विजयपुर पुल चर्कियो, खोलाबाटै वैकल्पिक बाटो बनाइँदै

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:१६

विकास रोकामगर

साविक लेखनाथ नगरपालिकाबाट पोखराको मुख्य सहरी भाग जोड्ने विजयपुर खोलामाथिको पुल चर्किएको छ । पृथ्वी राजमार्गबाट मुख्य बजार प्रवेश गर्ने निर्विकल्प पुल धरापमा परेपछि भारबाहक गाडी आउजाउमा समस्या उत्पन्न भएको छ ।

पुल ७ ठाउँमा चर्किएको छ । पुलका बटमकड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाँच्चिने खतरा छ । पुल चर्किएर जोखिम बढेपछि सडक डिभिजन कार्यालयले १० टनभन्दा माथि भार बोकेका सवारी साधन आवतजावतमा रोक लगाएको छ ।

Advertisement

७४.२ मिटर लामो पुलको तत्काल मर्मत नगरे चाँडै भत्किने सम्भावना रहेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । ‘पुलमा खिया लाग्न र रङ खुइलिन थालेपछि रङ लगाउन थालेका थियौं । त्यहीबेला पुल जोखिममा भेट्यौं,’ कार्यालय प्रमुख हरिकुमार पोखरेलले भने, ‘बेलैमा पुननिर्माण नगर्ने हो भने पुल भत्किने सम्भावना छ ।’

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको भएपनि तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । ‘आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ,’ पोखरेलले भने, ‘हामीले अहिले कसरी छिटो हुन्छ, तत्काल अस्थायी तरिकाले बनाउने कोसिस गरिरहेका छौं ।’

Advertisement

पुलको पुननिर्माण र लागतबारे अध्ययन गर्न शुक्रबार १ टोली आएको थियो । टोलीले अध्ययन प्रतिवेदन बुझाउन पनि १ महिना लाग्ने देखिएको सडक डिभिजन कार्यालयले बताएको छ । ‘अध्ययन टोलीले रिपोर्ट दिन पनि लामो समय लगाउने देखियो । त्योभन्दा समस्या निम्तिन नदिन अस्थायी प्रक्रियामा लागेका हौं,’ पोखरेलले भने । पुलमाथि भार क्षमता कम बनाएर काम सक्न महिनादिन लाग्ने उनले जनाए ।

पुलको अध्ययन गर्न पुल महाशाखाको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर प्रमुख भरत मण्डल, पुलमहाशाखा प्रमुख दीपक कुमार भट्टराईको टोली आएको थियो ।

पोखरा २६ वडाध्यक्ष नारायण बरालले पुलमा हेभी गाडी चलाउन नमिल्ने भएपछि खोलाबाटै वैकल्पिक बाटो बनाइन लागेको जानकारी दिए । ‘२,३ दिनमा खोलाबाटै डाइभर्सन भइसक्छ । त्यसपछि हेभी गाडी खोलाबाट र लाइट गाडी पुलबाटै आवतजावत गर्न सक्छन्,’ उनले भने, ‘वैकल्पिक बाटो निकाल्दा बीचमा व्यक्तिगत संचरना पनि परेको थियो । त्यसलाई सहमति अनुसार नै भत्काइने भएको छ ।’

स्टिल ब्रिज प्रविधिमा बनाइएको पुलमा दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । २०५९ सालदेखि निर्माण सुरु भएको उक्त पुल २०६४ देखि सञ्चालनमा आएको थियो । २०६६ सालमा भगवती हाइड्रोपावरसँग ५ वर्षभित्र उक्त पुलको वैकल्पिक पुल बनाउन सहमति भएको थियो । तर, चासो नदिँदा अहिलेसम्म बन्न सकेको छैन ।

….
चर्किएको पक्की पुल नजिक पुरानो ट्रस्टपुलको आधा भाग छ । तर वर्षौंदेखि प्रयोगमा नआउँदा जीर्ण बनेको छ । पुरानो ट्रस्टपुल अन्य ठाउँमा पुल बनाउन प्रयोग गर्न सकिने भए पनि लामो समयदेखि प्रयोग नगरिँदा खिया लागेर काम नलाग्ने हुँदै गएको छ । ६४ सालमै नयाँ पक्की प्रयोगमा आएपछि उक्त ट्रस्ट पुलको आधाभाग साविक लेखनाथ २ र साविक भरतपोखरी गाविस ३ जोड्ने सेती नदीको पशुपति घाटमा लगिएको थियो । आधा पुलबारे सरोकारवाला निकायले चासो नदिँदा प्रयोगविहीन बनेको हो ।

तपाईको प्रतिक्रिया