पर्यटकीय गन्तव्य बन्दै बेलढुंगा

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:५३

रामबहादुर थापा

बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुंगालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्यअघि बढाइएको छ । पर्यटकीय गन्तव्यस्थल बेलढुंगा बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दी, बेनी नगरपालिका–३ भकिम्लीसँग जोडिएको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) का रुपमा समेत परिचित बेलढुंगासहित आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न स्थानीयवासी कस्सिएका हुन् ।

बेलढुंगा नजिकैको ‘स्वर्गाश्रम’ मा दुवैतर्फका सरोकार पक्षबीच पर्यटन विकासमा हातेमालो गर्ने सहमति बनेको हो । धम्जा, ओखलेस्थित ‘बेलढुङ्गा सामुदायिक घरवास’ को आयोजनामा भएको भेलाले पर्यटकीय पूर्वाधार निर्माणमा दुवैतर्फबाट पहल अघि बढाउने निर्णय गरेको छ । काठेखोला गाउँपालिका ३ का अध्यक्ष यामबहादुर श्रीसले बेलढुंगामा पर्यटकीय पूर्वाधार अभाव रहेको बताए । ‘पदमार्गमा यो वर्ष २ लाख वडाबाट छुट्टिएको छ’, उनले भने, ‘पर्यटनमा बजेट कम छ, अब बढाउँछौं ।’

Advertisement

गाउँमा पर्यटन विकास हुन सकेमा बसाइँसराइ रोकिनुका साथै सर्वसाधारणको जीवनस्तर उकास्न सकिने उनको विश्वास छ । बेनी नगरपालिका ३ भकिम्लीका अध्यक्ष पदम पुनले पर्यटनमा धम्जा र भकिम्लीबीचको दिगो सहकार्यमा जोड दिए । ‘पर्यटनका लागि सबैले हातमालो गरौं,’ उनले भने, ‘गाउँको समृद्धिको आधार पर्यटन बन्न सक्छ ।’ नगरपालिकाबाट चालू आवमा स्वर्गाश्रम र बेलढुंगा क्षेत्रको विकासका लागि रु सात लाख बजेट छुट्याइएको छ । उक्त बजेट सडक र पदमार्गमा खर्च हुनेछ । सदरमुकाम बेनी बजारबाट १८ किमीको दूरीमा अवस्थित बेलढुंगा जोड्न करीब २ किमी सडकको मार्ग खोल्न बाँकी छ । बागलुङतर्फबाट पनि ४ किमी सडकमार्ग जोडिन बाँकी छ ।

बागलुङतर्फबाट भकिम्ली जोड्ने सडक काठखोला गाउँपालिकाको गौरवको योजना हो । दुवै जिल्लाको सीमास्थल देउरालीबाट बेलढुङ्गा चढ्ने बाटोमा भने पदमार्ग बनाउने योजना छ । पदमार्गका लागि दुवै वडाले बजेट विनियोजन गरेका छन् । पदमार्गसँगै बेलढुङ्गामा घेराबार लगाउने, ‘रेलिङ’ राख्ने, विश्रामस्थललगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ । समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाइमा अवस्थित बेलढुङ्गा दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य हो । बेलढुंगाबाट हिमशृङ्खलासँगै बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा र गुल्मीका मनोरम भूभागको अवलोकन गर्न सकिन्छ ।

Advertisement

प्राकृतिक र जैविक हिसाबले समेत महत्वपूर्ण बेलढुंगा क्षेत्रमा बहुमूल्य जडीबुटी पाइनुका साथै जङ्गली जनावरको वासस्थान छ । बेलढुङ्गादेखि तल आधा घण्टाको पैदल दूरीमा रहेको स्वर्गाश्रम पनि त्यसक्षेत्रको धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउँ हो । म्याग्दीको तातोपानी–स्वर्गाश्रम–बेलढुङ्गालाई जोडेर विशेष पर्यटन क्षेत्र घोषणा गर्न पहल गर्नुपर्ने धौलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताए ।

‘बेलढुंगालाई आधार मानेर बागलुङ र म्याग्दीले पर्यटनमा मितेरी साइनो लगाएर काम गर्न आवश्यक छ’, उनले भने । मुस्ताङ आउने पर्यटकलाई बेनी, तातोपानी, स्वर्गाश्रम, बेलढुङ्गा हुँदै बागलुङ भित्र्याउन सकिने उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले सूचीकृत गर्ने प्रदेशभित्रका उत्कृष्ट १ सय पर्यटकीय गन्तव्यमा बेलढुङ्गालाई पार्न सबैको पहल आवश्यक रहेको अध्यक्ष कँडेलले बताए । ग्रामीण पर्यटनका अभियन्ता अग्नि कँडेलले बागलुङ र म्याग्दीमा कृषि, धार्मिक, सांस्कृतिक, प्राकृतिक र रैथाने पर्यटनको सम्भावना रहेको उल्लेख गरे । ‘पर्यटन एउटा उद्योग हो, यसमा जो कोही जोडिन सक्छ’, उनले भने, ‘उद्यमशीलता विकास र रोजगार सिर्जनाका लागि पर्यटन विकासमा सबैले हातेमालो गरौं ।’

बेलढुंगा सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष टेकबहादुर पुनले पर्यटकलाई स्थानीय उत्पादन, संस्कृति, खानपानसहितको सेवा प्रदान गर्न घरवास सञ्चालनको तयारी भइरहेको बताए । धम्जा, ओखलेका १४ घरमा घरवास (होमस्टे) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया