दाजु शुक्रराजको नाममा पत्र

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:५३

आदरणीय दाजु,
जय नेपाल
तपार्इंद्वारा लिखित पुस्तक ‘कांग्रेसमा संकल्पित ५२ वर्ष’ प्रकाशित भएको खबरले खुसी बनायो । आफूले धेरै कारणले श्रद्धा गरेको व्यक्तिद्वारा लिखित पुस्तक पढ्न स्वभाविक रुपमा सबै मानिसमा हतार हुन्छन् भन्थे मलाई पनि त्यस्तै भयो । किताब अद्योपान्त पढें । पुस्तक प्रकाशित गर्नु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु ।

केही समयअगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा आएको बेला उहाँलाई भेट्न जा“दा संयोगबस तपाईंसँग होटेल ग्रान्डमा मेरो भेट भएको थियो । तपार्इं त्यतिबेला होटेलको लबीमा बसेर किताब वितरण गर्नका लागि केही व्यक्तिको नाम लेखिरहनु भएको थियो । मैले तपार्इंलाई अभिवादन गर्दै तपार्इंको नजिकै बसें । विजय अधिकारी र राजु क्षेत्री भाइ पनि हामीसँगै थिए । मैले तिमीलाई यो पुस्तक पठाएको थिए पुस्तक पायौ भनी तपार्इंले मलाई जिज्ञासा राख्नुभएको थियो । मैले छैन दाजु भनें । तपार्इंले कसैसँग पठाइदिन्छु भन्नु भयो । किताब पढ्न पाइने कुराले म अल्हादित भए“ । ठूलो रुखमुनि बस्यो भन्यो छहारी मिल्छ भन्ने कुरा मेरो जीवनमा पनि लागु भयो । म दंग परें । यसै क्षण मेरो हृदयले फेरि भन्यो, आफूले धेरै उचाइमा राखेर श्रद्धा गरेको व्यक्तिले लेखेको किताबको सुगन्ध सर्वत्र फैलिएर आफैंले खोजेर पढ्न पाएको भए कति रमाइलो हुने थियो । एकैछिन अडिएर मैले तपार्इंलाई यसै भनें । तपार्इंको उचाईबाट आफैंले लेखेको किताब आफैंले बाँड्दै हिँड्नु त्यति शोभनीय हुँदैन कि ? मैले तपार्इंलाई डराइडराई त्यसो नगर्न अनुरोध गरें । मलाई आफूले श्रद्धा गरेको व्यक्तिलाई यति भन्न हक लाग्छ जस्तो लाग्यो । दाजुको त्यो मेरो भनाइलाई पक्कै पनि सकारात्मक रुपमा लिनु भएको छ भन्ने मैले ठानेको छु ।

कतै महत्वपूर्ण सूचना र सन्देश छुट्छन् कि भन्ने कुरामा अत्यन्त सजग हु“दै किताबलाई राम्रोस“ग पढें । किताबको अध्ययनपश्चात् एउटा अत्यन्त अमिलो धारणा निर्माण भयो । आफ्नो राष्ट्रिय पहिचान निर्माण गरिसकेका लक्ष्मण घिमिरेलाई गिरिजाप्रसाद कोइरालाको घर–ज्वाइँ भनेर मानमर्दन गर्न खोज्ने, ०६१-०६२ को आन्दोलनलाई दोस्रो जनआन्दोलन र राजा ज्ञानेन्द्रलाई पूर्व राजा भनेर विद्यार्थीलाई पढाउने प्राध्यापकले भावी पुस्तालाई कस्तो शिक्षा दिएका होलान् भनेर देशका प्रबुद्ध वर्गका विरुद्ध वेतुकका कुरा गर्ने, इमान्दार पूर्वक कांग्रेसका लागि सहयोग गर्ने कतिपय साथीलाई कांग्रेसको साथमा रहेर कांग्रेसलाई सहयोग गरेका थिए भन्न नसकी मेरो साथमा रहेर मलाई सहयोग गरेका थिए भनेर होच्याउने जस्ता दाजुको पुस्तकमा प्रस्तुत भएका यस्ता बेग्रल्ती भावनाले दाजुप्रतिको विश्वासलाई अड्याई राख्न सकेनन् । मैले दाइलाई नेपाली कांग्रेसको नेता, मेरो रोल मोडल र एउटा संस्थाको जिम्मेवार अभिभावकको रुपमा बुझेको थिए“ । त्यो बुझाइलाई मेरो जीवनको एउटा ठूलो सम्पत्ति मानेर संरक्षण गरेको पनि थिए“ । तर उक्त पुस्तकको अध्ययनपश्चात् मेरा सम्पूर्ण विश्वास गल्र्यामगुर्लुम ढले ।

