सिके राउतसँगको सहमति अपारदर्शी- कोइराला

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:३४

समाधान संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारको सिके राउतसँग गरेको सहमति अपारदर्शी भएको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ स्याङ्जाको २० औं जिल्ला सभामा प्रखर नेता कोइरालाले सहमति के हो ? सरकारले चाडै स्पष्ट पार्नु पर्ने बताए ।

बार्ताको माध्यमबाट सहमति गर्नु ठिक भएको बताउँदै कोइरालाले राउतले सहमतिको जनअभिमतलाई जनमत संग्रह भनि सकेको बताए । बिखण्डनकारी नारा लिएर अगाडि बढेका राउतमा पश्चताप नदेखिएको बताउँदै नेता कोइरालाले सहमतिको बारेमा स्पष्ट नगरेमा सरकार नै अफ्ठेरोमा पर्ने बताए ।

Advertisement

वाइडबडीमा धेरै रकम घोटला भएको बताउँदै कोइरालाले अदालतको मध्यमबाट सत्य तथ्य पत्ता लगाउनु पर्नेमा जोड दिए । वाइडबडी, एनसेल, बुढीगण्डकीमा संस्थागत भ्रष्टाचार भएको बताउँदै कोइरालाले भने, ‘सबै मुद्धाको बारेमा कांग्रेस केन्द्रीय समितिमा कुरा उठ्नु पर्दछ ।’ ठूलै नेताहरु भए पनि कसैलाई नछाडि कारबाही हुनु पर्ने बताउँदै कोइरालाले भने, ‘म मुछिएको भए पनि कारबाही होस् ।’

सरकारले काम भन्दा पनि अराजकता मच्चाएको बताउँदै कोइरालाले अदालत, अख्तियार सबै ठाउँमा हस्तक्षेप मात्र गरेको बताए । बिप्लव माओबादीको बिरुद्धमा सरकार गलत ढंगले लागेको बताउँदै कोइरालाले भने, ‘दमन होइन बार्ताबाट सहमति गर्नु पर्दछ ।’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गिरिजाप्रसाद कोइरालाले जंगलबाट सत्तामा ल्याएको बताउँदै कोइरालाले बिप्लवलाई जंगलबाट बाहिर ल्याउने काम ओली र प्रचण्डको जिम्मा भएको बताए । सरकार सही ढंगले प्रस्तुत भएमा कांग्रेस असल प्रतिपक्षको भूमिका निर्वाह गर्दै सहयोग गर्ने पक्षमा रहेको नेता कोइरालाको धारणा छ ।

Advertisement

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व मन्त्री यज्ञबहादुर थापा, पूर्व सांसद मोहन पाण्डे, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष एमपी भुसाल, प्रदेश उपाध्यक्ष भरत लम्साल, कांग्रेस स्याङ्जा सभापति कुमार राना, प्रदेश सभा सदस्य मेघलाल श्रेष्ठ, नेका कास्की सचिव सुदिपमोहन भट्टराई, वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँण लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया