मन लागेन उसलाई । जस्तै भए पनि बच्चाहरुका बाबा छन् भन्नु त छ । छोडेपछि ती कलिला बालकको मनस्थितिमा केही नराम्रो असर पर्ने हो ? दाजु, भाउजू, दिदीहरुको खबर के छ थाहै छैन । यस्तो लाग्छ यो संसारमा जो जति साथमा छन्, कुनै न कुनै स्वार्थ निभाउनका लागि छन् । दुःखमा कोही छैन, जो सुखमा छन् । अभावमा कोही छैन जो सम्पूर्णतामा छन् । यही त दुनियाँको रित हो, यही त आफन्तको रित हो ।

एक दिन हतार हतार अफिस जाँदै गर्दा बाटोमा मान्छेको भिडले उसलाई पनि तान्छ । के रहेछ भनेर हेर्दा एक जोडी वृद्ध श्रीमानश्रीमती थिए । श्रीमती बाटोमै सुतिरहेकी थिइन्, श्रीमानले त्यहाँ उपस्थित मान्छेसँग पैसा मागिरहेका थिए । त्यो दिन बल्ल सिमालाई लागेको लाग्यो- यो संसारका सबै लोग्नेमान्छे खराब हुँदैनन् । कोही त्यस्ता पनि हुन्छन्, जो आफ्नी श्रीमतीलाई संसारमा सबैभन्दा बढी माया गर्छन् । त्यो देखेर उसका आँखा रसाएका थिए । उसले पनि ती वृद्ध बालाई हजार रुपैया सहयोग गरेकी थिई । त्यो घटनाले फेरि एकचोटि उसलाई कलेजमा आफनोभन्दा पल्लो पट्टीको बेन्चमा बसेर उसैलाई हेरिरहने समीरको याद गराएको थियो ।
त्यसै दिन अकस्मात अफिसमा एउटा फाइल बोकेर समीर उसको अगाडि उपस्थित भयो । एकछिन त विश्वास नै लागेन सीमालाई । बिहान सम्झिनु, दिउँसो भेट हुनु आश्र्चयको कुरा हो यो । समीर पनि अचानक सीमालाई त्यहाँ देखेर अवाक भएको थियो। सिमाले नै बस्न भनी । पहिलोपल्ट यसरी आमुन्ने भएर कुरा गरिरहेका थिए दुई जना ।

वर्षौपछिको यो भेटमा लाज भन्ने कुरा थिएन उनीहरुमा । समीरले खाजा खान जाँऊ भन्यो । सिमा हाफ डे बिदा लिएर निस्किई । कलेजपछिका सबै कुरा सुनाए एक अर्कालाई । जिन्दगीका आरोह अवरोह सुख दुःख फुकाए । मानौं, वर्षौ छुटेका सहयात्री भेट भएका हुन् । सीमाको हातमा आफ्नो हात राखेर समीरले भन्यो ।

जिन्दगीभर एउटै गुनासो रहने भयो । कास त्यो बेला तिमीलाई माया गर्छु भनेर भन्न सकेको भए, म आज पनि त्यसैगरी तिमीलाई हेरिरहन चाहन्छु । तिमीलाई बिर्सिएर अघि बढन सकिनँ । म दिलमा तिमीलाई सजाएर कसरी अर्कैको सिउँदो सजाउन सक्थे ? त्यसैले बिहे नगर्ने निर्णय गरें । पहिले त बुबाआमा दिनदिनै कराउनु हुन्थ्यो । अब त समय सकिएछ कि भन्न पनि छाड्नु भयो । जिन्दगीमा तिम्रो साथ पाएको भए मेरो जस्तो सुखी जिन्दगी कसको हुन्थ्यो होला ? साच्चै तिमीलाई पाउने मान्छे संसारकै भाग्यमानी मान्छे हो ।

समीरका यी कुरा सुनेर सीमाले पनि कल्पनामै समीरसँगको जिन्दगी बिताएको सोची । जसले कसैको यादमा मात्र पनि जिन्दगी बिताउन सक्छ भने त्योभन्दा महान् व्यक्ति को हुन्छ दुनियामा ? उसको साथमा भइदिएको भए कति सहज हुन्थ्यो होला जिन्दगी । कति माया पाउथे होला । उसका बच्चासँग कति सुखमय, आनन्दमय बित्थ्यो होला जिन्दगी ? सोच्थी, उसले भनेन भनेर किन चूपचाप बसी होला ? किन अघि सरेर भन्न सकिन, तिम्रो आँखामा मेरालागि छल्किने प्रेम मैले देखेको छु । समीर अरु त अरु बाबाले बिहे गर्नुअघि तिम्रो कोही छ भने भन भन्दा किन भन्न सकिन होला ?

संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे छ उसको । किन साथीहरुसँग सोधखोज गरिन समीरको, किन भनी बाबालाई जे राम्रो हुन्छ गर्नु भनेर । यिनै कुरा मनमा खेलाउँदै उठेर हिडी ऊ रेस्टुरेन्टबाट । जुन प्रश्नहरुको बाढी चलेको थियो उसको मनमा, त्यसको उत्तर न आपैmसँग थियो, न त सोध्ने कुनै ठाँउ नै थियो । त्यसपछि समीरसँग कहिलेकाँही भेट हुन थाल्यो । जति बेला उसको काम बोकेर उ सिमाको अफिस आउने गथ्र्यो । जति नै सोचे पनि जिउनु त वास्तविकतामा थियो । बितिसकेका कुरामा दुःख मनाएर हुने त केही होइन ।

मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि नारी दिवस मनाउन थालेको वर्षौ भइसकेको छ । नारी दिवसका दिन नेपाल सरकारले महिलालाई सार्वजनिक बिदा दिने गरेको छ । यसै नारी दिवसको अवसर पारेर सीमाको अफिसमा कार्यरत सम्र्पूण महिला कर्मचारीको सम्मान गर्ने कार्यक्रम राखिएको थियो । बिहान चाडै नै उठेर घरका सबै काम सकिसकेकी थिई ऊसले । हिजो आफू अफिसबाट आउनुभन्दा अगाडि हिडेको श्रीमान् अभैm घर फर्किएको थिएन । बच्चालाई खाना खुवाएर डे«स लगाई स्कुल बसमा चढाएपछि आफू पनि अफिस जानका लागि तयार हुन लागी । आज अफिसका डे«स नलगाएर अर्को सिफनको साडी लगाई । लामो कपाल हल्का छाडी, अनुहारमा पाउडर, आँखामा गाँजल, निधारमा टीका, ओठमा लिपिस्टिक लगाई । ऐनामा आफूलाई हेर्दा आफू नै हैन जस्तो लाग्ने । साच्चै यसरी तयार नभएको पनि वर्षौ भएको थियो उसले । कलेज पढने बेला घन्टौ ऐना अगाडि बसेर तयार हुन्थी । एक दिन समीरले मोबाइलमा म्यासेज गरेको थियो- तिमीलाई गाजल सुहाउँछ । त्यसपछिका कुनै पनि दिनमा गाजल बिना कलेज गइन ऊ ।

बिहेपछि एक त जिम्मेवारीले यसरी थिचेको थियो, अर्को कोही थिएन उसलाई मायाले हेर्ने । न त थियो कोही तिमीलाई गाजल सुहाउँछ भन्ने । वर्षौपछि यसरी सजिई की आफैंले आफैंलाई प्रश्न गरी- के म नै यति राम्री देखिएकी हुँ त ? आज पनि त उ अफिसमा कार्यक्रम भएकाले त्यसरी तयार भएकी थिई, नत्र त फुर्सद नै कहाँ हुन्छ र उसलाई । बाहिर निस्किएर ढोकामा ताल्चा लगाउनमात्र के लागेकी थिई, उनको श्रीमान बिहानै रक्सीले मातेर आइपुग्यो । उनलाई देख्नेबित्तिकै अनेकथरी गाली गर्न थाल्यो । कपालमा समाएर भन्न थाल्यो- कोसँग जान लागेकी छस् यति राम्री तयार भएर, म घर आइनँ भने त छाँडा भएर जोसँग मन बलाग्छ हिड्छस्…।

लात्तीले भकाभक पिट्न लाग्यो । उ कुनै प्रतिक्रियाबिना नै थापिरही उसका प्रहार । पिट्दा पिट्दा थाकेपछि उ कोठाभित्र छि¥यो । केही समयपछि त्यही कतै नजिक बाटोमा केही महिला नारा लगाइरहेको अर्ध बेहोसीमै सुनी सीमाले- महिला हिंसा बन्द गर, बन्द गर, नारी पुरुष एक हौं, एक हौं, अन्तर्राष्ट्रिय नारी दिवस जिन्दावाद जिन्दावाद …!!

तपाईको प्रतिक्रिया