यसले तपाईंलाई कति दुखाउ“छ त्यो मैले अनुमान गर्न सक्ने कुरा भएन तर तपाईंलाई आधार मानेर धेरै वर्षदेखि मैले खडा गरेको तपार्इंप्रतिको मेरो विश्वास एउटै घटनामा यसरी ढल्दा म कति मर्माहत भए“ हु“ला । दाजु, तपाईंको पुस्तकको गुणस्तर र यसले पाठकमा कस्तो छाप पार्ला त्यसको लेखाजोखा अरु कसैले गर्लान् । तपार्इं जस्तो अनुभवी र अग्रजको लेखाइप्रति लेखाजोखा गर्ने क्षमता र हैसियत मैले राख्न सक्दिनँ । यसो भए यो पत्र किन लेखियो त ?

तपार्इंले आफ्नो पुस्तकमा कास्कीका केही व्यक्तिको नाम अत्यन्त निर्दयी तरिकाले समावेश गर्नु भएको मैले माथि नै उल्लेख गरिसकेको छु । ती सबै व्यक्तिप्रति मेरो अत्यन्त ठूलो श्रद्धा छ र भरोसा पनि । साथीप्रतिको त्यही श्रद्धा र भरोसा नै यो पत्र लेख्नुको कारण बन्न पुगेको हो । तपार्इंले ती व्यक्तिको नाम पुस्तकमा जसरी जुन शैलीबाट प्रस्तुत गर्नु भयो त्यसबाट तपाईंलाई लाग्यो होला त्यसले साथीलाई न्याय गर्ने छ । उनीहरुको राजनीतिक उचाई तय गर्न सहयोग गर्ने छ । तर तपार्इंको पुस्तकले त्यसो भन्दैनन् । किनकी तपार्इंले ती साथीको गरिमालाई भुलेर उहाँहरुको नामलाई नेपाली कांग्रेससँग भन्दा पनि तपार्इंको व्यक्तिगत सहयोगीको रुपमा जोडिदिनु भयो । पुस्तकले के देखाउ“छ भने ती साथी पहिला तपार्इंको भएर मात्रै कांग्रेस भएका रहेछन् । यदि तपाईं कांग्रेस नहुनु भएको भए उनीहरु के हुन्थे त ? प्रश्न उठ्न सक्छ ।

