अन्तत बन्ने भयाे पोखरा रंगशाला

समाधान संवाददाता २०७५ फागुन २६ गते १८:३२

विकास राेकामगर

पोखरा रंगशाला पुनर्निर्माण आइतबारबाट सुरु भएको छ । ठेक्का सम्झौताको २ महिनापछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले रंगशाला पुनर्निर्माण शिलान्यास गरेका हुन् ।

उनले रंगशाला प्रतिष्ठासँग जोडिएको विषय हुनाले समयमै निर्माण सक्न निर्देशनसमेत दिएका छन् ।

Advertisement

‘साग खेल पनि नजिक आइरहेको छ । त्यसका लागि पनि भौतिक पूर्वाधार तोकिएकै मितिमा पूरा गर्नुपर्ने जिम्मेवारीसँगै दायित्व छ,’ मन्त्री विश्वकर्माले भने, ‘यसका लागि सहयोग गर्न सरकार तयार छ ।’ उनले पोखरालाई खेल पर्यटन बनाउन रंगशाला पुनर्निर्माणले पनि सहयोग गर्ने दाबी गरे ।

विसं २०३९ बनेको रंगशालाको विशिष्ट कक्ष ०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो ।

Advertisement

गएको पुसमा राष्ट्रिय खेलकुद परिषदले पोखरा फुटबल स्टेडियम निर्माण गर्न भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल खेल ललितपुर (जेभी)सँग सम्झौता गरेको थियो । सम्झौताअनुसार १ अर्ब ३० करोड रुपैयाँमा अबको ४ महिनाभित्र स्टेडियम बनाइने भएको छ ।

शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशाला १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको बनाउन लागिएको जानकारी दिए । ‘यसलाई ३० हजार दर्शक सिट क्षमताको पनि बनाउन सकिनेछ,’ उनले भने ।

रंगशालाभित्र बन्ने फुटबल मैदान विश्व फुटबल महासंघ फिफाको मापदण्ड अनुरुप १ सय ५ मिटर लम्बाइ ६८ मिटरको चौडाइ हुनेछ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक बनाइने छ । ४ सय मिटरको ८ लेनको सिन्थेटिक ट्रयाक हुनेछ ।

ठेक्का सम्झौता हुनुमा मनकामना केबलकार फुटबल प्रतियोगिता र आहा रारा गोल्डकप प्रतियोगिताले निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । पोखरा रगंशाला ४ सय १७ रोपनी जग्गामा बनेको छ ।

तपाईको प्रतिक्रिया