कांगे्रस हुनका लागि तपार्इंको साथमा हुनुपर्ने र तपार्इंको साथमा नहुनेहरु कांग्रेसको गणनाभित्र नपर्ने भन्ने कुरालाई अत्यन्त घुमाउरो पाराले पुस्तकमा उल्लेख गर्नुभएको छ । यदि यसो होइन भने नेपाली कांग्रेसको संगठनमा रहेर धेरै कठिन समयमा पनि कांग्रेसलाई बचाउनका लागि तपार्इंको भन्दा धेरै वा तपाईंको हाराहारीको योगदान गर्ने कतिपय व्यक्तिको नाम लिन किन असजिलो मान्नु भयो ? के उनीहरु तपार्इंको साथमा नरहेका कारण कांग्रेस भएनन् वा उनीहरुले कांग्रेसमा रहेर गरेको योगदान तपार्इंको मानिस नभएका कारण ओझेलमा पर्‍यो ? यी प्रश्नको चित्तबुझ्दो जवाफ दाजुबाट पक्कै प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।
दाजु, तपाईंको प्रस्तुत पुस्तकमा केही साथीको नाम उल्लेख गरेर उनीहरुले मेरो साथमा रहेर मलाई सहयोग गरेका थिए भन्ने कुरा जसरी प्रस्तुत गर्नु भयो यसले तपाईं साथीको मान, मर्यादा र प्रतिष्ठाप्रति भन्दा पनि म संगठनभित्र कति ठूलो मानिस हुँ र मेरोवरिपरि कसरी मानिस घुमिराख्छन् भन्ने प्रभाव देखाउन खोजीरहेको कुरातर्फ संकेत गर्छ । यसले तपार्इंलाई व्यक्तिगतरुपमा आत्मसन्तुष्टि त देला तर तपार्इंको आत्मसन्तुष्टिको महासागरभित्र तपार्इंले मलाई सहयोग गर्ने साथी भनेर उल्लेख गरिएका ती साथीको भविष्य कहाँनेर सुरक्षित रहँला ? मेरो साथमा रहेर काम गरेका व्यक्ति भनेर उल्लेख गरिएका कतिपय साथीको स्वाभिमान सांगठनिक हिसाबमा कति रोइरहेको होला ? व्यक्तिगत जीवनमा जो कोही पनि तपार्इंको साथमा रहन सक्छन् । तपार्इंलाई सहयोग गर्न सक्छन् । तपार्इंकै भाषामा कुनै समय तपाईंको साथमा रहेर काम गरेका धेरै साथीको फेहरिस्त कांग्रेसको राजनीतिमा चासो राख्ने जो कोहीलाई पनि राम्रोसँग जानकारी छ । तर ती मानिसको नाम बिर्सिएर छुटाउनु भएको हो कि आजकल तिनीहरु तपार्इंको साथमा नरहेका कारण छुटाउनु भएको हो ? सबैका लागि यति ठूलो चासो बनेको उक्त विषयले पुस्तकमा ठाउँ नपाउँदा पुस्तकको पूर्णतामा प्रश्न उठ्न पनि सक्छ । यसतर्फ पनि दाजुको हेक्का रहोस् । यसमा विचार पुर्‍याउनु हुन सविनय अनुरोध गर्दछु ।

दाजु, अन्य १, २ कुराको पनि यहाँनेर स्मरण गराउन चाहन्छु । राजनीतिक अभियानमा मानिस त्यति धेरै इमान्दार हुँदैनन् । तर आध्यात्मिक अभियानमा अत्यन्त लगनशील भएर लागिपर्नु भएका तपार्इंले लेख्नु भएको पुस्तकमा इमान्दारिताको वर्षा जताततै छचल्किएको हुनुपर्छ भन्ने ठानें, थप चासो र गम्भीरताका साथ पुस्तक अध्ययन गरें । मेरा आ“खा पेज नं. १४४ टक्क अडिए । त्यहा“ तपार्इंले कांग्रेसमा बाक्लिदै गएको घात प्रतिघातको विषय उठाउनु भएको छ । यसले विसं ०५१ मा काठमाडौंको वानेश्वर निर्वाचन क्षेत्रको उपनिर्वाचनको स्मरण गरायो । मैले यस विषयमा प्रस्तुत पुस्तकमा तपाईंलाई त्यहाँ अत्यन्त चासोका साथ खोजे । तपार्इंले काठमाडाैंको वानेश्वर क्षेत्रबाट सन्त नेता कृष्णप्रसाद भट्टराईले विद्या भण्डारीसँग निर्वाचन हार्दा तपार्इंको नेतृत्वको तत्कालीन कास्की कांग्रेसको भूमिका त्यतिबेला कस्तो रह्यो भन्ने कुरालाई उल्लेख गर्न भुल्नु भयो । गम्भीर भएर पढें कही कतै भेटाइन । त्यस्तो महत्वपूर्ण राजनीतिक घटनालाई इमान्दारपूर्वक लेखिदिनु भएको भए पुस्तकमाथि कति न्याय हुने थियो । तपार्इंले कांग्रेसी जीवनको यो एउटा डरलाग्दो अन्तर्घात सुरुआतको राजनीतिक घटनालाई सबैले थाहा पाउने गरी लुकाइदिनु भयो । उक्त उपनिर्वाचनमा सन्त नेता भट्टराईलाई निर्वाचनमा हराउनका लागि तपार्इंको नेतृत्वमा खेलिएको भूमिकालार्ई तपार्इंले भुले जस्तो गर्न सक्नुहुन्छ तर आम नेपाली कांग्रेसका इमान्दार कार्यकर्ता त्यसको प्रत्यक्ष साक्षी बनेर हेरिरहेका छन् । त्यसको परिणाम आज पर्यन्त भोगिरहेका छन् । यसैले जो जसले यो पुस्तक पढ्छन्, त्यसभित्र सबैले तपार्इंलाई निश्चय पनि यो विषयमा गहिरिएर खोज्छन् ।

साहित्यमा सम्राट पनि नांगो हुन्छ र साहित्य अराजक पनि हुन्छ भन्ने कुरामा बिपी जस्तो महामानवको एउटा कार्यकर्ताको रुपमा यसलाई तपाईंले बुझ्नुपर्ने थियो । पुस्तक पनि राजनीतिक साहित्य भएका कारण आफ्नो राजनीतिक जीवनमा तपार्इंले गरे, गराएका सम्पूर्ण घटनालाई जस्ताको त्यस्तै लेखिदिनु भएको भए राजनीतिक जीवनमा इमान्दार हुन नसकेको तपार्इंको विगत साहित्यिक इमान्दारीतासँगै वर्तमानमा बाचिरहने थियो । कहीँ कतै सच्याउन मिल्ने भए यसतर्फ पनि गम्भीर भएर हामी सबैलाई इमान्दार हुनुको रमाइलोको अनुभूति गराइ दिनु होला ।

पहिलो संविधान सभाको निर्वाचन ०६४ मा तपार्इंले निर्वाचन लड्न टिकट नपाउ“दा कास्कीको ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई नकारात्मक प्रभाव पार्ने गरी कांग्रेसका उम्मेदवारको विरुद्धमा तपार्इंको नेतृत्वमा केही व्यक्तिको संयुक्त हस्ताक्षरसहित तपार्इंद्वारा सार्वजनिक गरिएको सार्वजनिक लिखित वक्तव्यमा तपाईंको साथमा रहेर तपार्इंलाई सहयोग गर्ने कतिपय व्यक्तिको नाम पनि पुस्तकमा छुटेको छ ।

पुस्तकमा नेताले आफूलाई केन्द्रीय सदस्य बनाउने वचन पटक पटक दिएर पनि केन्द्रीय सदस्य नबनाएको र आफ्नो मूल्यांकन नभएको भनी धेरै गुनासो गरिरहनु भएको छ । तपाईंले धेरै ठाउँमा भाषण गर्दा आफ्नो कर्मको फल आफैंले भोग्नुपर्छ भनी भनेका कुरा हामीले निरन्तर सुनिआएका छाैं । एकै छिन आफैंलाई सोधेर हेर्नुहोस् त, केन्द्रीय नेताले तपार्इंको मूल्यांकन नगरेको भनी गुनासो गरिरहँदा कास्की कांग्रेसको लामो समयसम्म सभापति भएर कार्य गर्दा तपार्इंले कास्कीमा गुनासो नआउने गरी संगठनमा काम गरेका कुन कुन साथीको मूल्यांकन गर्नु भयो ? तपाईंले आफैंसँग राखेका साथी अहिले कांग्रेसको राजनीतिमा कहाँनेर छन् ? तपार्इंले कास्की कांग्रसेमा तपार्इंको व्यक्तिगत कार्यशैलीसँग थोरै विमति राखेकै कारण राजनीतिक जीवननै समाप्त हुने गरी दण्डित भएका क्षमतावान् र संघर्षशील साथी, उनीहरुको परिवार र शुभचिन्तकको आ“सुले तपाईंलाई के भनिरहेको होला ? तपार्इंले तपाईसँग व्यक्तिगतरुपमा विमति राख्ने व्यक्तिलाई पाखा पारिराख्दा वा मेरो साथमा रहेर मलाई सहयोग गरेका साथी भनेर उनीहरुको क्षमता र प्रतिष्ठाको संकुचन गराई राख्दा अहिले कांग्रेस कास्कीले भोग्नुपरिरहेको चौतर्फी पराजयको कारणका बारे कहींकतै पुस्तकमा आत्मसमीक्षा गर्नु भएको रहेनछ । तपार्इंले कास्की कांग्रेसमा आफूलाई एकल मसिहाको रुपमा प्रस्तुत गरेर कास्की कांग्रेसको आफ्नो सभापतित्व कालमा असाध्यै राम्रो काम भएको दाबी गर्नु भएको छ । यदि कास्की कांग्रेसको जगमा तपार्इंले साच्चिकै राम्रो बीउ रोप्नुभएको भए वर्तमान समयमा उक्त बीउबाट किन विष वृक्षको विकास हुँदै छ ? सर्वमान्य नियमले के भन्छ भने, हरेक परिणामका पछाडि कुनै कारण विद्यमान हुन्छ वा हर परिणाम कुनै न कुनै कारणबाट मात्रै हुन्छ ।

दाजु, तपाईंको यो पुस्तक तपाईंद्वारा लेखिएको आत्मकथा जस्तो लाग्यो । भनिन्छ, जब मानिसको आफ्नो कथाको अन्त्य हुन्छ तब आत्मकथा सुरु हुन्छ । विशेष गरी आत्मकथाका २ वटा पाटा हुन्छन् । पहिलो पाटो अनुसार आत्मकथामा व्यक्तिले आफ्नो कमजोरी लुकाउने प्रयास गर्छ तर त्यसलाई अन्य मानिसले देखिरहेको हुन्छ । जसले गर्दा उक्त आत्मकथा झूटको पुलिन्दा प्रमाणित हुन्छ । अर्को पाटो भनेको व्यक्तिले आफ्नो आत्मकथामा आफ्ना सम्पूर्ण सबल र दुर्लभ पक्षमाथि निर्मम तरिकाले चिरफार गर्दै आत्म उत्खनन र आत्म निरीक्षण गर्छन् । त्यसले उसको कद घटाउनुको बदला झनै बढाउँछ, जस्तो महात्मा गान्धीको आत्मकथा ।

तपार्इं जस्तो अध्ययनशील व्यक्तिले महत्मा गान्धीको आत्मकथा अवश्य पनि पढ्नु भएको छ । आफ्ना यौनजन्य कमजोरी र व्यवहार जस्तो गम्भीर विषयमा पनि गान्धीले कहींकतै पनि आफूलाई ढाँटेर आत्मकथाको मर्मभन्दा बाहिर जाने प्रयास गर्नु भएन । यसले गान्धीको कद कत्ति पनि घटाएन । तर छर्लगं देखिएका तपाईंका दुर्वल पक्षतर्फ तपार्इं इमान्दार रहन सक्नु भएन । यदि त्यसो हुन सकेको भए यो एउटा उत्तम कृति हुन सक्थ्यो । मैले यो किन स्मरण गराइरहेको छु भने तपार्इंले आफ्नो पुस्तकको प्राक्थनको अन्त्यमा केही सुझाव भए दोस्रो संकरणमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मेरा माथि उल्लिखित भावना तपार्इंको पुस्तकमाथि कसरी न्याय गर्न सकिन्छ भन्ने कुरासँग केन्द्रित छन् र पुस्तकको गरिमासँगै बढ्ने तपार्इंको उचाईभित्र मैले आफ्नो पनि सुरक्षा र मर्यादा खोजेको छु । पुस्तकको दोस्रो संरकरण छिट्टै अध्ययन गर्न पाउने आशाका साथ बिदा हुन्छु । फेरि आवश्यक परेमा अर्को पत्रमा भेट हुने नै छ । यस पटक सबै कुरा यसमा समेट्न नसकेकोमा क्षमाप्रार्थी छु ।
जय नेपाल ।
तपाईंको आज्ञाकारी भाइ
किशोरदत्त बराल
महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेस
साबिक क्षेत्र नं. २ कास्की

तपाईको प्रतिक्रिया